अन्जना पौडेल अनुश्रुती
बिहान चराको चिरविरसँगै शहरभन्दा अलि परको एउटा बस्ती बिउँझिंदै थियो।
‘आज त कार्यक्रम छ, छिटो उठेर तयारी गर्नुपर्छ। यही कार्यक्रमका लागि त हिजोबाट यही अड्डा जमाएर बसिएको छ।
कति सहभागीहरू हुने हुन्? अनुमान गरेको त एक हजार हो। पाँच सयभन्दा बढी भए भने पनि अध्यक्षज्यूहरू आउनु हुँदा राम्रो मान्नुहुन्थ्यो होला।’
आफ्नै मनसँग संवाद गर्दै उनी बिहान चार बजे नै उठिन्। नुहाइधुवाइ गरेर सँगै आएका साथीहरूलाई पनि उठाउँदै थिइन्। बिहानीको प्रार्थना गरेपछि नास्ता खाएर सबै जना तयारीमा जुटे।
आज आफैंले बनाएको आँखा अस्पतालमा कार्यक्रम हुँदै थियो। जापानबाट आएका अध्यक्ष दम्पती पनि छिटो आउनुहुनेछ भन्नेमा सबैलाई आशा थियो।
आँखा अस्पतालमा आज आँखा चेक गराउनेहरूलाई विशेष छुटको व्यवस्था गरिएको थियो। दश बजे कार्यक्रम शुरू हुने भए पनि नौ बजेदेखि नै अस्पतालमा आँखा जँचाउन आउनेको भिड लागेको थियो। अस्पतालको छेउमा कार्यक्रमस्थल रहेको थियो।
भव्य भेला भएकाले सबै कुरा सुव्यवस्थित किसिमबाट गरिएका थिए। टाढाटाढाबाट आउनेहरूलाई बसको व्यवस्था गरिएको थियो भने नजिकबाट आउनेहरू कोही हिंडेरै आइरहेका थिए। कोहीकोहीलाई बजारसम्म लिन जान भ्यानको व्यवस्था गरिएको थियो। स्कुलबाट बसका बस विद्यार्थीहरू आउँदै थिए। विद्यार्थीहरूले पनि कार्यक्रममा भाग लिएका थिए।
त्यो क्षेत्रका सहयोगी संस्थाहरू र मनहरूको जति प्रशंसा गरे पनि कम हुने थियो। बच्चाहरूका लागि अलग रेखदेखको व्यवस्था थियो र शान्त वातावरणमा कार्यक्रम भैरहेको थियो।
जब उदघोषकले कार्यक्रम सञ्चालन गर्न थालिन् तब सबै जना मन्त्रमुग्ध भएर सुन्न र हेर्न थाले। उनको बोलाइ, हँसाइ, हाउभाउ र शारीरिक बनौट देखेर लट्ट नहुने कोही थिएनन् होला।
‘उनको स्वर त यति मीठो कोइलीकै जस्तो’ कसैले भने त कसैले भगवानकै सुन्दर उपहार हुन् उनी पनि भन्न भ्याए।
एकदुई युवाले त उनलाई बिहेको प्रस्ताव राख्ने कुरासम्म सोचे।
कार्यक्रमको समापन भव्य र सभ्य तरीकाबाट भयो। अध्यक्ष दम्पतीले पनि धेरै खुसी भएर कार्यक्रमको अन्त्यमा उनलाई आशीर्वाद दिनुभयो।
उनी दिनभरिको थकानले गलेकीले कार्यक्रम लगत्तै चेन्जिङ रूपमा पसिन्। उनको ढोकामा ढकढक गरेको आवाज आयो।‘को हो? एकैछिन पख्नुस् है’ भनेर कपडा फेरेर खाजा खान कोठाबाट निस्किन् उनी। हजुरको नम्वर दिनुस् भनेर मागे।
‘भित्रै आउनुस् न’, उनले बोलाइन्।
के भयो कुन्नि? सबैले मुखामुख गरे। आँखाआँखाले कुरा गरे। कोठा सुनसान थियो। उनलाइ देखेर सबै जना ट्वाँ परेर हेरिरहेका थिए।
‘हजुरहरूले मलाई किन भेट्न खोज्नुभएको होला?’ उनले नै कुरा उप्काइन्। उनको प्रशंसा गरे सबैले। तर, उनलाई देखेर छक्क परेर हेरिरहे।
-तरतर ...यो हजुरको आँखा?
उनले भनिन्–सबै जनाले यस्तै सोध्नुहुन्छ मलाई भेटेपछि। अघि टाढाबाट हजुरहरूले याद गर्नुभएन होला।
‘यो त कसैको उपहार हो। मलाई माया गर्ने मेरा पतिको!’ यति भनेर जब उनले कुनातर्फ चोरी औंला तेर्साएर देखाइन्। उनका पतिलाई देखेर सबै जना स्तब्ध भए। उनी कुनामा सेतो छडी समातेर मुस्कुराउँदै उभिएका थिए।
राजमतीले आँसु चुहाउँदै भनिन्–उहाँको एउटै मात्र आँखा थियो। म दुर्घटनामा परेर दुइटै आँखा गुमाएपछि मैले थाहा नपाउने गरी त्यो पनि मलाई दिनुभएको हो। मेरो वास्तविकता यही हो। मेरो एउटा आँखा छैन र अर्को आँखा पनि मेरो होइन। मेरो दोस्रो आँखा मेरा पति हुनुहुन्छ।
प्रकाशित: १६ श्रावण २०७९ ०३:०४ सोमबार