कला

माथ्लाघरका बा

संस्मरण

टङ्क भट्टराई

माथ्लाघरका बा। नाम रणदीप (भन्ने गरेको रन्दीप)। रातो वर्ण। हात्तीजस्तो शरीर। अग्लो ज्यान। उनी १०४ वर्ष बाँचे।

हाम्रो घरदेखि ठ्याक्कै माथ्लो घर रन्दीप बाको। त्यसैले हामी उनलाई माथ्लाघरका बा भन्थ्यौं।

वृद्ध भएर पनि बाँका दाँत जस्ताका तस्तै थिए। घान दुएक ठेट्ना मकै चबाउँथे। चामलको भात भन्दा च्याँख्ला र ढिंडै रुचाउँथे बा। ‘सिता खाए भित्ता लागिन्छ, च्याँख्ला खाए दिनभरि अडिलो हुन्छ’ भन्थे।

बा भोटो, दौरा र लगौंटी लाउँथे। ठूलो खालको बाँसको लौरौ टुप्पातिरबाट टेक्थे। सायद ठूलो ज्यान भएकाले सानो लौरोको भर हुन्थेन।

बा कहिले आँगनमा र कहिले बारीका पाटामा चित्राका चोया काढ्थे। चित्रा बुन्थे। ओदाल र हात्तीवार पहिलैदेखि पोखरीमा भिजाएर त्यसलाई कुटी पाट बनाउँथे र राम्रा–राम्रा नाम्ला, दाम्ला बन्थे। डोरी, जोतारा र बरिया बाट्थे।

बाका दुइटी बुढी। जेठी मरेपछि कान्छी बिहे गरेका। छ जना छोराछोरी जन्माएर कान्छी पनि निकै वर्ष अगाडि बितेकी। बाकी जेठी बुढी बितेको सम्बन्धमा एउटा कथा छ गाउँमा।

तीनतलेको घरमाथिको ठूलो डाँडेगरामा बाहरूको हिउँदे गोठ थियो।

हरेक वर्ष मङ्सिर–पुष महिनातिर घर छाउन खर काट्न जङ्गलमा जाने चलनअनुसार मङ्सिर जाँदो बेला उज्यालो नहुँदै कुइभीरपारिको जङ्गल पुग्नुपर्थ्यो। आमोई राति बारै बजे उठेर भैंसी दुहुन गइन्। भैंसी दुहेर घर फर्किने क्रममा एउटा सेतो आकृति आमोईको अगाडि उभिएछ र त्यो बढ्दै–बढ्दै धेरैमाथि पुगेछ। पक्कै यो भूत हो, अब यसले मलाई खाने भो भनेर आमोई आत्तिएर कसो–कसो भूतलाई छलेर घर आइपुगिछिन्। आमोई घर आइपुग्नासाथ मुटु दुखेर फत्र्याक– फत्र्याक परिछिन्। त्यसपछि धामी–सामी लाउनै नपाई एकछिनमै आमोई बितिछिन्।

मैले यो कुरा पछि आमाहरूबाट सुनेको। उनीहरू भन्थे, ‘त्यो सेतो मुर्कुटो भूत हो। यदि त्यो बढ्दै अकाशसम्मै पुगेको थियो भने आमोईलाई केही हुँदैनथ्यो। त्यो आकाशसम्म नपुगी बीचमै हराउँदा मान्छे ठहरै हुन्छ। आमोईलाई पनि त्यसै भाको हो।’

ऊ बेला धामी, झाँक्रीबाहेक गाउँमा कुनै डाक्टरी उपचार पद्धति थिएन। मान्छेहरू बिरामी भए अथवा अकालमा मरे भने भूत, प्रेत, बोक्सी वा देवीदेवताको दोष हो भन्ने अन्धविश्वासले जरा गाडेको थियो। सायद आमोईलाई त्यतिखेर अहिलेको जस्तो ‘हर्ट अट्याक’ भएको हुनुपर्छ।

