कला

डा.लेखनाथ काफ्ले सम्मानित

नेपाली भाषा-साहित्यमा सक्रिय डा. लेखनाथ काफ्लेलाई विश्व नेपाली साहित्य महासंघले सम्मान गरेको छ।

वरिष्ठ कवि तथा साहित्यकार तुलसी दिवसले एक समारोहको बिच स्रष्टा काफ्लेलाई सम्मान गरेका हुन्।

नेपाल बाहिर बसेर पनि नेपाली भाषा र साहित्यलाई माया गर्ने विश्व नेपाली साहित्य महासंघ काठमाडौं  शाखालाई धन्यवाद दिंदै दिवसले भाषा र साहित्य जीवित रहेमा सबैले गर्व गर्न सक्छन् र यस्ता स्रष्टाको सम्मान गर्नुपर्ने बताए।

उनले साहित्यमा आफ्नो मौलिकपन हुनुपर्छ नत्र सिर्जना र स्रष्टा भिडमा हराउने बताउँदै आफ्नो एउटा कविता वाचेका थिए।

डा. लेखनाथ काफ्लेले आफ्नै घरदेशमा तुलसी दिवस जसतो व्यक्तिको हातबाट सम्मानित भएकोमा खुशी व्यक्त गर्दै काठमाडौं शाखालाई धन्यवाद दिएका थिए।

उनले विश्व नेपाली साहित्य महासंघले विश्वभरिका स्रष्टाहरूलाई जोडेर कार्यक्रम गरिरहेको र खासगरी विश्वका अन्य भाषामा नेपाली साहित्यलाई अनुवादको माध्यमबाट प्रचारप्रसार गरिरहेको जनाए।

कार्यक्रममा साहित्यकार प्रकाश सायमीले यस्तो कार्यक्रमले सर्जकमा हौसला थपिंदै जाने बताउँदै एउटा गजल वाचेका थिए।

साहित्यकार शरद प्रधानले सम्मानित स्रष्टालाई बधाई दिंदै आफ्ना अनुभव सुनाएका थिए। काठमाडौ शाखाका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालका सल्लाहकार मणिराज सिंह, नेपालका सचिव अम्बिका याम्फु अनमोल, बागमती प्रदेश शाखाका अध्यक्ष तोयानाथ सुवेदी, सहसचिव सरस पाण्डे, सुस्मिता श्रेष्ठ, सुधा मिश्र र सचिव चुडा निर्भीकले  कविता वाचेका थिए।

कार्यक्रममा साहित्यकार भानुप्रकाश जोशी, चोभार ब्लुजका लेखक विक्रमभक्त जोशी, समीर पाख्रीन, ई मानबहादुर भुजेल, विक्रम पाण्डे लगायतले केन्द्रीय वरिष्ठ उपाध्यक्ष काफ्लेलाई बधाई दिएका थिए।

ललितपुर एकान्तकुनास्थित बर्गर एण्ड क्रन्ची हाउसमा सम्पन्न कार्यक्रम विनेसाम काठमाडौं शाखाका सचिव चुडा निर्भीकले चलाएका थिए।

प्रकाशित: १५ श्रावण २०७९ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App