खगेन्द्र बस्याल
उनको छोराले झोलाबाट कापी निकालेर देखाउँदै भन्यो, ‘सरले मलाई ४० अंक दिनुभयो।’
उनले अँध्यारो मुख लगाउँदै भने, ‘मात्र चालीस। अझै धेरै बढाउने प्रयास गर्नु।’
भोलिपल्ट उसले पैंतालीस ल्यायो। उनको चेहरामा केही खुशी पलायो।
पर्सिपल्ट पचास ल्यायो। उनको चेहरा बल्ल हेर्नलायक देखियो।
एवं रितले उसले क्रमशः अंक बढाउँदै जाँदा उनको चेहरामा सोहीअनुसार कान्ति झल्किंदै गयो।
एकदिन घर फर्किँदा उसले बाबुलाई चिन्तित देख्यो। त्यो हटाउन उसले खुशी हुँदै ‘बुवा आज मलाई सरले सत्तरी अंक दिनुभयो नि’ भन्दै कापी समेत देखायो तर बाबुको उदासीनता हटेको देखिएन।
उसले छक्क पर्दै सोध्यो, ‘किन बुवा,आज खुशी देखिनु हुन्न! हजुरलाई अझै चित्त बुझेन।’
उनले भने, ‘त्यसो होइन। कारण के हो भने मैले ऐनामा आफूलाई नहेरेको धेरै दिन भएको रहेछ। म त निकै बूढो सेतै देखिएछु नि!’
उसले भन्यो, ‘तपाई कत्ति पनि बूढो देखिनुभएको छैन। तपाईंको सोचाइ मात्रै हो। हामीले हेर्दा त तपाई झन् हेर्नलायक हिमालजस्तै देखिनुभएको छ। प्रेरणादायी हिमशिखर अनि मैले तपाईंको भनाइ सापट लिएर भन्दैछु ,‘उमेर भनेको बढी अंक कमाउनु पनि हो। अब तपाईं त्यो अंकबाट तल झर्नु पर्दैन तर मेरो कापीमा आउने अंकको कुनै भरोसा छैन।’
प्रकाशित: १२ श्रावण २०७९ ०७:३४ बिहीबार