जेठीपट्टि एक भाइ छोरा र चार बहिनी छोरी। छोरा जोगबहादुर (अमर) चाहिं खेतीकिसान गरेर बाम्राङ, चुप्लामा बस्थे। छोरीहरू साना–सानैमा दुइटी डाँडागाउँ (बाँझे) र दुइटी अन्तै बिहा भइसकेका। कान्छीपट्टि कान्छाबाहेक तीनटा छोरा सेना/प्रहरीका जागिरे। छोरीहरूमा ठूलीचाहिं डल्ली। कान्छी मसिनी। याम्खा, सिरुवानी कार्कीलाई दिएकी डल्ली (कमला) का श्रीमान् चाँडै बितेकाले उनी दुइटा छोराछोरी लिएर माइतै बस्थिन्। मसिनीलाई बार्लाङ (याम्खा) पौडेललाई दिएको।

बा घरमुनि निस्केर छोराछोरी र नातिनातिनालाई बोलाउँदा गाउँ नै थर्किन्थ्यो। ‘ए अमृते! ए डल्ली! ए मसिनी! ए ड्याँके! ए नसी! ए जगी!’

गोठमा भैंसी, गोरु र दुई–चारवटा बाख्रा–पाठा पालेका हुन्थे। बा भैंसी दुहुन्थे। दूध तताउँथे। मोही पार्थे। बा मोही भनेपछि हुरुक्कै!

ऊ बेला घरमा दुहुनु नहुँदा वल्लाघर–पल्लाघर, तल्लाघर–माथ्लाघर मोही माग्ने अर्थात् बाँडेर खाने चलन थियो। भैंसी थाकेको बेला मोही खान नपाएर बालाई खरै पल्टिने। हाम्री आमा मेलाबाट आएपछि ‘ए कान्ची मोइ च!’ (बा प्रायः ‘छ’ लाई ‘च’ भन्थे) भनेर माथिबाटै सोध्थे। तलबाट आमाले ‘छ है जेठाजू!’ भनेपछि बा भाँडो बोकेर लौरो टेक्दै वर–पीपल डाँडाबाट घुमेर हाम्रामा झर्थे।

‘मलाई त अमिलै भए नि हुन्छ कान्ची! नभए च्याँख्ला रुच्दैन।’ मोही लिएर उही बाटो फर्किन्थे बा। अलिक मोही निकै छ भने एक देक्ची त उभिएरै तन–तन पार्थे।

घर पश्चिमपट्टि फर्केको। अगाडि सानो मतान र वस्तुभाउको गोठ। बाहिर उँधोपट्टि दलानमा बा बस्ने र सुत्ने खाट थियो। सुत्नुअघि बिहानदेखि बेलुकासम्म बाका ओढ्ने, ओछ्याउने लुगा सिरानतिर पर्लक्क उल्टाइएको हुन्थ्यो। बा बाँसको लौरो खाटको छेउमा उभ्याएर दुइटा घुँडा अनुहारतिर खुम्च्याई त्यसैमा अढेस लागेर बस्थे। त्यसरी बस्दा बाको लगौंटी र लगौंटीभित्र लुकेका केही जिनिस आधाउधिसम्म देखिन्थे।

सानामा म बाकामा गइरहन्थें।

‘बाउरामे आइस्! लु बस्!’ बा मलाई छेउमा बसाल्थे र घरका के–के कुराहरू सोध्थे। म जानेजति बताउँथें। बा ऊबेलाका कुराहरू गर्थे। म चाखपूर्वक सुनिरहन्थें।

तीनटा छोरा बाहिर–बाहिरै जागिरे भएकाले बालाई चिठी पढिदिने र लेखिदिने मान्छेको खाँचो थियो। तीन–चार कक्षा पढेपछि त्यो खाँचो मैले पूरा गरें।

छोराहरूले पठाएको चिठी पढिदिने र उनीहरूका लागि चिठी लेखिदिने भएपछि बाले मलाई ‘बैदार’ भन्न थाले।

‘बैदार! लु यो चिठी पढ्–पढ्।’ छोराहरूले पठा’को चिठी बोकेर बा कहिले हाम्रो घरमै आउँथे। कहिले उनकोमा बोलाउँथे। वरै वस्तुका गोठनेरि बसेर म चिठी पढिदिन्थें। बा ध्यान दिएर सुन्थे। चिठी पढेको सुन्दासुन्दै बा कहिलेकाहीं आँसु झार्थे।

