कला

मलाई बाँच्न मन छ

कविता

गौतम सिद्धान्त

आमा मलाई बाँच्न मन छ

हो आमा,म तिम्रो गर्वभित्रको सन्तान

जसलाई तिमी जन्माएर पाल्ने कि?

या जन्मनु अगावै फाल्ने?

दोधारमा छौ

म त तिम्रो आफ्नै अंश हैन र?

तिम्रो रगतको पिन्ड हैन र?

तिमीले आजसम्म मलाई

आफ्नो गर्भमा राख्न जति दुख गयौ

तीभन्दा हजार गुणा दुख गर्भभित्र मैले गरेको छु,

तिम्रा आन्द्राहरूको भिडमा म अल्झिएको छु,

अँध्यारो र सेपिलो घरमा म खुम्चिएको छु

मलाई तिमीसँग बोल्न मन छ,

मेरो पीडा खोल्न मन छ

अनि भनिदेऊ आमा,

तिम्रो पति मेरा बालाई,

मलाई बाँच्न मन छ।

आमा, मलाई तिमीसँगै खेल्न मन थियो

तिमीले बुझेर होला सायद

तिम्रो गर्भभित्र

मेरो सामुन्ने

मानव निर्मित खेलौना

मलाई खोज्दै आएका छन्

एक थान सक्सन।

म खेल्दै छु ती खेलौना

सक्सनसँगै आमा

तिमीले गर्भबाहिर

आफ्ना हात डुलाउँदाजस्तो

मातृत्व महसुस भएको छैन मलाई

मलाई लुछ्दै,

चिमोट्दै यी खेलौनाहरू

मेरो सेरोफेरोमा डुल्दै छन्

हरेक मिनेटमा एकएक अंग निमोठेका छन् आमा

मलाई यी खेलौनाहरूसँग खेल्नु छैन आमा

भनिदेऊ आमा,

ती सेता लुगा लगाएका

भगवानरूपी चिकित्सकलाई

मलाई बाँच्न मन छ।

आमा,

अझै मेरो केही अस्तु तिम्रो गर्भमा छुटेछ क्यारे

क्यूरेटले ती अस्तु मेटाउँदै छन्

तर,

अफसोस आमा

मसँगै तिम्रो पनि जीवन मेटिएको छ

ए सेता लुगा लगाउने भगवानरूपी चिकित्सक हो,

म र मेरी आमा अब तिमीहरू सबै बनाउने

त्यो भगवानसामु

एउटै कुरा माग्छौं

हे भगवान्,

या त हरेक नारीको गर्भधारण प्रक्रिया रोकियोस्

कि त मानव निर्मित दानव

ती मेसिनहरूबाट गर्भपतन।

प्रकाशित: २६ चैत्र २०७८ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App