कला

शरद निरोलाको ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’ को लोकार्पण तथा परिचर्चा

नियात्रा समाज नेपालले नियात्राकार शरद निरोला (अमेरिका)को ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्राकृतिको लोकार्पण तथा परिचर्चा गरेको छ।

नियात्रा समाज नेपालका अध्यक्ष वरिष्ठ नियात्राकार प्रतीक ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, स्रष्टा समाज नेपालका अध्यक्ष आख्याकार श्रीओम श्रेष्ठ रोदन, स्रष्टा समाज नेपालका पूर्वअध्यक्ष नियात्राकार पवन आलोक, गुञ्जनकी उपाध्यक्ष नियात्राकार इल्या भट्टराई, दायित्व वाङमय प्रतिष्ठान, नेपालका अध्यक्ष नियात्राकार रामप्रसाद पन्तले ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’ को लोकार्पण गरेका थिए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य दिंदै लेखक शरद निरोला नेपाली पत्रकारिताको अब्बल व्यक्तित्व भएको बताए। ‘नियात्राकार शरद निरोला डायोस्पारा साहित्यको अभिन्न व्यक्तित्व हुनुहुन्छ। डायोस्परामा साहित्य साधनामा लागिपरेका  उहाँको नेपाली पत्रकारिता वृत्तमा छुट्टै इतिहास छ।’

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले उनको नियात्रामा नेपालका विभिन्न सरकारी सञ्चार माध्यममा काम गरेको अनुभवको प्रभाव परेको बताए। उनको नियात्रामा अनुभूतिको प्राधान्य, भाषामा निखारता र शैलीमा काव्यतात्मक छ। नियात्राकार उही बसेकाले नियात्रामा सान्दभिर्क संस्मरण, रमाइलो अनुभूति र लोभलाग्दो पर्यटकीय दृष्टि छ।

साहित्यकार पवन आलोकले कृतिमाथि चर्चा गर्दै अमेरिका घुम्दाका अनुभूति सुनाएका थिए। उनले स्थापित भइसकेको नियात्रा विधाबारे विवाद गर्न उचित नभएको पनि बताए।

नियात्राकार युवराज नयाँघरेले नियात्रा विधामा उक्त कृतिको छुट्टै महत्त्व रहेको बताए। उनले भने, ‘कृतिले जीवन भोगाइ,अमेरिका बुझाइ र संघर्षको कथा सार्थक रूपमा प्रस्तुत गरेका छन्। भुईमा टेकेर अन्तरसंघर्षको कथा लेखेका छन्।

पुस्तकका प्रकाशक तथा साहित्यकार रामप्रसाद पन्तले अमेरिका केन्द्रित धेरै नियात्रा कृतिमध्ये यो कृति उत्कृष्ट रहेको बताए। उनले भने, ‘उहाँ नेपालमा अंग्रेजी भाषाको सहप्राध्यापक हुनुहुन्थ्यो। जासुसी उपन्यास छोडेर उहाँ धेरै समयपछि कविता र नियात्रा लेख्दै हुनुहुन्छ। यो नियात्राकृति रुचिकर र पठनीय रहेको छ।’

कार्यक्रमका प्रमुख वक्ता साहित्यकार इल्या भट्टराईले कृति पढ्दा त्यहाँ बस्दाका अनुभूति ताजा भएको र झर्रो शब्दको प्रयोगले नियात्रा चाखलाग्दो भएको बताइन्।

नियात्राकार पत्नी तथा साहित्यकार मञ्जु निरौलाले सहकार्य गर्दै लेखनमा अगाडि बढेको बताइन्। हामी २९ वर्षअघि अमेरिका गएका थियौं। उहाँ नेपालमा हुँदा जासुसी उपन्यास र हास्यव्यंग्यमा कहलिनुभएको थियो। उहाँ नयाँ सन्देश पत्रिकामा हिरण्यकश्यपको नामबाट स्तम्भ लेखन लेख्नुहुन्थ्यो।

उनले अमेरिका गएपछि श्रीमानको लेखन रोकिएको र धेरैको आग्रहले लेखनमा फर्किएको  बताइन्।

उक्त कृतिको प्रकाशन दायित्व वाङमय प्रतिष्ठानले गरेको हो। कृतिमा सोह्र नियात्रा सङ्गृहीत छन्।

कार्यक्रममा साहित्यकारहरू: किशोर पहाडी, भागीरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, ध्रुव मधिकर्मी, खेमनाथ दाहाल, मोहन चापागाई, राजेश खनाल, रमेश दाहाल, श्रीराम राई, डिल्लीरमण सुवेदी, चन्दकान्त आचार्य, आश्विनी कोइराला, विक्रमभक्त जोशी, नरेश श्रेष्ठ, गोविन्द प्रधान, ध्रुव जोशी आदिको उपस्थिति रहेको थियो।

नियात्रा समाज नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रतीक ढकालले कार्यक्रम समापन गर्दै अमेरिकाबाट प्रकाशित पुस्तकमध्ये उक्त पुस्तक उत्कृष्ट दशमा पर्ने बताए।

कार्यक्रम नियात्रा समाज नेपालकी महासचिव नियात्राकार प्रभा बरालले सञ्चालन गरेकी थिइन्।।

प्रकाशित: २ कार्तिक २०७९ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App