सूर्यप्रसाद लाकोजू
‘तपाईप्रति मेरो ठूलो गुनासो छ।’
‘किन होला? मैले के गरें र त्यस्तो?’
‘हैन सधैं आफूले संस्था नवीकरण गर्ने भएपछि यो वर्षको गरिदिनु पर्दैन?’
‘संस्थामा नयाँ कार्यसमिति आइसकेको छ। तपाई आफैं अध्यक्ष भएको पनि एक वर्ष भैसकेको छ। अहिले म कार्यसमिति सदस्य समेत छुइनँ अनि मैले कसरी संस्था नवीकरण गर्नू? यो जिम्मा अब तपाईहरूको हो नि।’
‘हैन कम्तीमा भन्नु त पर्छ।’
‘मैले के भन्ने? अधिवेशनका बेलामा पूरै फाइनल बनाएर मलाई सदस्यमा समेत हराउनुभयो। अहिले काम गर्नुपर्दा ज्वरो निकालेर हुन्छ? कि हारेकाले संस्थाको नवीकरण गर्नुपर्छ भनेर विधानमा लेख्निुस्।’
बखतमान र रविन्द्रको विवाद चलिरहेको थियो। बखतमानले संस्थामा कार्यसमिति सदस्य भएर काम गरेको पनि दुई कार्यकाल भैसकेको थियो। पछिल्लो कार्यकालमा उनी संस्थाको सहसचिव थिए। उनी संस्थामा पसेदेखि संस्थाको अडिट गराउने, नवीकरण गराउने सबै काम आफैले गर्थे, रहरले होइन करले।
संस्थाका यस्ता काम गर्ने अरू कोही नभएपछि उनी आफैं अघि लाग्नुपर्ने बाध्यता भयो। सामाजिक संस्थामा मानिस केही दिन आउने हो। लिने केही कुरा हुन्न यहाँ। यस्ता संस्थाहरूमा काम गर्ने भनेको मात्र सोसियल स्टाटसका लागि हो। यस्तै कुरा सोचेर काममा मन लगाउँथे बखतमान। उनले जिन्दगीमा जानेर कुनै पनि काममा गैरजिम्मेवार बनेको कसैलाई थाह थिएन। भावुक र स्वाभिमानी बखतमानलाई कसैले त्यसरी गुनासो गरेको थिएन तर आज चौबाटामा उभिएर ‘किन नवीकरण नगरेको?’भन्ने प्रश्नले उनको संवेदनशीलताको तलाउमा तरङ्ग आएको छ।
दिन सकिएर साँझ झुल्किसकेको थियो। पश्चिमतिर सर्दै गएको सूर्य मधुरो बन्दै थियो। उनको मुहार पनि साँझतिर ढल्कँदै गएको सूर्यजस्तै मलिन हुँदै थियो।
बखतमानको निन्याउरो अनुहार देखेर उनकी श्रीमती मिरा बोलिन्,‘हैन सधैं घर पस्दा मलाई बोलाउँदै हाँस्दै पस्नुहुन्थ्यो। आज तपाई आउनुभएकै थाहा भएन। अनुहार पनि निलोकालो देख्छु त। के भयो तपाईलाई?’
‘केही होइन, केही भएको छैन।’
‘हैन केही त अवश्य भएको छ। तपाईकी पत्नी हुँ। त्यति त थाहा भैहाल्छ नि।’
‘कस्तो मान्छे, केही भएको छैन के।’
‘खानु त मेरो कसम...।’
‘आइमाई भएर किन बढ्ता जान्ने हुनुपर्ने?’ बखतमान जुरुक्क उठेर बैठकमा गएर सोफामा पल्टियो। टेलिभिजन खोल्यो अनि समाचार हेर्न थाल्यो तर उनको ध्यान समाचारमा केन्द्रित हुनै सकिरहेको थिएन।
‘आफूले गर्नै नपर्ने कामको अपजस पनि आफैले लिनुपर्ने...कस्ता मान्छे? कस्तो अध्यक्ष...।’ उनको मनमा उठेको ज्वारभाटा थामिएन। अस्थिर मनका कारण उनलाई एकैठाउँमा बस्न पनि कठिन भइरहेको थियो।
‘अध्यक्ष भएपछि आफैले गर्नू नि। म कारिन्दा हुँ र त्यहाँको? तरीका हुन्छ नि मान्छेको।’ मनमा कुरा खेल्न छोडेको होइन उनको।
‘फेरि एकपल्ट भनेको भए पनि म गरिदिन्थे नि। कस्तो अपजस दिन जानेका। खाएको विष त नलाग्ने समयमा नखाएको विष लगाउन खोज्ने। कस्तो जमाना।’ अशान्त मनमा कुराका छाल शान्त हुन मान्दैन। उनको अशान्त मनका छाल कहिलेकाहीं ओठसम्म पुगेर भत्भताउन थाल्थ्यो।
‘चार जना मान्छेका अगाडि ठूलै अपराध गरेको जस्तै गरेर बोल्छ। के बिगार गरेको छु र मैले? मैले जतिको काम गर्ने को मान्छे आएका छन् संस्थामा? सदस्यहरू पनि ठिक्कका राम्राभन्दा गफाडीहरूलाई भोट दिएर जिताए...।’ उनको फतफत खाना खान बोलाउन आएकी श्रीमती मीराको कानमा परिहाल्यो।
‘हैन के एक्लै फतफताइरहनुभएको भन्या?’
