निर्मला कुँवर
(१) मुक्तक
मलाई गर्भमा बोकेर आमाले, गाउँ र बेसी धाएकी हुन्,
पौष्टिक आहार कहाँ पाउनु,अभावमा आधा पेट खाएकी हुन्।
म जन्मने व्यथा लाग्दा, न अस्पताल न त स्वास्थ्यकर्मी,
कति दिनको व्यथा सहेर, मझेरीमै मलाई पाएकी हुन्।
(२) मुक्तक
जनाउन त यो देशलाई,कृषिप्रधान देश भनेर जनाइन्छ,
दुरदर्शिता छैन केही,खेतीयोग्य भूमिमा घर बनाइन्छ।
अरू देशको खाद्यन्न ल्याई,गरिन्छ कृषि क्रान्तिको कुरा
जमिन बाँझै छन् तर,गमलामा धान दिवश मनाइन्छ।
(३) मुक्तक
छक्क पर्छु अचेल म, मान्छेहरूको मन देखेर,
पाप गर्न पछि पर्दैनन्,अरू कसैको धन देखेर।
आफ्नै मान्छे शत्रु भई,सर्वनाश गरेको देख्छु,
मुटु काँप्छ यो समाजमा,यस्ता मान्छे झन् देखेर।
(४) मुक्तक
यो देशमा बलात्कारसम्बन्धी,कडा कानुन बनाउनुपर्छ,
बलात्कारीको निधार खोपेर, बलात्कारी हो भन्ने जनाउनुपर्छ।
जसले बलात्कारपछि,निर्ममतापूर्वक हत्या गर्छन्,
त्यस्तालाई जिउँदै जलाएर, खुशियाली मनाउनुपर्छ।
(५) मुक्तक
जिन्दगानी फुलोस्–फलोस्, जता पनि मन मिलाउने मान्छेको,
दशतिर माया लगाई,झूटो आश्वासन दिलाउने मान्छेको।
हाँसोखुसीमै बितोस् जीवन,कहिल्यै रुनु नपरोस् उसले,
अमृत पिलाउँछु भनेर मलाई,झुक्याई विष पिलाउने मान्छेको।
प्रकाशित: १२ चैत्र २०७८ ०४:५० शनिबार