कला

चियाइरहेको डायरी

लघुकथा

ढाकामोहन बराल

विद्यालयको प्रांगणमा सबै गाउँले भेला भइसकेका थिए। आज जिल्लाका प्रमुख नेता गाउँमा आउने र गाउँबासीहरूसँग छलफल गर्ने कार्यक्रम थियो। केही समयमा नेताजी एकजना सहयोगीका साथ आइपुग्नुभयो। गाउँका मान्छेहरू एकएक गर्दै समस्या भन्दै गए।

नेताजीले सहयोगीलाई डायरीमा टिप्न लगाउँदै चर्को स्वरमा गाउँलेले सुन्ने गरेर भन्नुभयो, ‘सबै मिलाएर टिप्नु होला, कुनै रातो किताबमा पार्नुपर्छ, कुनै सांसद् विकास कोष र स्थानीयले निकायको बजेटमा पारेर अगाडि बढाइहाल्नुपर्दछ। काठमाडौं जानेबित्तिकै यही विषयलाई लिएर अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग जान्छु।’

करीव साढे दुई घण्टाको कार्यक्रम सकेर नेताजी फर्कनुभयो।  तीन घण्टा जति हिंडेपछि उनीहरू नदीको झोलुङे पुल तरेर राजमार्गमा आइपुगे जहाँ व्यापारीले मिलाइदिएको एउटा जिप पर्खेर बसेको थियो।

नेताजीले भन्नुभयो, ‘आज त निकै थाकियो, यतै कतै कुनै गतिलो रिसोर्ट छैन? एकछिन चिसो बियर पिएर बसौं न है?’

गुरुजी पनि ‘हस् हजुर’ भन्दै एक सानदार रिसोर्टतर्फ गाडी घुमाए। बियर पिएर रिल्याक्स गरेका नेताजीलाई यतै बस्न मन लाग्यो र उनीहरू आज यतै बसे। भोलिपल्ट उनीहरू जानै लाग्दा डस्टिवनबाट उनले फालेको डायरीले चियाइरहेको थियो।

प्रकाशित: ३ चैत्र २०७८ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App