कला

सञ्जयको ‘पात्रहरू’ बजारमा

अनौपचारिक लेखनमा अलग नाम बनाएका पत्रकार एवं लेखक सञ्जय घिमिरेले आफ्नो जीवनयात्रामा जोडिएका पात्र, घटना र स्मृतिका विशेष क्षण सम्झेर लेखेको गैरआख्यान कृति ‘पात्रहरू’ प्रकाशनमा आएको छ।

शनिबार आयोजित एक समारोहमा ‘पात्रहरू’ कृतिको लेखककी ७५ वर्षीया आमा झलकमाया घिमिरे, १२ वर्षीया छोरी आर्या रावल घिमिरे र पत्रकार एवं श्रीमती तारा रावलबाट विमोचन गरिएको थियो।

समारोहमा नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं हाल राष्ट्रिय समाचार समितिका अध्यक्ष पत्रकार धर्मेन्द्र झा, महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, बाह्खरी डट कमका प्रधानसम्पादक प्रतिक प्रधान, पत्रकार गोविन्द लुइँटेल सहितले पत्रकार घिमिरेको शैली र स्वभावबारे टिप्पणी गरेका थिए।

झण्डै डेढ दशकयता अमेरिकाबासी बनेका पत्रकार घिमिरे हिमालय टाइम्स र च्यानल नेपालमा सम्बद्ध थिए।

उनले आफ्नो जन्मस्थल कास्कीको देउराली गाउँदेखि काठमाडौं र अमेरिकासम्मको यात्रामा देखेभोगेका पात्र तथा प्रवृत्तिमाथि अनौपचारिक शैलीमा ‘पात्रहरू’मा स्मरण समेटेका छन्।

सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको ‘पात्रहरू’का बारेमा पत्रकार प्रतिक प्रधानले भनेका छन्,‘पात्रहरू’मा सरल लेखनभित्र गहिरो आध्यात्मिकता छ। लेखकले जीवनलाई अज्ञान, अर्धज्ञान, भ्रम र ढोंगको संगम हो भन्ने निचोड निकालेका छन्।’

पत्रकार धर्मेन्द्र झाले अढाई दशकअघि ‘हिमालय टाइम्स’ दैनिकमा काम गर्दाका सहकर्मी घिमिरेको भाषाशैलीको खुलेर प्रशंसा गरेका थिए।

नेपाली पत्रकारिताको अखबारी इतिहासमा संजय घिमिरेले स्थापित गरेको फिचर लेखनको प्रयोग र प्रभावलाई उनले उल्लेख गरेका थिए।

आफू समेत घिमिरेको लेखनबाट प्रभावित रहेको र फिचर लेखनका कतिपय सन्दर्भमा आफूलाई घिमिरेले धेरै कुरा सिकाएको पत्रकार झाले बताए।

अर्का पत्रकार निष्ठुरीले पनि सन्जय घिमिरेको लेखन शैली र स्वरूप अतुलनीय रहेको बताउँदै ‘पात्रहरू’ कृतिभित्र यो अनौपचारिक मीठासयुक्त शैली पाउन सकिने बताए। २३८ पृष्ठको ‘पात्रहरू’ कृतिको मूल्य ४७५ रुपैयाँ राखिएको छ।

आजभन्दा झण्डै ५० वर्षअघि कास्की देउराली, मुडुलीडाँडाबाट सुरु भएको एउटा जीवनको कथा हो यो। यो यात्रामा काठमाडौं हुँदै अमेरिकाको मेरिल्याण्ड, सानफ्रान्सिस्को र टेक्साससम्म पुग्दा पनि ‘सग्लो जीवन’ भन्नु केही छैन, कतै छैन। एउटा अमुर्त चित्रजस्तो सप्रसङ्ग व्याख्याले मात्रै यो यात्रा र जीवनलाई बुझाउन नसकिने अवस्था छ। ‘यस बीचमा कति धेरै पात्रपात्राहरू आउँछन् र जान्छन्, कति भिन्न भूगोल र परिवेश अपनत्वमा जोडिन आइपुग्छन्,’,एक दशकयता अमेरिकाबासी बनेका लेखक घिमिरे भन्छन्,‘यी सबै क्षणहरू कोही छोटै समयमा लामो सम्झनालाई रहन्छन्, कोही लामै समय रहेबसे पनि स्मरणबाट हराइहाल्छन्। जीवनमा जोडिएको यही अन्तर्विरोध र अन्तर्सम्बन्धको मामलालाई अनौपचारिक ढंगमा लेख्ने प्रयास गरेको हुँ।’

प्रकाशन गृह सांग्रिलाका प्रबन्धक मणि शर्माले यो कृतिलाई ‘बाँचिएको समयमाथि कवितात्मक भाषामा लेखिएको गैरआख्यान’ भनेर टिप्पणी गरेका छन्। दुई दशकअघि हिमालय टाइम्स दैनिकबाट पत्रकारिता सुरु गरेका सञ्जय केही वर्ष च्यानल नेपालमा समाचार सम्पादक रहेका थिए। हाल उनी नेपालखबर अनलाइनको टेक्सासस्थित प्रतिनिधि हुन्। पुस्तक विमोचन समारोहमा लेखक घिमिरे अनुपस्थित रहे पनि उनकी श्रीमती तारा रावल र छोरी आर्या रावल घिमिरेले लेखकको प्रतिनिधित्व गरेका थिए। 

प्रकाशित: १५ श्रावण २०७९ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App