कला

बुद्धिको बिर्काे

लघुकथा

 छविलाल खड्का

१) बुद्धिको बिर्काे

सीफा नाम गरेको एउटा जंगल थियो। त्यहाँको राजा सिंह थियो। उसका रैतीहरूमध्ये बाघहरू कुस्ती प्रेमी थिए। समयसमयमा अन्तर जंगलस्तरीय कुस्ती प्रतियोगिताहरू त्यहाँ भैरहन्थे। एकपटक प्रतियोगिताका लागि एउटा बाघ छनौट भयो। उसको बिदाइ गर्दै सिंहले भन्यो, ‘जितेर आउनू। हाम्रो सिफा जंगलको इज्जत जोगाउनू। कुस्ती जितेर आएपछि ठूलै पुरस्कार दिन्छु।’

बाघ मक्ख पर्‍यो। पुरस्कारको सपना देख्यो तर हार खाएर फर्कियो। एवं रीतले बर्सेनि फरकफरक कुस्तीवाज बाघहरूलाई खेल्न पठाउँथ्यो। सधैं पराजयको पीडा भोग्नुपर्थ्यो। अब भने हारेका बाघहरूले राजालाई नै खेल्न पठाए। पुरस्कारको रूपमा एउटा बाघले छोरी दिने भयो।

राजा सिंह खुब लोभियो। बाघकी छोरी सम्झ्यो। घुटुक्क थुक निल्यो। जोसका साथ कुस्ती खेलका लागि प्रस्थान गर्‍यो तर पराजय नै भोग्यो। निराश भएर फर्कियो। फर्किएपछि उसले आफू र आफ्ना खेलाडीहरूले हार्नुको कारण खोज्यो।

अन्ततः ऊ कुस्ती खेलका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारको विकास गर्न लाग्यो। सबै खुसी भए। राजाको बुद्धि खुलेकाले अर्को पटक जित निश्चित हुनेछ भनेर सबै विश्वस्त भए।

२) चुनाव प्रचार

चुनावी मिति नजिकिंदै थियो। एकपछि अर्काे चुनाव प्रचार टोली गाउँघरमा छिर्थे। आश्वासन दिन्थे र भोट माग्थे। गाउँमा रमाइलो वातावरण बनेको थियो। एकपटक सांसद टोली गाउँ छेरे। अलि पर चौपारीमा दुई, तीन जना महिला बसेका थिए। टोली नजिकै पुग्यो।

‘आमा नमस्कार, सञ्चै हुनुहुन्छर!’ नेताले हात जोडदै भन्यो,‘मलाई भोट दिनुहोला।’

‘हो आमा, देशले र समयले मागेको नेता उहाँ नै हो। चुनाव चिन्ह बाँदरमा भोट हाल्नु होला।’ सविस्तारमा झोले कार्यकर्ता बोल्यो।

चुनाव र भोट शब्दले उनीहरूको मुटुमा चस्स घोच्यो। आँखाबाट आँसु तरक्क खसे।

नेता भावुक बन्दै भन्यो, ‘सबभन्दा ठूलो देश हो। हैन त आमा?’

उनीहरू झन् मुख छोपेर रुन थाले अनि एकैस्वरमा भने, ‘हो बाबू, सबभन्दा ठूलो देश हो तर हामी त खोटो मोहर हो बाबू!’

‘मतलब? तपाईंहरूको पहिचान, आमा?’ नेताले झन् नजिकै गएर जिज्ञासा राख्यो।

उनीहरू भावुक हुँदै भने, ‘हाम्रो पहिचान छैन बाबू। हामी शरणार्थी हौं।’

३) नालायक

जागिरे जीवनको उत्तराद्र्धतिर पुगेका हरेराम सरको मनमा आशाको रक्त सञ्चार भयो, बिजुलीप्रसाद शिक्षा मन्त्री भए रे।

उनी काठमाण्डु गए। माननीय शिक्षा मन्त्रीज्यूको सचिवालय लेखेको देखेर गर्व गर्दै भित्र छिरे।

‘को, कहाँबाट, किन, कसरी र के कामले आदि अनेकन प्रश्न सोधिए।अन्ततः मन्त्रीलाई मैले पढाएको हो’ भनेपछि हरेराम सर लेखिएको चिट भित्र गयो। सचिवालयमा लामै कुराइमा बस्नुपर्‍यो।  

