कला

उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को सुरुदेखि नेतृत्वदायी सार्थक भूमिका निर्वाह गरेकोमा प्राडा उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको छ।

त्यसैगरी त्रिमूर्ति निकेतनको स्थापनामा उल्लेख्य भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि योगदान पुर्‍याएकोमा तारानाथ दाहाललाई ‘भद्र घले पदक’ समर्पण गर्ने त्रिमूर्तिको पूर्व बैठकबाट निर्णय भैसकेको थियो।

प्रमाणपत्र र पदकका साथ भद्र घले पदकको राशि जनही पच्चीस हजार रुपियाँ रहेको छ। आउँदो जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा गोविन्दराज विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार, मिथिला शर्मालाई बालकृष्ण सम पुरस्कार, शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कारका साथै ५९ जना महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदक र दुई जनालाई भद्र घले पदक पनि समर्पण गरिने भएको छ।

भद्र घले पदक बर्सेनि त्रिमूर्ति निकेतनका सदस्यहरूमध्ये एकजनालाई समर्पण गरिन्छ। यसअघि नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, खनूप्रुदे ‘रामबाबू’, शताब्दी पुरुष डा. सत्यमोहन जोशी, हरिहर विरही, डा. मोदनाथ प्रश्रित, प्रा. ठाकुर पराजुली, केके कर्माचार्य, सलोमी लेप्चा तिमोथी र प्राडा गार्गी शर्माले ‘भद्र घले पदक’ ग्रहण गरिसकेका थिए।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो।  

प्रकाशित: १० जेष्ठ २०७९ ०७:४५ मंगलबार

अक्षर