कला

नन्देका बाउ पनि नुन ल्येर आएनन्

संस्मरण

टंक भट्टराई

नन्देका बाउ पनि नुन ल्येर आएनन्

नन्दे मराले पढेन।

कुनाघर काइँली बुढीले गाएको यो सिलोक खोटाङ खाल्लेका भट्टराई र वरपरका गाउँहुँदि निकै प्रसिद्ध छ। मैले जान्दा काइँली बुढी असी नाघेर बसी खाने भाकी थिइन्। अचम्मको कुरो के छ भने बुढेसकालमा उनलाई भेडाको बोली आको थियो। जतिखेर पनि ‘भ्याउ–भ्याउ’ गर्थिन्। दिनैभरि रातैभरि। उनको ‘भ्याउ–भ्याउ’ गाउँभरि सुनिन्थ्यो। हामी केटाकेटी उनको त्यो बोली सुनेर डराउँथ्यौं। गाउँका सारा केटाकेटी रोए, झगडा गरे भने तँलाई भ्याउबुढीकोमा लग्दिन्छु भनेपछि डरले सब चुप।

केही ठूला भएपछि भने हामी अलि वर्तिर बारीका डिलनेरी उभिएर उनको ‘भ्याउ–भ्याउ’ सुन्थ्यौं। घरछेउ जान भने डर लाग्थ्यो। पछि स्कूल जाँदा–आउँदा र अरू केही कामले त्यो बाटो कहिलेकाहीं हिंड्दा उनको घरछेउ आएपछि भ्याउबुढीले खान्छे भनेर डरले कट्टु तान्दै कुद्थ्यौं।

एउटै छोरो नन्दबहादुर र उनकी दुलही अनि केही थान नातिनातिना। उनका घरका परिवार यति थिए। गाउँको अलि कुनामा पर्ने भएकाले त्यो घर कुनाघर नामले चिनिन्थ्यो। घुमाउने खालको घर अलि ठूलै थियो। अगाडिपट्टि एउटा सानो मतान।

काइँली बुढी जतिखेरै घरको बाहिर खाटमा भ्याउ–भ्याउ गर्दै बसेकी हुन्थिन्। बिहानदेखि बेल्कैसम्म नातिनातिनालाई बोलाइरहेकी कराइरहेकी हुन्थिन्। ’ए लेखे! ए बौवा! ए बाटुली! भ्याउ!’ मैले जान्दा काइँली बुढी आँखा देख्तैनथिन्। पहिला सर्साउँदी काइँली बुढीको त्यस्तै पचास–साठीको उमेरतिर दृष्टि गुमेको रहेछ।

उनको दृष्टि गुमेको बारेमा गाउँमा नकरात्मक हल्ला थियो। कुनै जाजुल्ले झाँक्रीधामीले बान हानेर त्यस्तो भएको हो भन्ने कुरा गाउँमा पछिसम्म पनि सुनिन्थ्यो। हामी केटाकेटीका लागि भने त्यस्ता कथाहरू बहुत रोमाञ्चक लागे पनि कुनै गरीब, निमुखा र विधुवा महिलाहरूलाई गाउँलेहरूले नकरात्मक शक्ति खेलाउने अर्थमा जोडेर हेर्थे भन्ने कुरा मैले पछि मात्र बुझें। किनकि गाउँमा अशिक्षा, अज्ञानता र अन्धविश्वासमा जकडिएका मान्छेहरूको सोचको परिणति थियो त्यो। पुरुषप्रधान समाजमा दीन–दुःखी महिलाको चरित्रलाई गिराउने उडन्ते कुराहरू थिए यी। अझ पुरुष मात्र होइन, धारापँधेरा, घाँसदाउरा र मेलापात गर्दा महिलाले महिलालाई नै यस्ता आरोपहरू लाउँथे।

मान्छेको जीवनमा उज्याला र अँध्यारा दुवै पाटा हुन्छन्। ज्ञान र चेतनाले पिछडिएको समाजमा मान्छेका क्षमता, सीप र प्रतिभा ओझेल पर्छन्। उसले गरेका राम्रा कुराहरूको चर्चा हुँदैन। हेपिएका र थिचिएका मान्छेहरूलाई अनेक लाञ्छना लगाएर दबाउन खोजिन्छ।