‘हरेराम सर को हो? भित्र जानुस्।’ एकजनाले भन्यो।

उनी खुसी हुँदै भित्र छिरे। नमस्कार आदानप्रदान भयो।

आराम कुशल मंगलका अ‍ौपचारिक वार्तालाप भए। गुरुको सत्कारमा गतिलो खाजा खुवाए।

गुरुले मीठो वाणीले बिन्ती बिसाए, ‘मन्त्रीज्यू, हजुरको गाउँमा चक घोटाइ र हिसावका फर्मुला घोकाइमै जीवन बित्न लाग्यो। घरायसी र पारिवारिक फर्मुला कहिल्यै प्रुभ भएन। घरपायक सरुवा गरिदिनुपर्‍यो।

गणितका प्रखर विद्धान गुरु आफ्ना अगाडि हात जोडदै थिए। उनै गुरुले कुनै दिन भनेका वाक्य उनले सम्झिए, ‘चार सय बीस छस्। बाह्रसत्ताइस कुरा जानेको छस्। हिसाबमा भने जोडघटाउ पनि आउँदैन है, बुद्धू नालायक!’

यतिबेला उनी मुसुक्क हाँसे। मनमनै सोचे, ‘को नालायक, गुरु कि म?’

४) उपहार

मालपोत कार्यालयका खम्बा हुन्, सुब्बा। उनी माथिदेखि तलसम्म सेटिङ गर्न माहिर छन्। दलाल र लेखनदासहरूले मालपोतको हिरो भन्छन्। हाकिमहरूले कार्यालयको सफ्टवेयर ठान्छन्। नयाँ हाकिम आउँदा उनको नै नाम जपेर आउँछन्। कार्यालय परिसरमा सुन्ने गरिन्छ, ‘सुब्बा हुनु त फलानो जस्तो।’

‘टिरिङ-टिरिङ!’ मोबाइलको घण्टी बज्यो। सुब्बाले फोन उठाएर भने, ‘हेलो!’

परिचित आवाजमा जवाफ आयो, ‘हेलो सुब्बा साप, नमस्कार!

आज एउटा बसाइ गर्नुपर्‍यो। साँझ छ बजे, ऐजनऐजन ठाउँमा।’

प्रफुल्ल हुँदै भने,‘ओके भगवानको जस्तो इच्छा!’

सुब्बा साप आधा घण्टा ढिला पुगे। उनको स्वागतार्थ सबै तम्तयार थिए। औपचारिक कुराकानीपछि सुराको व्यवस्था भयो। चुस्की लिंदै दलालले नयाँ कार्ययोजना पेश गर्‍यो। लेखनदासले बिचबिचमा सहजीकरण गर्‍यो। यसबाट हुने लाभहानिको पनि विश्लेषण भयो। सुब्बा साब बोले, ‘यो प्रोजेक्ट पास भयो। भगवानको यस्तै इच्छा छ भने गरौं? तर,बल्छीको चारो?’

सुराले आफ्नो कमाल देखाउँदै थियो। सुब्बालाई चारो पनि थपियो। अब सुरासुन्दरीसँग सुब्बा सापले भगवानको इच्छा पूरा गरे।

एक साताभित्र फाइल तयार भयो। शहरको मुटुमा रहेको अढाई बिघा गुठीको जग्गा व्यक्तिकोमा नामसारी हुँदै थियो। सुब्बा सापले फाइल चेक गरी लेखनदासमार्फत हाकिमकोमा पठाए। फाइल हेरेर हाकिम अलमलमा परे। फाइल सदर गर्नुअघि सुब्बा सापलाई बोलाइयो। हाकिमको कार्यकक्षमा सुब्बाले प्रवेश गरे। उनको आँखा भित्तामा पयो। लेखिएको थियो, ‘घुस लिन्या, दिन्या राष्ट्रका शत्रु हुन्।’

उनले पढे र हाँस्दै भने, ‘सबै ठीक छ, हाकिम साप। अस्तिको उपहार के त?’

(आशीर्वाद लघुकथासंग्रहमा सङ्गृहीत)

प्रकाशित: १२ भाद्र २०७९ ०४:०४ आइतबार

अक्षर