कला

धेरै भयो झुक्याएर भोट मागेको

मुक्तक

चिरञ्जीवी ढकाल 

१) मुक्तक

दुश्मनहरू जलून्, जोस लिएर आउनु,

अब आउँदा उद्देश्य, ठोस लिएर आउनु।

धेरै भयो झुक्याएर,भोट मागेको अब त,

छाप्राको समृद्धिको,उद्घोष लिएर आउनु।

 २) मुक्तक

आजभोलि तिम्रो दुत,घमण्डी भएको छ,

उन्मत्त साँढे  जस्तो, उदण्डी भएको छ।

के बोल्ने, के गर्ने, हेक्का समेत राख्न छोड्यो,

खरानी  पार्ला  घर, उग्रचण्डी भएको छ।

  ३) मुक्तक

जो छ नालायक,आफूलाई राजा ठान्छ,

आफू खारिएको, अरूलाई ताजा ठान्छ।

टोलटोलमा  टिन,  ठटाउँदैछन्  जन्ता,

मूर्ख स्वागतमा, बजाएको बाजा ठान्छ।

 ४) मुक्तक

बन्द गर फेरि गुट बनाउने खेल अब,

चल्दैन  खबरदार, टुकटुके  रेल अब।

जनताले  धेरै कुरा, बुझिसकेका छन् है,

राम्रोसँग जाँच्नेछन्,को पास को फेल अब।

 ५) मुक्तक

चोकको शालिकले,प्रश्न गरिरहेको छ,

भन्दै नहिंडे पनि,आँखा चरिरहेको छ।

जसको खुसीको लागि,म सहादत भएँ,

किन त्यो आँखाबाट,आँसु झरिरहेको छ?

प्रकाशित: २५ चैत्र २०७८ ०७:३५ शुक्रबार

अक्षर