‘ए बैदार! यता आइज–आइज!’ म स्कूल जान नपरेको दिन अर्थात् कुनै बेला बिहान–बेलुका पारेर बा मलाई बोलाउँथे। म कट्टु तान्दै खुर्र बाकोमा पुग्थें। बुहारीहरूले थाहा पाउँछन् भनेर बा अलि तल बारीका गरामा झर्थे। कपी र डट बाको गोजीमै हुन्थ्यो।

‘लु लेख् चिठी!’ बा गोजीबाट डट र कपी निकालेर दिन्थे। उनी भन्दै जान्थे। म लेख्दै जान्थें।

‘भैंसी यो बेला भर्ना भो। यो बेला ब्यायो। पाडी पाउनुपर्ने जेमराजले पाडो पायो। दूध यति दिन्छ। भैंसी एक साँझे लाग्यो। अब थाक्छ। अब भुटुन केले पुर्‍याउनू? मोइबिना भात निल्न सकिंदैन। बाख्राले यतिवटा पाठा पाए। गोरु बिरामी भो। अर्को साटेर ल्याउनुपर्ने। यति मुरी धान फलो। कोदो यति फलो। थाङ्ग्राका मकै सबै घुनले खायो। घर चुहुने भाको छ, खर किनेर छाउनुपर्ने। ब्वारी माइत गाकी अझै आकी छैन। केटाकेटी टेर्ने होइनन्। घर–बेबार चलाउन गारो परो। यति पैसा पठाइदे...।’

चिठीको व्यहोरा यस्तै–यस्तै हुन्थ्यो। चिठीमा घरका कुरा हुन्थे। गाउँका कुरा हुन्थे। खेतीपाती लाउने र उठाउनेका कुरा हुन्थे। सबै कुरा जोड्दै ल्याएर अन्तिममा चाहिं ‘यति पैसा पठाइदे’ भन्ने कुरामा चिठीको बिट मर्थ्यो।

गाउँमा आर्मी प्रहरीका जागिरे धेरै। कोही न कोही जाने–आउने भइरहने हुँदा बा तिनैका हात कहिले जेठा, कहिले माइला र कहिले साइँला छोराहरूलाई पालैपालो चिठी पठाउँथे। घरमा घिउ भए कहिलेकाहीं कोसेली पनि पठाइदिन्थे।

बा निरक्षर तर विभिन्न शास्त्रका सिलोकहरू कण्ठस्थ आउँथे बालाई। राति ओछ्यानमा सुतेपछि ननिदाउञ्जेल र बिहान उज्यालो हुनुभन्दा निकै अगाडिदेखि बाले भनेका सिलोकले गाउँ पूरै गुञ्जिन्थ्यो। गाउँमा भएका बिहा–बटुलहुँदि त बा सिलोक भनेर रात छर्लङ्गै कटाइदिन्थे।

बा ज्यानजस्तै कडै खालका मान्छे हुन्।

एकचोटि म तल्लो स्कूल (कालिका प्रावि कात्तिके) पढिरहेको बेला बाले जेठा छोरा शुभद्रकी माइली छोरीलाई तल्लो स्कूल लिएर गए। त्यो बेला स्कूलका मास्टर हर्कनारायण श्रेष्ठ थिए। बालाई देखेर म बाहिरपट्टि झ्यालबाट अफिस कोठातिर च्याइरहेको थिएँ।

बाले मास्टरलाई भने,‘लु मास्टर! यो मेरी नातिनी हो। घरमा काम पनि गर्दिन। अर्‍हाको एउटै टेर्दिन। यो खानकी काललाई तिम्रो स्कूलमा पढाइदेऊ।’

‘हुन्छ बा! पहिला नाम लेख्नुपर्छ।’ मास्टरले भने।

‘लेख न त! म जान्दिनँ।’

‘नाम के हो यिनको?’

‘ड्याँके!’ बाले फ्याट्ट भने।

‘यो त होइन होला बा!’