‘केही हैन भन्या। जाऔं खाना खान।’
खाना खाईवरी दुवै दम्पती छिटै ओछ्यानतिर घुसे। आज उनको मुड पूरै बिग्रिएको थियो। त्यसैले हिजोअस्तिको जस्तो बोलचाल, हँसीमजाक चलेन। बूढाको ताल देखेर मीरा रिसाउनुको बदला छक्क परिन्।
सधैं चाँडै निदाउने मान्छे आज निदाउन सकेको थिएन। मीरालाई निन्द्राले झ्याप्प छोप्दा पनि बखतमान भने हँहँ मात्र गरिरह्यो। बूढा आज आफू पनि नसुत्ने भयो, मलाई पनि नसुताउने भयो।’ श्रीमानको पिर लाग्यो मिरालाई।
‘आ...,गाली खानुपरे पनि फेरि एकपल्ट सोध्नुपर्यो।’ मिराले मनमनै गुनिन्।
‘हैन के भयो तपाईलाई? तपाईलाई अवश्य केही भएको छ। भन्नु त मलाई।’
‘मेरो कुरा जानेर के गर्छु भन्ठानेकी छे यसले? कति जान्ने हुनुपर्ने?’ बखतमान मनमनै बोले तर भन्नचाहिं ‘केही होइन।’ मात्र भने।
‘तपाईं मेरो श्रीमान् होइन? तपाईको दुख मेरो दुख अनि तपाईको सुख मेरो सुख भन्या हैन? मलाई नै भन्न नमिल्ने कस्तो कुरा रहेछ हँ जुन कुराले पूर्णिमाको जूनजस्तै चम्कने अनुहारमा ग्रहण लगाएको छ? हामी आइमाई नै भए पनि हामीलाई नि भगवान्ले केही दिमाग त दिएका छन् नि।’ बूढी कड्किन्।
बल्ल बखतमानले चुरो कुरो खोल्दै भने, ‘हेर न मिरा आज बजारबाट फर्किरहेको बेलामा त्यो हाम्रो संस्थाको नयाँ अध्यक्ष छन् नि, तिनले मलाई सबैको अगाडि अपराधीलाई जस्तै उभ्याए।’
‘किन?’
‘संस्थाको नवीकरण गरिदिएन रे मैले।’
‘अहिले पनि तपाईकै जिम्मा रे? लाज नभएकाहरू। आफ्नो जिम्मेवारी त आफैले पो वहन गर्नुपर्छ।’
‘त्यही त तर उनीहरूको रवाफ पैसाको मात्र हो। पैसाले सबथोक किन्न पाइन्छ भन्ने ठानेका छन् तिनीहरूले।’
‘हेर्नुस् रत्नको बाबा, हामीलाई पनि सबैको पुगिसरी छ। उता छोराले पनि बोलाएको छ। तपाई यतै बसेर आफ्नो ठाउँमा केही गर्नुपर्छ भनेर बस्नुभयो।’
‘के मैले यतै बसेर गल्ती गरें र? धेरै समय जागिरमा बिताइयो। अब बाँकी समाजको सकारात्मक परिवर्तनका लागि समर्पण गर्नु त राम्रै हो जस्तो लाग्छ। समाजका लागि केही राम्रो गर्न पाउँदा बल्ल मान्छे भएको अनुभूति हुन्छ।’
‘त्यसो भनेकी होइन। तपाईले गर्नुभएको काम पनि राम्रै छ। छोरो पढाइका लागि पो विदेश गएको हो त। पछि त फर्किहाल्छ नि।’ मिरा बोलिन्।
हेर्नुस् हजुर, ढिलो चाँडो मात्र हो। त्यस्ता मान्छेको भलोचाहिं हुन्न है। राम्रो मान्छेले राम्रै कुरा दिन्छ भने नराम्रो मान्छेले नराम्रै कुरा दिन्छ। विषवृक्षमा विषै त फल्छ नि।
‘त्यो त हो।’
‘अनि....त्यस्तो जावो कुरामा तपाई किन चिन्ता लिनुहुन्छ। चिन्ता त अब उनीहरूले लिनुपर्छ। आफ्नो दोषको भारी अरूको काँधमा बिसाएर पानीमाथिको ओभानो हुन खोज्या होलान् तर जमाना त्यस्तो खराब पनि भैसकेको छैन। मान्छेले बुझिहाल्छन् नि।’
श्रीमती मिराको कुराले बखतमानलाई ठूलो राहत मिल्यो। त्यसपछि मनभरि सन्तोष भरेर बल्ल बखतमान निन्द्रादेवीको काखमा रमाए।
प्रकाशित: २५ फाल्गुन २०७८ ०८:२५ बुधबार