कला

राखीको ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक

कवि राखी गौचनको कवितासङ्ग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक गरिएको छ। शनिबार आयोजित एक कार्यक्रममा साहित्यकारहरू भूपाल राई, मनिषा गौचन, अमर गिरी र दीपक सापकोटाले कवितासङ्ग्रह सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै कवि भूपाल राईले राखीका कवितामा भावनात्मक अनुभूतिको प्रधानता पाइने उल्लेख गरे। अर्का वक्ता अमर गिरीले राखीका कविताले समकालीन नेपाली समाजका विसंगतिप्रति प्रहार गर्न सफल रहेको बताए। गिरीले भने, ‘समग्रमा यी कविताहरू समाजप्रति, जीवनप्रति आशा देखाउने कविता हुन्। जसले समयलाई सचेत ढंगले सम्बोधन गरेको छ।’ कार्यक्रममा साहित्यकार मनिषा गौचनले राखीका कविता प्रेमका विविध आयामलाई सरल ढंगबाट प्रस्तुत गर्न सफल रहेको बताइन्। तेत्तीसवटा कविता रहेको ‘प्रमिथसको फिलिङ्गो’ इन्डिगो इन्कले प्रकाशन गरेको हो। 

प्रकाशित: १४ श्रावण २०७९ ०४:०४ शनिबार

अक्षर