‘किन होइन? तिमी जान्दचौ कि म जान्दचु?’ बाले झण्डै खाए।

मास्टरले ‘ड्याँकी माया’ भनेर नाम लेखिदिए।

हुन त ड्याँकेको न्वारानको नाम अर्कै थियो। अलि ठूली भएपछि आफूलेअर्‍हाएको नटेर्ने र खाली खेलेको खेलै गर्ने हुँदा बाले उसको नाम ड्याँके राखिदिएका हुन्। हामी पनि उसलाई ड्याँके नै भनेर बोलाउँथ्यौं। उसको नाम गिता हो भनेर मैले निकै वर्षपछि भागलपुर आएर मात्रै थाहा पाएँ।

प्रत्येक नातिनातिनाको न्वारानको नाम अर्कै हुन्थ्यो तर बाले अलिपछि अर्कै राखिदिन्थे। जस्तैः नसी, जगी, भुँडे, धतुरे आदि। बुहारीको पनि नाम अर्कै–अर्कै राखिदिन्थे। फतौरी, बताई त्यस्तै–त्यस्तै।

बाका कहानीहरू धेरै छन् गाउँमा।

बाको ज्यान पनि हात्तीको जत्रो। खान्की पनि त्यत्रै ठूलो। त्यो उमेरमा पनि डेढ–दुई मानाको च्याँख्ला र एक कराई (मझौला खालको) ढिंडो सिनित्तै पार्थे बा। बाका दाँत पछिसम्म पनि जस्ताका तस्तै। दुई घान ठेट्ना मकै सजिलै चबाउँथे।

बाहरूको एउटा खेत ज्यामिरेमा थियो। अलि वर्तिर चिलाउने खर्कको गोठ। एकदिन असारको बेला चिलाउने खर्कका सम्बरबहादुर गोठमा मकै पोलेर खाँदैरहेछन्। बा ठ्याक्कै पुगेछन्। सम्बरबहादुरले एक–दुई घोगा पोलेका मकै दिएछन्। त्यो बेला उमेरै थियो। बालाई त्यति नाथेले ‘दाँते गु’ पनि भएनछ। एकछिन पछि सम्बरबहादुरले अगेनै छोड्दिएर भनेछन्, ‘दाजु,त्यतिले अघायौन होला। लु आफैं पोलेर खाऊ। ठेकामा मोही पनि छ। म पर्तिर पुगेर आउँछु।’

एकछिनपछि सम्बरबहादुर आउँदा बा डकार्दै हिंड्न लागेका। भित्र हरिया खोसेलाको यत्रो उरुङ। गोठपर्तिर एउटा सुर्काका हरिया मकै सबै सकिएका। बिहान पारेको मोइको ठेको पनि पूरै रित्तिएको।

यो सबै हेरेपछि सम्बरबहादुरले छक्क पर्दै भनेछन्,‘लु मैले सकिनँ। खान पनि खाँदा रछौ दाजू!’

ऊ बेला नुन बोक्न मधेश जाने चलन। आफूलाई चुलो मिल्ने र बात मिल्ने मान्छेहरूको समूह मिलाएर गाउँलेहरू वर्षको दुई–तीन चोटि ढाकरमा बाटाका लागि ओढ्ने–ओछ्याउने लुगाफाटो, खाजासामल बोकेर बेल्टार नुन बोक्न जान्थे।

भारी बोक्न र हिंड्न बालाई कसैले नेभेट्ने। बाईस पाथी नुन, एक चौथाई मट्टितेल, त्यसमाथि लुगाफाटो र खाजासामल बोकेर अरूसँगै पाँच दिनमा घर आइपुग्थे अरे बा।

नुन बोक्दाको एउटा कथा मलाई बाले नै सुनाएका।

एकचोटि गाउँका निकै जना बेल्टारबाट नुन लिएर रमाइलो (रसुवा र भँडारेबीचको ठाउँ) मा आइपुगेछन्। त्यहाँ मधेशतिर झर्दै गरेका आठ–दश जना दोर्पाली राईसँग भेट भएछ। राईहरू जाँड–रक्सीले मातेका। कम्मरमा लामा–लामा खुकुरी भिरेका। नुन बोकेर आउँदै गरेका क्षेत्रीहरूलाई देखेपछि बाटामा दुईचार जना महसुरले पनि उठाउन नसक्ने ढुङ्गो देखाउँदै उनीहरूले भनेछन्, ‘ए खस्या हो! लु भारी बिसाओ। तिमेरू एकएक जनाले यो ढुङ्गो नउचाली अगाडि जान पाउँदैनौ।’

