कला

चस्को

लघुकथा

खगेन्द्र बस्याल

चुनावको प्रचारप्रसार शुरू भएदेखि नै  होटलहरूमा मासुभातका अतिरिक्त  बियरमा झुम्नेहरू बढ्दै थिए। त्यो देखिरहेका एकजनाले होटलवालालाई सोधे, ‘चुनावको दिनसम्म त होला नि,तपाईंहरूका लागि  रमाइलो। अझै चुनावको मिति सरे कति रमाउनुहुन्थ्यो होला है।’ 

त्यो सुनेर उनले भने,‘मिति सर्नु पर्दैन। चुनावपछि पनि हाम्रो होटल राम्रोसँग चली नैरहनेछ।’ उसले अचम्म मान्दै सोध्यो,‘कसरी? चुनावपछि त जित्ने  र हार्ने उम्मेदवारहरू आआफ्नो बाटो लागिसकेका हुनेछन्। अनि कसले खुवाउँछ उनीहरूलाई मासुभात र बियर!’

उनले हाँस्दै भने, ‘तपाईं पनि कति सोझो हुनुहुँदो रहेछ। हप्तौं चुनाव प्रचारप्रसारमा  मासुभातका अतिरिक्त बियरमा पौडिन पाएका उनीहरूलाई  त्यो नभई नहुने लत लागिसकेको हुनेछ। अनि घरमा पैसा चोरेर, विभिन्न बाहना बनाई बाबआमासँग पैसा मागेर वा त्यसबाट पनि नभए गहना चोरी सस्तोमा बेचेर भए  पनि उनीहरू हामीकहाँ नआई रहन कहाँ सक्छन् र!’

त्यो सुनेर ऊ झस्क्यो। त्योदेखि उनले भने,‘किन झस्कनुभयो?’

उसले भन्यो, ‘मेरो एक मात्र छोरा पनि चुनावको मिति घोषणा भएदेखि बेलुकीको खाना खाएको छैन। राति एक बजे मात्रै घरमा आउने गर्छ। धन्न,बेलैमा मेरो आँखा खोलिदिनुभयो!’

प्रकाशित: २३ वैशाख २०७९ ०४:४४ शुक्रबार

अक्षर