कला

शहरले निलेको मान्छे

कविता

बाबुराम श्रेष्ठ

जब एउटा मान्छेको

मानसपटलमा कल्पनाहरूले सगरमाथा छुन्छ

आँखाहरू सभ्यताको गहिराइमा डुब्छ

खुट्टाहरू त्यसैत्यसै बुर्कुसी मारेर वेग मार्छ

सुखसुविधा

भोगविलास

उन्नति प्रगति

सानमान

मोहहरूले डोर्‍याँउदै डोर्‍याउँदै

जिन्दगी शहरमा अवतरण हुन्छ

आयु छोटिन्छ

नाता टुट्छ

प्राकृतिक सुन्दरता गुम्छ

कृत्रिमताले जालो बेरेर

माकुराझै जालैमा मर्छ

हेर्नुस्

जंगलहरू बद्लिएर

घना सिमेन्टी

नमिलेर मन पूर्व-पश्चिम/उत्तर-दक्षिण

विचारहरू रातरात मन्थन हुन्छ

जिन्दगी उकुसमुकुस

धेरै दाउ हानिरहन्छ

संख्या नगन्य भएमा

छेपराझैं बन्न नसकेमा

छलछम ढलपल नभएमा

यो पाटी त्यो पाटी नभएमा

होमा हो नमिलाएमा बाच्न गाह्रो छ

आफ्नै घाट सम्झे हुन्छ शहर

सोझा मान्छेहरू

हालखबर के सोध्नुहुन्छ

जिन्दगी चलाउन आफ्नै मृगौला बेच्नुपर्छ  

जिन्दगी नै निर्जीव लाग्छ

जामै जामको लाम

खानपान

आवतजावत

हाँसखेल

बोलचाल

किनमेल

नित्यकर्महरूमा

कुनै बेला यस्तो लाग्छ

समय नै जाममा परेर भाग्यले नै ठगिरहेको छ

साना नानीबाबुहरूको कलिला यौवनहरू

संसार बदल्ने कलिला विद्यार्थीहरूको

कलिला मस्तिष्क

र ओइलाइरहेका सपनाहरू

नव जोडीका प्रथम मायाहरू

र चालेका एक कदमहरू।

आमाबाबुहरूका आसहरू

एक छाक जोहो गर्ने भरियाहरू

भविष्यका होनहार युग पुरुषहरू

फगत धिप्प धिपिक्क बल्दै मर्दै

बाफिला हावाहरूले फुकेर

अर्धचेत बनाएर

शहरले निलिरहेको छ।

प्रकाशित: १२ श्रावण २०७९ ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App