भारी बिसाएर एकपछि अर्को गर्दै ढुङ्गो उचाल्न खोज्दा कसैले नसकी अब किराँतीले मार्ने भए भनेर डरले थुर्थुर हुँदै बाटामा उभिएर रन्दीप बाको बाटो हेर्दै रहेछन् खाल्लेलीहरू।

एकछिनमा टेकुवा टेक्दै बा आए। सबै मान्छे जम्मा भएका देखेर बाले टेकुवामा भारी अड्याए। राईहरूले उनलाई पनि त्यही कुरा दोहोर्‍याए। बाले आफ्ना साथीहरूको अनुहार पालैपालो हेरेर भने, ‘तिमर्ले सकेऊ न?’

सबैले नसकेको सङ्केत गर्दै मुण्टो हल्लाए। त्यसपछि बाले राईहरूतिर फर्केर भने, ‘लु हामीले नसके तिमर्ले अगाडि जान दिंदौन। यो ढुङ्गो मैले उचालें भने तिमरू सिस्नेलाई पनि यीं थला पार्छु।’

‘लु देखा त तेरो पाइन हेरौं।’ जाँडले मातेका किरातीहरू कस्सिए।

बाले टेकुवा भित्तामा ठड्याएर भारी नबिसाईकन त्यो एमानको ढुङ्गो जुरुक्क उचालेर पछारेछन्। अब भने हात्तीजस्ता बाको हात्तीको बल देखेर किरातीहरू डरले टाप कसेछन्। घरबाट हिंडेका उनीहरूको भारी नभएकाले भाग्नलाई सजिलो पनि भयो।

‘भागी हालेऊ लाछी हो नत्र तिमर्लाई मैले जानेको थिएँ।’ बा उनीहरूतिर हेर्दै कराएछन्।

‘किन डराका तिमरु? लु हिंड अब!’

बाले यति भनेपछि उनको बल देखेर छक्क पर्दै साथीहरू भारी बोकेर लुरुलुरु अघि लागेछन्।

बाका यस्ता कथाहरू धेरै थिए तर सानै भएकाले मनमा अलिक गहिरो प्रभाव पार्ने कुराहरू मात्र सम्झन सकें। मसँग बाका कुराहरू आफैंले खोतल्न सक्ने क्षमता थिएन त्यो बेला। बिस्तारै ठूलो हुँदै गएपछि भने आफैंले सोध्दै–खोज्दै धेरै कुरा थाहा पनि पाउँथें होला। तर, बासँग नजिक भएर सँगै बस्ने दिन अब धेरै थिएनन्। किनकि, बा अब बसाइँ हिंड्ने भए।

बाका छोराहरूले उदयपुरको बेलाहास्थित भागलपुरमा केही वर्षअघि जग्गा किनेका थिए। उनीहरूले बालाई मधेस जान धेरै जोड बल गरिरहे पनि बा भने मानेका थिएनन्।

‘अब मर्ने बेलामा म किन बसाइँ जानु? बरु, तिमरु सप्पै जाओ। म एक्लै बस्चु। यत्रा बन्धु–बान्धव यीं छन्। पुर्खाहरू यीं मरे।  आफू जन्मे–हुर्केको ठाउँ, यी धारापधेंरा, पोखरी, यो पुर्खाले आर्जेको माटो कसरी छोडेर हिँड्नु? मलाई यीं मर्न देओ। मैले पुर्खाकै घाटमा जल्नुपर्च। मलाई अब कुनै सुख चाहिएको छैन। बरु, यींको दुःख मीठो च।’ बाले पटकपटक यही भनेर टारे तर आफ्ना हातगोडा पनि बिस्तारै लाग्न छोडेका। छोराहरूले जसरी पनि नलगी नछोड्ने। बा बसाइँँ हिंड्न बाध्य भए। बा त्यो बेला पचासी वर्ष पुगेका थिए।