तर, गाउँका केही अग्रजहरूले काइँली बुढीको प्रतिभाको बारेमा पनि खुलेर कुरा गर्थे। उनीहरूका अनुसार काइँली बुढी गीत र सिलोक भन्न खुबै सिपालु थिइन्। कालो अक्षर भैंसी बराबर काइँली बुढीको कण्ठ यति सुरिलो थियो कि रातको सन्नाटामा पूरै गाउँ उनको गीत र सिलोकले मुग्ध हुन्थ्यो। उनी सिलोकको रचना आफैं गर्थिन्। उनको कण्ठबाट लय निस्किन थालेपछि त्यो रोकिन मान्दैनथ्यो।

दिनभरि घाँसदाउरा, मेलापात। रातभरि ढिकीजाँतो। ऊ बेलाका महिलाहरूको जिन्दगी दुःखै–दुःखमा गुज्रिन्थ्यो। तिनै दुःखहरू दिउँसो वनपाखा र राति ढिकीजाँतोमा गीतका गेडा बनेर गुञ्जिन्थे र मनलाई हल्का बनाउँथे।

बेलुका सुधोपिठो पकाईतुल्याई गरीकन जुठाभाँडा सकेर कैले मध्यरातसम्म र कैले भालेको डाँक अगाडि नै उठेर ढिकी जाँतोमा खटिनुपथ्र्यो काइँली बुढीले पनि अरू महिलाजस्तै।

तर तिनी अरूभन्दा फरक थिइन्।

जाँतोमा जब उनी अन्नको ओइरो हाल्थिन् तब जाँतोको लयसँगै उनको लोकलय बाहिर निस्कन्थ्यो मकै कोदो पिठो बनेर भुइँमा झरेजस्तै।

मैले अरूबाट सुनेका उनका केही सिलोकहरू,

नन्देका बाउ पनि नुन ल्येर आएनन्

नन्दे मराले पढेन।

खाम्तेल सान्नेका पात हुन्

रोटी हाल्ने मेरा हात हुन्।

 

बर्खै मासमहा दिखुवा धमिलो कसरी तर्ने होला,

आइमाईको जुनी यो मन मात्रै अमिलो काँ गई मर्ने होला।

 

सेरा गाउँपारि सुनझाँक्री बसने ठूलो छ तारेभीर,

दुःखै–दुःखमहाँ जीवन बिती गयो काँ पोखौं मनको पीर।

 

माइती गाउँ छलेर टुक्रुक्क बसी गो पापिष्ट जुरे थुम्का,

न लाइदे बाबाले, न लाइदे पोइले कानैमा सुनका झुम्का।

 

माझघरे माइला, बाँझेकी बाउनी हिंडेछन् कठैवरी!

तिन्तले जेठाजु तिरिरी मुरली बजाउँछन् रातैभरि।

 

बा¥हबीसेमहा सुनै धानबाला, इँजारे खेतका मकै,

मुखियाका भकारी सधैं भरिभरि, गरिबका पेट भोकै।

काइँली बुढीले यस्ता सिलोकहरू कति भनिन् कति। गलाबाट गीतका भाकाहरू कति निकालिन् कति। निरक्षर समाजमा उनको त्यो विराट प्रतिभा त्यसै बिलाएर गयो। ठाउँमा जन्मेर शिक्षा पाएकी भए आज दुनियाँले उनलाई पढ्ने थिए। उनका रचनाहरू मुखमा झुण्डिने थिए। उनका नाममा पुरस्कारहरू स्थापित हुने थिए। उनलाई गाउँको त्यै गुहे धन्दा र गरिबीले निल्यो। अशिक्षा र अन्धविश्वासी समाजले निल्यो।

बूढा मरे भाषा सरे। उनका कति गीत र सिलोकहरू त्यो बेलाका बुढाबुढीहरू गुन्गुनाउँथे। आज तिनीहरू पनि छैनन्। सानामा अरूका मुखबाट सुनेका उनका सिलोकहरू मेरा अन्तरकुन्तरमा अझै बाँचेका थिए। त्यसैले मैले उनका बारेमा यति लेख्न सकें।

