चेतनाथ दाहाल
आफ्नो करीब तिन वर्षको छोरामा उमेर अनुसार देखिनुपर्ने चञ्चलपन पटक्कै नदेखिएपछि सरला निकै चिन्तित भइन्। स्वास्थ्य मापदण्ड अनुसार सबै प्रक्रिया पूरा गरेकै हो। सकेसम्म पोषक तत्वहरू पनि खुवाएकै छ। तैपनि बच्चा फुर्तिलो हुँदैन। मन लगाएर खाँदैन। राम्रोसँग सुत्दैन। कतै सुस्त मनस्थितिको हुने त हैन?
उनले डाक्टरलाई देखाइन्। डाक्टरले बच्चामा कुनै रोग नभएको पुष्टि गरे।
उनले विदेशमा भएको श्रीमानलाई फोन गरेर सबै कुरा बताइन्। श्रीमान् विदेश गएपछि गाउँमा सासूससुरा एक्लै छोडेर शहरमा डेरा लिएर बसेकी थिइन् उनी।
उनको श्रीमानले गाउँमा बुबाआमालाई फोन गरेर सबै कुरा सुनायो। बुबाआमाले गाउँमा जान्ने धामी भएकाले केही दिनका लागि बुहारीलाई नाति लिएर गाउँ पठाउन सल्लाह दिए।
सोही अनुसार सरला आफ्नो बच्चा लिएर गाउँ गइन्। उनी गाउँ पुगेकै दिन काम विशेषले धामी अन्तै गएकाले दुईचार दिन पर्खिनुपर्ने कुरा गरे ससुरा बुबाले।
यता घरको फराकिलो आँगन,वरपरका बच्चाहरू पनि भेला हुन्थे। सरलाको छोरा उनीहरूसँग रमाउँथ्यो,खेल्थ्यो,खेल्दाखेल्दै थाकेर भोकाउँथ्यो,जे दियो मजाले खान्थ्यो,हजुरबुबा–हजुरामासँग झ्यामिन्थ्यो अनि राति मजाले निदाउँथ्यो पनि।
हेर्दाहेर्दै दुईचार दिनमै उनको छोराले फुर्तिलो,चञ्चल र जिज्ञासु स्वभाव देखाउन थाल्यो।
त्यसपछि ससुरा बुबाले बुहारीको अनुहारमा हेर्दै मुसुक्क हाँस्दै भने, ‘अब हाम्रो नाति पूर्ण ठिक भयो। साँघुरो कोठाभित्रको एक्लोपनको उपचार डाक्टर र धामीझाँक्रीले गर्न सक्दैनन् बुहारी।’
प्रकाशित: २५ चैत्र २०७८ ०८:३० शुक्रबार