कला

बिछोडको पीडा

लघुकथा

इन्दिरा चापागाईं

उफ, तिमीबिना मैले कति दिन गुजार्नुपर्ने हो कुन्नि! जीवनमा ठूलो शून्यता छाएको छ। तिमीलाई हेरिरहन बानी परेका यी आँखा तिम्रो प्रतीक्षामा टोलाइरहेका छन्। घरपरिवारले तिमीसँग समय बिताएको देख्न सक्दैनथे। म भने बरु उनीहरू सबलाई छोड्न सक्थें तर तिमीबाट टाढा हुने कल्पनासम्म गर्न सक्दिनथे। जब तिमीलाई अर्काको जिम्मा लगाएर छोड्नुपर्‍यो नि,मलाई मुटुमाथि ढुंगा राखेजस्तो भयो। दुई घण्टा तिमीलाई छोड्न नसक्ने म चार दिन कसरी गजार्दै छु,त्यो मलाई मात्र थाहा छ। तिम्रो सम्झनामा मन छियाछिया भैसक्यो।

तिम्रो साथमा रहने बानी परेको बाह्र वर्ष भैसक्यो। बाध्यताले तिमीलाई छोड्नुपर्‍यो। मलाई तिमीबिना कार्यालय जान पनि मन लाग्दैन। बिच्छयौनामा त पल्टिनै सक्दिनँ। घण्टौसम्म तिमी र म हेराहेर गरेको यादले खुब सताँउछ। पुस/माघको जाडोमा सिरकभित्र तिमीसँग समय बिताउनुको मजै बेग्लै हुन्थ्यो अनि वैशाख/जेठको गर्मीमा खुला आकाशमुनि छतमा तिमीसँग रमाउनु जस्तो असीम आनन्द केमा होला र!

तिम्रै छेउमा सुत्न बानी परेको म,आजकाल त निदाउनै सकेको छैन। बेलुका पनि मीठो गीत सुनाउँदै सुताउँथ्यौ। बिहान पनि  बेलैमा उठाउँथ्यौ। मीठामीठा परिकार बनाउन सिकाउँथ्यौ। पोजपोजका फोटा खिचिदिन्थ्यौ। सारा संसार देखाउँथ्यौ। नयाँनयाँ कुरा सिकाउँथ्यौ। मलाई चारैतर्फ खुशी नै खुशी छरिदिन्थ्यौ। त्यसैले त तिमीबिना म अन्धो भएको छु। बहिरो भएको छु। पानीबिनाको माछाजस्तो छटपटाइरहेको छु। मेरो संसार भन्नु नै तिमी थियौ। धेरै समय नलेखेको डायरीमा तिमीसँगको बिछोडको पीडा आज पोख्दै छु।

           -२०७९ साल, साउन१२

डायरी लेखिसक्दै थिएँ। ल्याण्डलाइनमा फोन आयो।

-हेल्लो, कृष्णजी बोल्नुभएको हो?

-हजुर,म बोल्दै छु।

-म ताम्राकार हाउसबाट। तपाईको मोबाइल बनिसक्यो। लिन आउनुस् है।

मेरो खुशीको सीमा रहेन। बाइकको चाबी टिपेर हिंडे।

प्रकाशित: १२ श्रावण २०७९ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App