कला

आज १२ समूहबीच प्रतिस्पर्धा

‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ पाँचौं दिन आइतबार (आज) सम्पन्न हुने भएको छ। शनिबार पहिलो चरणको दोहोरी गीत प्रतियोगिता सम्पन्न भएर दोस्रो चरण आरम्भ भएको थियो।

प्रतियोगितामा ६१ समूहले सहभागिता जनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिद्वारा आयोजना गरिएको प्रतियोगिताको चौथो दिनमा बाँकी समूहबीच प्रतिस्पर्धा सकिएलगत्तै दोस्रो चरणको प्रतियोगिता सुरु गरिएको थियो।

शनिबार (चैत १९) गते नै प्रतियोगिता सम्पन्न गर्ने कार्यतालिका भए पनि त्यसलाई थप एक दिन लम्ब्याएर चैत २० गते आइतबारसम्म पुर्‍याइएको आयोजक पक्षले जनाएको छ प्रतियोगीबीच कडा प्रतिस्पर्धा भएकाले एक दिनको समय थप्नुपरेको आयोजकको भनाइ छ।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबार (चैत १६ गते) प्रतियोगिता सुरु भएको हो। शनिबार प्रतियोगितासँगै बीचबीचमा चर्चित कलाकारहरूका प्रस्तुति राखिएका थिए। सहयोगी, दाता र आजीवन सदस्यता लिनेहरूलाई सम्मान पनि गरिएको थियो।

चौथो दिन कार्यक्रम प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल र केन्द्रीय सदस्य पिएन सापकोटाले सञ्चालन गरेका थिए। प्रतियोगिताका लागि प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक र निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनी सहसंयोजक रहँदै आएका छन्।

साथै अन्य अग्रज कलाकारहरू पनि निर्णायकको भूमिकामा छन्। प्रतियोगिताको अन्तिम चरणको दोहोरमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रतियोगिता सुरु भएदेखि हालसम्म दर्शक, मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक, सहयोगीदाताले दिएको मायाप्रति हार्दिक आभार प्रकट गर्दै प्रतिष्ठानका अध्यक्ष अध्यक्ष रमेश बिजीले प्रतियोगिताको अन्तिम दिनसम्म साथ दिन आग्रह गरे।

अन्तिम चरणको प्रतियोगिता आइतबार (आज) बिहान ९ बजेदेखि गरिने प्रतियोगिताका संयोजक एवं प्रतिष्ठानका उपमहासचिव शिव हमालले जानकारी गराए। साथै विजेताहरूलाई कार्यक्रम सकिएलगत्तै पुरस्कार वितरण गरिनुका साथै आर्थिक, नैतिक, भौतिक रूपमा सहयोग गर्ने अन्य संघसंस्था तथा व्यक्तिलाई पनि सम्मान गरिने उनले बताए।

अन्तिम दिनको कार्यक्रमको दोहोरी गीत प्रतियोगिता युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्कमार्फत देशभरका एफएम स्टेसन र विभिन्न अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

आइतबार १२ समूहबीच प्रतिस्पर्धा हुने जानकारी गराउँदै निर्णायक संयोजक शर्माले प्रतियोगी समूहलाई बिहान ९ बजेभित्रै कार्यक्रमस्थलमा उपस्थित भइसक्न आग्रह गरे। प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई सिल्डका साथमा २ लाख २५ हजार, दोस्रो हुने समूहलाई १ लाख ५० हजार तेस्रो हुनेलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ।

सान्त्वना स्थान हासिल गर्नेलाई ५० हजार रुपैयाँ प्रदान गर्नुका साथै उत्कृष्ट दुई पुरुष, दुई महिला साथै उत्कृष्ट वेशभूषा र अनुशासित टिमलाई १०/१० हजार रुपैयाँ दिइनेछ। मेडल र प्रमाणपत्र भने विजेता सबैलाई दिइनेछ।

प्रकाशित: २० चैत्र २०७८ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App