कला

यत्ति भए पनि हुन्छ

लघुकथा

डा. कुसुमाकर शर्मा गौतम

निलाले ‘ए बुढा हिँड मर्निङवाक’ भन्दा हिजो ढिलो सुतेको, एकैछिन सुत्न देऊ न!’ भनेर कृष्णकिशोर बिस्तरामै पल्टिए। कृष्णकिशोर अल्छी भएका छन् आजकाल। बिहानीपखको बेला झ्याप्पै निदाए।

निद्रामा उनले आमालाई देखे। साँझ पर्दै थियो। आमा छिमेकीको पर्म तिरेर भर्खर फर्किनुभएको थियो। कृष्णकिशोर स्कुलबाट ल्याएको गृहकार्य गर्दै थिए।

आमाले भन्नुभयो, ‘बाबू कृष्ण, एक कप चिया खुवाउँछस्?’

उनी फुरुङ्ङ परेर बसेको ठाउँबाट जुरुक्क उठे। त्यसरी जुरुक्क उठेका कृष्णकिशोर बिस्तराबाट झन्डै लडे। तन्द्रामै किचेनमा गएर चिया बसाले। आमा जीवित हुँदा यसरी नै आमाले ‘चिया खुवा बाबू!’ भन्दा उनले चिया बनाउँथे।

मुख धोएपछि कृष्णकिशोरले सोच्न थाले–आमा किन सपनामा आउनुभयो? श्राद्ध त अघिल्लो महिना गरेको हो। आमा सपनामा आउनुको केही संकेत छ।

अनि फेरि चियातिर हेरे। चिया पकाउन के गाह्रो छ र? चिया, दूध र चिनी अड्कलेर दिउरीमा हाल्यो अनि चुलो बाल्यो। दाँत ब्रुुस गरिसक्दा चिया पनि पाकीसक्छ।

चिया पाकेपछि आमाप्रति कृतज्ञ हुँदै दुई वटा कपमा चिया लिएर ड्रइङ रुममा आए। ठीक त्यहीबेला नीला पनि मर्निङ वाकबाट फर्किइन्। भित्र पस्दा नै चियाको बासना आयो अनि पतिलाई जिस्काइन्, ‘ओहो चिया पाकेछ त बिहानै!’

‘हो त नि! आज नारी दिवस, शुभकामना।’

उनको उज्यालिएको मुहारमा शंकाका धर्काहरू देखेर कृष्णकिशोर बोले, ‘अबदेखि सधैं बिहानको चिया मेरो तर्फबाट।’

जवाफ आयो, ‘अरू नारीका श्रीमानबाट पनि यत्ति भइदिए कति राहत हुन्थ्यो नारी वर्गलाई।’

प्रकाशित: २५ फाल्गुन २०७८ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App