२०४५ सालको चैतको महिना। बसाइ हिंड्ने केही दिन अघिदेखि नै बाका आँसु थामिएका थिएनन्। बा सबै खेतबारीमा पुगे। ज्यामिरे पुगे। चौबीसे पुगे। लौरो टेकेर सकेसम्म धेरै बन्धुहरूका घर पुगे र बिदा मागे।

हिंड्ने अघिल्लो दिन बिहान बा हाम्रो घर आए। मोही पारेको थियो। आमाले सानो देक्चीभरि मोही ल्याएर दिनुभो। बाले तन्तनी पिए।

‘लु कान्ची! यै ठाउँमा मरौं भनेको। मलाई छोराहरूले नलगी छोडेनन्। म भोलि जान्चु। रामरी बस।  यत्रो वर्ष सँगै बसियो। अब छुटानाम हुनेभो।’ बा रोए। आमा पनि रुनुभो।

‘बैदार, यता आइज! बाले मलाई बोलाए।’ म नजिकै गएँ। बा जाने भनेपछि मलाई निकै दिनदेखि नरमाइलो लागिरहेको थियो। बाको नजिकै जान सकिरहको थिइनँ।

‘लु बैदार! तैंले मलाई थुप्रो सहयोग गरिस्। मेरो बैदार भर काम गरिस्। जतिखेरै खुर्र कुदेर आउँथिस्। म नजिकै बस्थिस्। मेरा कुरा सुन्थिस्। चिठी पढ्दिन्थिस्। चिठी लेख्दिन्थिस्। मसँग दिने कुरा त के च र! धेरै पढ्नू। ठूलो मान्चे हुनू है। म त मरिजान्चु। पौरख खान पाउँदिन। जाँ भए पनि तँलाई आशिक दिइरन्चु।’ बाले रुँदै भने। मेरा आँखाबाट पनि बरर्र आँसु झरे। बोल्न सकिनँ।

बाका लागि लामीडाँडाबाट हवाईजहाजको टिकट थियो। बालाई पुर्‍याउन दुई जना लामिडाँडा गए। अरू भारी भरियासहित हिंडेर बेल्टारको बाटो लागे।

बिहानै बाका घरमा गाउँका धेरै मान्छे जम्मा भएका थिए। कसैका आँखा ओभाना थिएनन्। ‘लु बस है! म हिंडें’ भन्दै रुँदैरुँदै बा लौरो टेकेर बाटो लागे। घरपर्तिर पुर्खाले खनेको पोखरी र वरपीपललाई घुमेर ढोगे। त्यसपछि हामीलाई हेर्दै–हेर्दै बिस्तारो उँधो झरे। बा तल पुगुञ्जेलसम्म आँखा पुछ्दै हामीले हेरिरह्यौं।’

निकैबेरपछि पोखरीको डिलबाट हेर्दा बा यतैतिर हेर्दै पारि कल्यानडाँडोको उकालो चढिरहेका।

बा बसाइँ हिंडेको चौध–पन्द्र वर्षपछि ०५९–६० सालतिर म दसैंमा टीको लाउन छोरा वसन्तलाई लिएर भाकलपुर पुगें। त्यही बेला (०५९ साल) हामी मोरङको इन्द्रपुर (खोर्साने) मा पहाडबाट बसाइँ आई भर्खर घर बनाउन थालेका थियौं। बुबा–आमा भने पहाडमै हुनुहुन्थ्यो।

पल्लाघरका दाइ (हेमबहादुर) पनि ०५८–०५९ सालतिरै होला भागलपुर बसाइँ आइसकेका थिए। त्यो भन्दा केही समयअघि सिमलबोटे टेकबहादुर र आठमुरेका ज्ञानबहादुरले पनि त्यहीं बसोबास सुरु गरिसकेका थिए।

त्यो बेला भाकलपुरमा फत्तेपुरदेखि हिंडेरै जानुपथ्र्यो। मोटरबाटो थिएन। बीचमा त्रियुगा नदी आउँथ्यो। पुल बनेकै थिएन। बर्खाहुँदि त निकै जोखिम मोल्नुपथ्र्यो 

