कला

जातीय विभेदविरुद्ध र्‍याप रिलिज

समता,समानता र सामाजिक स्वतन्त्रताका मुद्दामा कलम चलाउने कवि तथा साहित्यकार मिमबहादुर परियारको शब्दमा, केटिएम सोल्जाको आवाज र बिटमा, रोशन परियारको निर्माणमा र किरण व्यञ्जनकार वाइल्ड याक रेकर्डको प्रस्तुतिमा ‘बाबू के थरी’ बोलको र्‍याप गीतको भिडियो सार्वजनिक भएको छ।

र्‍याप गीतको भिडियोमा रंगकर्मी राजकमल फकिरको अभिनय छ भने निर्देशन मनिष निरौलाले गरेका हुन्। भिडियोको छायांकन पाटन आसपासमा गरिएको छ।

निर्माणता रोशन परियार बताउँछन्, ‘बाबू के थरी’ पहिला थियो। कविता पढेपछि मलाई साह्रै मन छोयो। उक्त कवितालाई र्‍याप गीत बनाउनुपर्छ भन्ने मनमा आयो। जसले युवा जमातमा केही सन्देश पुगोस्। जातीय छुवाछूत जस्तो अमानवीय कुसंस्कारले मानिसमा कति पीडा दिएको छ, त्यो आम मानिसले बुझून् भन्ने हो।’

साहित्यकार परियार भन्छन्,‘बाबू के थरी’ कविता जातीय कुप्रथाविरुद्ध लेखिएको हो। यो कविता मात्र नभएर आक्रोश पनि हो। यस कवितालाई र्‍याप गीत बनाउने रोशन परियारको योजना मन परेकाले यस परियोजना जोडिएको हुँ।’

र्‍याप संगीतको इतिहास विभेदसँग जोडिएको छ। कथित सामाजिक संरचनाविरुद्ध र्‍याप गीत गाइन्थ्यो। अश्वेत समुदायको पीडा पोख्ने माध्यम पहिले र्‍याप थियो। अझ र्‍याप गीतलाई प्रेटेस्ट पोएट्री पनि भन्छन्। अहिले संसारमै र्‍याप युवा जमातमा निकै लोकप्रिय छ। त्यसकारण पनि ‘बाबू के थरी’ र्‍याप गीत विशेष छ। जातीय विभेदविरुद्ध छ। सामाजिक समानता र समताको वकालत गरेको छ। निश्चित रूपमा यस र्‍यापले युवा जमातमा केही सन्देश अवश्य दिनेछ’ साहित्यकार परियारले थपे।

सामाजिक बेथितिलाई सरल भाषामा चित्रण गरिनु नै यस गीतको विशेषता हो। र्‍यापरको गायकीले, गीतमा झन् ऊर्जा थपिदिएको छ। र्‍यापर केटिएम सोल्जा, नेपाली याप विधाको उदाउँदो नक्षत्र हुन्।

प्रकाशित: २३ चैत्र २०७८ ०६:४९ बुधबार

अक्षर