मनीषकुमार शर्मा ’समित’
छिमेकी मांसाहारी, उनको परिवार शाकाहारी। शाकाहारी पनि यस्तो कि लसुन, प्याज, गोलभेडा पनि वर्जित। छिमेकीको घरमा पाक्ने परिकारको बास्नाले उनलाई रनक चल्थ्यो। बास्ना आउँदा जहिले भुतभुताउँथिन्,‘मर्न नसकेकाहरूले कति घिच्न सकेका हुन् तिनका छाला। अघिल्लो जुनीमा राक्षस नै थिए कि क्या हो?’
उनको यो भुतभुताइ छिमेकीको कानमा पुग्ने नपुग्ने थाहा भएन तर छिमेकीलाई कुनै दिन पनि राम्रो दृष्टिले हेरिनन्।
आज उनी ओछ्यान परेकी छिन्। उनको निको नहुने रोग रहेछ। डाक्टरहरू सबैले माया मारिसकेका थिए। एकप्रकारले भन्ने हो भने अन्तिम समय नै तोकिदिएका थिए। छोराछोरी र आफन्त सबै उनको अन्तिम इच्छा पूरा गर्न उनकै वरपर थिए।
छोराले बिस्तारै सोध्यो, ‘आमा, के खान मन छ?’
सानो स्वरमा उनी फुसफुसाइन्, ‘बाबु, त्यो पल्लो छिमेकीले पकाएको परिकार सधैं बास्ना आउँथ्यो। एकपटक त्यसको स्वाद लिएर मर्न मन छ।’
प्रकाशित: १० जेष्ठ २०७९ ०७:०६ मंगलबार