त्रियुगा तर्न। बिजुली बत्ती पनि पुगेको थिएन। मधेश भन्नु मात्रै, निकै दुर्गम र कालापानी जस्तो लाग्थ्यो भागलपुर। जे होस् पहाडमा जस्तो जति दश नङ्ग्रा खियाए पनि भोकै–नाङ्गै हुनुपर्दैनथ्यो त्यहाँ। काम गरेर चामलको भात खान कुनै दुःख थिएन। वरिपरि जंगल। घाँस–दाउराको दुःख थिएन। नजिकै खेतीपाती। सखुवाका काठका घर। घरघरमै कलको पानी। घरघरमै शौचालय। वस्तुभाउ, खसीबाख्रा प्रशस्तै पालेका। जीवनशैली निकै सहज भएको। केही परिवर्तन आएको। पहाडमा जस्तो कसैको थिचोमिचो र हप्कीदप्की थिएन। एकबारको जुनीमा पहाडको दुःख र हण्डरले सुख खोज्न मधेश झरेका बन्धुहरू सबै खुसी। सबै आनन्दित।

यत्तिका वर्षपछि सबै जनालाई देख्न पाउँदा मनमा निकै हर्क लाग्यो।

माथ्लाघरका बा कान्छा छोरा अमृतसँग बसेका। छोरा शुभद्र र कर्णबहादुरको घर कान्छासँगै जोडिएको। वीरबहादुरको अलि पर्तिर। दुइटी छोरी डल्ली र मसिनीको घर पनि त्यहीं नजिकै। अरू दाजुभाइ त्यतै वरपर। अगाडि वरपीपल चौतारी। बस्ती निकै लोभलाग्दो। झुरुप्प एकै ठाउँ।

हामी पुग्दा बा बाहिर खाटमा ढल्किराखेका। नजिकै गएर मैले ‘बा!’ भनें। बाले निकै खुट्याएर हेरे अनि फ्याट्ट भने, ‘बैदार होस्!’

मैले खट्टामा ढोगिदिएँ। वसन्तले त्यसै गर्‍यो।

मलाई देख्नेबित्तिकै बा औधी रमाए। आँखाबाट खुसीको आँसु झारे। मलाई पनि त्यस्तै भयो।

बाले मलाई  आफूनजिकै बसाले र सोधे– ‘बैदार! कसरी आइपुगिस् याँ ? बाउआमालाई सञ्चै च? तिमरू पनि बसैं आका? गाउँका फलाना–फलानालाई कस्तो च? हेर! बिहा गरेर छोरो यत्रो भइसकेछ। मैले ता बिहा खान पनि भेटिनँ। अरू केटाकेटी कति छन्? बुहारी कस्ती च? कहाँ बिहा गरिस्? कसकी छोरी?’बा सोधेको सोधै। म भनेको भनै।

एकछिनमा वरपरका दाजुभाइहरू पनि सबै भेला भए। निकैबेर ढोगभेट र भलाकुुसारी जारी रह्यो।

‘नमरी बाँचे भेट हुँदो रच। आज कति वर्षपछि बैदारलाई टीको लाउन पाएँ। ए कान्ची! लु भित्र गर टीको ले। बत्ती बाल्!’ बाले बुहारीलाई अर्‍हाए।

‘लु बैदार! ठूलो–ठूलो हुनू। नाम राख्नू। गाउँमा मास्टर थिस्। अहिले ठूलो–ठूलो सुब्बा भर काठमाण्डुमा जागिर खाँदैचस् भन्ने सुनेको चु। छोरी पनि पढाउन उतै लगिरचस् अरे। के गर्नु बाबै! उहिले म हिंड्दै एक्काइस दिनमा काठमाण्डु पुगरे घर आको। अहिलका मान्चेलाई कथा भो। अहिलेसम्म बाँचेको थिएँ र तेरो यतिसम्म पौरख हेर्न सुन्न पाएँ। अझै माथिमाथि पुग्नू। नौ दुर्गा भुवानीले मनले चिताको जति सबै पुर्‍याइदिऊन्। शीरमा शिवजी बसून्। मुखमा सरस्वती बसून्। पैतालामा वासुकि नाग बसून्। तैंले कुल–वंशको दियो भई बल्नू। तँलाई मैले देका आशिक थपथप लागिरचन्। अझै लागून्।’ बाले टीको लाइदिएर लामो आशिक दिए। मैले बाका गोडामा पैसा राखेर ढोगें।