नन्देका बाउ पनि नुन ल्येर आएनन्,

नन्दे मराले पढेन।

यसका तलमाथि अरू सिलोक पनि थिए होला कति। कसले राख्यो र यसको लेखो। तर, यो सिलोक अघिल्ला पुस्ताहरूमा अझै झुण्डेको छ। मैले सानामा थाहा पाउँदा पनि यो सिलोक निकै प्रचलित थियो गाउँमा। त्यही छाप परेर होला आज पनि यसो मौका पाउनासाथ दिनमा कतिचोटि म यो सिलोक गुन्गुनाउने गर्छु। यति सानो हरफमै त्यो बेलाको गाउँ–समाज पूरै अटेको छ।

ऊ बेलाका धेरै मान्छेलाई खानलाउन पुग्दैनथ्यो। दसैं–तिहार मान्नासाथ नुन बोक्न भनेर उनीहरू मधेस झर्थे र त्यतैत्यतै भोटाङ, आसाम, कालेबुङ, कोइलाखाँद हान्निन्थे। सुन्तला बोक्थे। कोइला खन्थे अनि पूरै हिउँद बिताएर बर्खा लागेपछि खेतीपाती गर्न नूनतेल र अलिकति बचेको पैसा लिएर उनीहरू गाउँ फर्किन्थे। कोही उतै बेपत्ता हुन्थे। यता स्कूल जाने चलन थिएन। गाउँगाउँमा स्कूल पनि थिएनन्। विद्याको महत्व बुझेका अलि जान्नेबुझ्नेहरूले मात्र आफ्ना छोराछोरीलाई टाढा भए पनि पढ्न पठाउँथे। न्त्र अरूका केटाकेटी भने वस्तुभाउ र घाँसदाउरा गर्नमै मस्त रहन्थे।

यसरी यो सिलोकमा गाउँको आर्थिक, सामाजिक र शैक्षिक अवस्थाको कहालीलाग्दो चित्र अटेको छ। घरको गर्जो टार्न नसकेर अर्थात् ऋणले थिचेर विशेषगरी भारतका विभिन्न पहाडी गाउँमा प्रवासिएका गरिब नेपालीहरू कति उतै भासिने, कति उतै मर्ने हुँदा घर छोडेर हिंडेका आफ्ना श्रीमान्हरू कहिले फर्केलान् भनेर बाटो हेर्दै विरहवेदनाले वनपाखा रन्काउने र जाँतो पिंध्दा अन्नको ओइरोसँगै मनका भक्कानाहरू फुटाउने दुःखी श्रीमतीहरूका कथाव्यथाहरू यसमा अटेका छन्।

खाम्तेल सान्नेका पात हुन्/ रोटी हाल्ने मेरा हात हुन्।

माइती–मावली गर्दा लिपेखोलो तरेपछि बडका भञ्ज्याङ र खाम्तेल सान्ने गाउँ वरपरका बाक्ला जंगलमा बडेमानका सालका रूखहरू हुन्थे। ती हरिया र लोभलाग्दा सालका पात यताहुँदि पनि हुन् र ती पातमा कोदाको रोटी हालेर अगेनाको भुङ्ग्रोमा पिल्स्याउने मेरो हातको कला होस्, रोटी साँच्चै कति मीठो हुन्थ्यो। योभित्र प्रकृति र मनका इच्छाहरूलाई जोडेर तुरुन्तै गीत/सिलोक रचना गर्न सक्ने काइँली बुढीको खुबी प्रस्ट देख्न सकिन्छ।

काइँली बुढीको वास्तविक नाम के थियो? गाउँका मान्छेलाई थाहा छैन। ऊ बेला गरिब दुःखी लोग्ने मान्छेहरूको नाम पनि धेरैलाई थाहा हुँदैनथ्यो। अलि हुने खानेले दीन–दुःखीहरूलाई वास्तविक नामको सट्टा अर्कै हेप्ने नामले बोलाउँथे। पछि सबैले त्यै नामले बोलाउन थालेपछि उसको न्वारानको नाम गायब हुन्थ्यो। त्यसमाथि महिलाको त के कुरा!

