कला

मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ

मुक्तक

अमृता पोख्रेल

१) मुक्तक

असत्यले सत्यको पाउमा छुनेछ पक्कै एक दिन,

पीडक मान्छे पश्चातापमा रुनेछ पक्कै एक दिन।

चुसियो रस, निमोठेर फाल्छु सकिन्छ नसोच्नु,

पर्ख तिम्रो स्वार्थको हिसाब हुनेछ पक्कै एक दिन।

  २) मुक्तक

सम्झनामा बैंस गयो गल्ती यत्ति भयो,

पश्चातापमा मुटु रह्यो गल्ती यत्ति भयो।

मेरो माया, मेरो मुट,मेरो प्राण लेखिएको,

दिन बाँकी पत्र छ,यो गल्ती यत्ति भयो।

  ३) मुक्तक

अधुरा सपनाले रातमा पनि निद लाग्दैन,

तैपनि यी आँखाहरू सपना देखेर थाक्दैन।

लाचार सम्झेर दुखको तीर फाल्न नखोज,

अब त दुखले दुखाउन सक्ने औकात राख्दैन।

 ४) मुक्तक

नसोच्नु कसैको दबाबले म झुकेर रुनेछु,

स्वतन्त्र भएर साथैमा बस्ने सपना बुनेछु।

जतिसुकै परीक्षा लिई छुट छ तँलाइ जिन्दगी,

सके उसैको हुनेछु नसके भगवानको हुनेछु।

  ५) मुक्तक

चामलकै लागि भए पनि धान कुटिनुपर्छ,

बोटकै लागि भए पनि बिउ फुटिनुपर्छ।

म खुशी हुन तिमीसँगै हुनुपर्छ नभन्नुस् न,

मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ।

प्रकाशित: १२ चैत्र २०७८ ०५:०८ शनिबार

अक्षर