कला

एक कल फोन

लघुकथा

रेणु अधिकारी मौनता

‘भोलिको कार्यक्रम छ। आजसम्म कार्यक्रमस्थलको टुंगो लागेको छैन। खोई विनय सरले कुन स्कुलको हल उपलब्ध गराउँछु भन्नुभएको पनि खबरै गर्नुभएन।’ संस्थाका अध्यक्ष भुतभुताउन थाल्नुभयो।

‘हाम्रो नजिक एउटा जिम हल छ त, त्यहीं कुरा गरौ न।  बरु के कति दिनुपर्छ दिऊँला।’ सचिवले एकछिनको मौनतालाई भंग गर्दै भन्नुभयो।

‘हुन्छ,त्यसै गरौं।’ अरू सदस्यहरूले पनि सहमति जनाउनुभयो।

सचिवले जिम हलका अध्यक्षलाई बोलाएर लेराउनुभयो।

‘भोलि हाम्रो साहित्यिक कार्यक्रम छ। यहाँले हल उपलब्ध  गराइदिनुपयो सर।’ नम्र भएर अनुरोध गर्नुभयो अध्यक्षज्यूले।

‘हुन त हुन्छ तर हाम्रामा टेबलकुर्सीहरू र माइक छैन भाडामा लेराउनुपर्छ। सबैको पैसा लाग्छ। कार्यक्रम गर्दा हल फोहोर हुन्छ। सफा गर्ने मान्छे खोज्नुपर्छ। त्यसको छुट्टै चार्ज लाग्छ।’ अलि रुखो स्वरमा बोल्नुभयो जिमका अध्यक्ष।

‘अरू त ठिक छ,त्यो माइक त हजुरहरूकै हो। त्यसको भाडा नलिनुस् अनि हामीले गरेको फोहोर हामी आफैं सफा गर्छौ , त्यसको पनि चार्ज नलिनुस्। हामी आफैले पैसा उठाएर गर्न लागेको कार्यक्रम हो त्यत्ति सहयोग गरिदिनुस् न।’ सचिवले अनुरोध गर्नुभयो।

‘हुन्न्,कहाँ हुन्छ! भन्ने बेला सबै त्यसै भन्छन् पछि सबै फोहोर छाडेर  हिंड्छन्। त्यसो हो भने म हल दिन्न।’ रातो अनुहार बनाएर कड्किनुभयो जिमका अध्यक्ष।

लगत्तै उहाँको फोनको घण्टी बज्यो। फोनमा कुरा सकिनेबित्तिकै निकै नम्र भएर दुई हात जोड्दै भन्नुभयो, ‘हुन्छ म हल र भोलि त्यहाँ चाहिने सबै सामाग्री उपलब्ध गराउँछु। हजुरहरूले शुल्क तिर्नु पर्दैन। आखिर साहित्य हाम्रो असल राष्ट्र निर्माण गर्ने चेतनाको दियो हो नि। यसमा मेरो पनि त दायित्व छ।’                                             

प्रकाशित: १२ चैत्र २०७८ ०५:४८ शनिबार

अक्षर