मैले भर्खरै पुर्खा काशीराम भट्टराई वंशावली तयार गर्दा मात्र थाहा पाएँ कि उनको वास्तविक नाम जानुका रहेछ। माइती खाम्तेल (राजापानी) का कार्की रहेछन्। यसो अनुमान गर्दा उनी ९७२ सालतिर जन्मेकी रहिछन्।

नन्देका बाउचाहिं कस्ता थिए? नुन लिन कहिले गए? कहिले आए? त्योचाहिं मलाई पछिसम्मै हेक्का भएन। ीकनकि मैले उनलाई देख्नै पाइन।

तर, यही वंशावली तयार गर्दा थाहा पाएँ कि, उनका पति नन्देका बाउको नाम मकरध्वज रहेछ। केवलमानका काइँला छोरा मकरध्वज राणाकालीन सेनाको राजदल गणमा नायकसम्म भएर पेन्सन पनि नभई उमेरमै बितेछन्। त्यो बेला गाउँको सामान्य मान्छेले जागिर खानु चानचुने कुरा थिएन। पक्कै पनि जागिर पाउनुअघि गाउँका अरूजस्तै उनी पटकपटक नुन लिन मधेश झर्थे। कहिले नुन बोकेर सरासर घर आउँथे त कहिले घरको दुःख टार्न उसैउसै सिक्किम, रम्फु, भोटाङतिर सुन्तला बोक्न हान्निन्थे। कोइलाखाँदतिर कोइला खन्न जान्थे। उनी घर फर्कन ढिला भएको बेला पतिको यादमा तड्पिएकी यौवना जानुका –काइँली बुढी) को मनबाट राति जाँतो पिंधेका बखत उर्लिएका प्रेमिल भाव तरंग हुन् यी।

काइँली बुढी मरेको पनि आज जुगौं भइसक्यो। उनी २०४९ सालमा बितेकी हुन्। उनको शेषपछि छोरा–नाति पनि मधेश बसाइँ हिंडे। उनका छोरा नन्दबहादुर पनि उहिल्यै मरिसके। उनका नातिपनाति पुस्ताहरूले काइँली बुढीलाई सम्झिन्छन् सम्झिँदैनन्? थाहा छैन। सम्झेर कसैले श्राद्ध गरिहाल्यो भने पनि नामको सट्टा सपत्नी भनेर उनको बुढाको नामसम्म आउला। त्यति मात्र हो। काइँली बुढी जस्ता बेनाम बाँचेर गुमनाम भएका पात्रहरू कति छन् कति इतिहासमा। आजसम्म पनि कतिको हालत त्यस्तै छ। तिनका प्रतिभाहरू गरिबी र अशिक्षाको भुमरीमा हराए। त्यै माटो र त्यै बतासमा बिलाए।

काँइली बुढीको बैंस फक्रिएको र रित्तिएको अनि थुप्रै विरह व्यथाहरू पोखिएको त्यो कुनाघरको भग्नावशेष पनि छैन आज गाउँमा। छन् भने उनका गीत र सिलोकहरूले मुग्ध भएका तिनै वरपीपल चौतारी, वनजंगल र बारीका पाटाहरू छन्। लहरापहरा र वनपाखाहरू छन्। उनी हिंडेका उकालीओराली र तरेका खोलाखोल्सीहरू छन्।

हो, त्यत्ति छन् आज काइँली बुढीका अस्तित्वका साक्षीहरू। पुर्खाका पाइला र तिनका पौरखहरू बिर्सिंदै गएको आजको पुस्तामा खोई किन हो मेरो मन मुटुमा भने काइँली बुढी हमेशा बाँचिरहेकी छन्। सागरमा गागरसरिझैं अलिकति बाँचेका उनका यिनै अजम्बरी लोकभाकाहरूले मेरा भावनाका सुललित तरंगहरूमा उनी बाँच्न सकेकी हुन् भन्ने मलाई लाग्छ।

यति भए पनि भोलिका पुस्ताहरूमा ती पुजनीय पुर्खा काइँली बुढीको बारेमा केही सम्झना रहला। यदि दुनियाँमा आत्माको अस्तित्व छ भने उनको आत्माले पक्कै आशिष देला।

यति भन्दै मेरो यो कलम उनैप्रति समर्पित गरें।

प्रकाशित: १३ जेष्ठ २०७९ ०६:४० शुक्रबार

अक्षर