त्यसपछि बाकै घरमा पल्लाघरकी आमोई, पल्लाघरका दाइ, सिमलबोटे बा–आमोई र अरू मान्यजनले आशिक दिंदै टीको लाइदिए। मलाई गाउँ नै पुगेजस्तो लाग्यो।

मैले बाका विषयमा ‘माथ्लाघरका बा’ शीर्षक राखेर एउटा लेख लेखेको थिएँ। त्यो लेख अच्युतरमण अधिकारीले सम्पादन/प्रकाशन गर्ने ‘उन्नयन’ पत्रिकामा २०५८ सालमा छापिएको थियो। मैले त्यो पत्रिका बालाई कोसेली स्वरूप एकप्रति बोकेर गएको थिएँ।

‘बा! मैले तपाईंको विषयमा एउटा लेख लेखेर यो किताबमा छपाएको छु।’ मैले बालाई किताब देखाउँदै भनें।

‘हँ, हो र! के लेखिस्? लु पढेर सुना त!’ बाले एकछिन किताब हातमा लिएर छामे अनि खुसी हुँदै मलाई पढ्न दिए।

त्यस्तै चार–पाँच पेज जतिको थियो होला त्यो संस्मरण। मैले सर्र पढें। वरिपरि अघिका बन्धुगण सबै झ्याम्मिएकै थिए। अरू पनि थपिए। मैले त्यो लेख पढिसक्दा बाले बीच–बीचमा निकै चोटि आँसु पुछे।

‘स्याबास्! बैदार! तेरो जयजय होस्। तँलाई कुल–पितृले सधैं कल्याण गरून्। तैंले मेरो यत्रा कुरा सम्झेको रचस्। अहिले कति कुरा बुढो भर मैले नै बिर्सिसकें। तैंले मेरो बखान गरेर यत्रो लेखिस्। म अनपढ मान्चेको यत्रो कीर्ति राख्दिस्। तेरो पनि ठूलो–ठूलो कीर्ति रहोस्।’ बाले मेरो टाउकामा हात राखेर फेरि आशिक दिए।

हामी त्यो दिन पल्लाघरका दाइकोमा बसेर भोलिपल्ट बिहानै खोर्साने फर्कियौं। मैले बासँग बिदा मागें।

‘लु बैदार जा! अब भेट हुन्छ कि हुँदैन। तँ मेरो प्यारो मान्चे। सम्झेर आइस्। यता आएपछि एकचोटि देख्न पाउँचु कि पाउँदिनँ भन्ने थियो। देख्न पाएँ। लु जा है! तेरो भलो हुन्छ।’ बा फेरि रोए। मलाई पनि भक्कानो छुटेर आयो।

वसन्त पर पुगिसकेको थियो। उसलाई भेट्न मैले छिटोछिटो पाइला अघि बढाएँ। अलि पर घुम्तीनिर पुगेपछि एकचोटि पछि फर्केर हेरें। बा र अरू निकै जना हामीतिरै हेरिरहे।

त्यसपछि बासँग फेरि भेट भएन। बा २०६३ सालको कात्तिकमा बिते।

२०७८ वैशाख ३१, नारानथान

(‘माथ्लाघरका बा’ शीर्षकको त्यो संस्मरण छापिएको ‘उन्नयन’ एकप्रति आफूलाई राखी एकप्रति मैले भागलपुर बाको साथ छोडिदिएको थिएँ। अहिले ती दुवै प्रति बेपत्ता भए। अनेक खोजीनिती गर्दा पनि कतै उपलब्ध हुन सकेनन्। सायद धेरै जनाले पढ्ने क्रममा कतै गायब भएको हुन सक्छ। आफूसँग ऊ बेलाको हस्तलिखित प्रति पनि नभएपछि केही थपघट गरी सम्झनाका आधारमा मैले ‘माथ्लाघरका बा’ फेरि लेखें।)

प्रकाशित: १९ चैत्र २०७८ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App