सत्या अधिकारी
‘दिदी, आज भट्टेडाँडामा भ्यूटावरको उद्घाटन छ रे।’ बहिनीले खबर सुनाई। मलाई पनि जान मन लाग्यो। हामीले गन्तव्य सोझ्यायौं।
यसै त अग्लो डाँडा त्यसमाथि अग्लो टावर। मलाई माथि हेर्दामै रिंगटा चल्यो। जिउ सिरिङ भयो। मथि चढ्ने आँट आएन।
त्यहाँको माहोल खुब रमाइलो थियो। प्रधानमन्त्रीले रिवन काटेर उदघाटन गरे। परर तालीको गडगडाहटले पूरै जंगल थर्कियो। सबैको अनुहार टावरतिरै थियो। हामी दुई पनि खुबै रमायौं।
कार्यक्रमस्थलको छेउमा टुक्रुक्क बसेका दुइा वृद्ध बा खासखुस गर्दै थिए। उनीहरूको कुरा सुन्ने जिज्ञासा भयो। आखिर यो खुसीयालीमा यी दुई किन अलग्ग बसेका होलान् भन्ने सोच पनि आयो। अलि नजिक पुगें र कान थापें।
‘हैन, के हेर्न बनाएका हुन् यो डाँडामा यत्रो अग्लो घर?’ एकजना बा बोले।
‘घर कहाँ हो र बाज्या, सरकारले राजधानीको खाल्डाबाट केही नदेखेर टार बनाका रे क्या!’
पहिलो बाले उत्सुक हुँदै सोधे,‘के हेर्ने रछन् त नि, खाल्डाको सरकारले यहाँबाट?’
खुइय्य गर्दै अर्का बा बोले, ‘नेपालीहरूको गरीबी, रोग, भोक, शोक सबै हेरेर चुनावी रणनीति तय गर्न होला नि!’
प्रकाशित: २१ चैत्र २०७८ ०५:४४ सोमबार