रानाहँछा कवि राई
मित्र!
कुनै गद्दार नेताको पछि लागेको भए
मृत्यु हुँदा हाम्रो शवमाथि पार्टीको झन्डा
ओढाइन्थ्यो होला
अमर शहीद भनेर कतै अखबारमा
हाम्रो नाम छापिन्थ्यो होला।
लाहुरे भाको भए
मर्दा वीरगति पायो भन्थ्यो होला
फौजीको एक हुद्दाले
सलामी दिथ्यो होला।
पेन्सिन पाउँदा
छोराको कमाइ भन्दै आप्पाआमा
खुब खुसी हुन्थे होलान्।
तर मित्र!
हामी त दुवै हुन सकिएन
भैयो मात्रै तोरी लाहुरे
आफ्नो पैसाले आफै दुख पाएको।
घर छाडेर हिंड्दा फलानाको
चाँडै रिन तिरेस्
घरबारी बन्दकी छ
यस्तैयस्तै वचन सुन्दै
साहुको ब्याजको पैसाले बनेको लाहुरे
हामी त तोरी लाहुरे
मित्र!
एयरपोर्टमा
पासपोट र टिकट हातमा लिएर लाइन बस्दा
सानी छोरीले चक्लेट
किन्दिनुस् बाबा भन्दा नि
पैसा छैन भन्दै
टारेर लुकाएको पैसा
एजेन्टलाई बुझाएर
भोकभोकै जहाज चढेका
हामी तोरी लाहुरे
मित्र!
खै के भनौं
हात्ती र हात्तीछाप चप्पलजस्तो
तिमी नि उस्तै
म नि उस्तै
पराई देशमा
पसीनाले सपनाको महल बनाउँदाबनाउँदै
सँगै दुखको गाँस टिपेर सुतेको हामी
अफ्सोस तिमी त सधैंका लागि सुतिगएछौ
सुन्दैछु,
आज छ महिना बितिसक्दा पनि
तिम्रो शरीर यतै कतै शवगृहमै छ रे
मित्र! कहिले फिर्दैछौ तिमी बाकसमा देश?
प्रकाशित: २३ चैत्र २०७८ ०७:११ बुधबार