कला

अस्वीकारको अधिकार

लघुकथा

ढाका मोहन बराल

एउटा हातले समाउन नमिल्ने ठूलो कागज लियो र स्कूलको कोठाभित्र पस्यो हर्कबहादुर। कागजको सिरानको चित्र  हेर्‍यो अनि पोहोर साल खोलो गाउँमा पसेर महिना दिन खान नपाएको सम्झ्यो। त्यसपछि अर्को चित्रमा  हेर्‍यो दस वर्षसम्म उस्तै रहेको बाटोको याद आयो।

फेरि अर्को चित्रमा ध्यान गयो मुखियाको कुकुरले खाने खाना र आफ्नो छोराको भोकको अनुमान गर्‍यो। त्यसै गरेर क्रमशः सबै चित्र माथिबाट तलसम्म एकएक हेर्दै गयो। उसलाई माइलाको मलेसियामा तामिलले हिर्काएको खतको याद आयो , सिनो फालेन भनेर खाएको बाबुसाहेवको भाटा सम्झ्यो, ‘ग्याँस किनौं खल्ती रित्तै, दाउरा काटौं जंगल छैन’ भन्दै भोकै बसेको याद आयो, सार्वजनिक जग्गा घट्दै गएको, महलहरू बढेको तर आफ्नो छाप्रो उस्तै भएको देख्यो। उसले ओठ फर्कायो। हातमा ल्याएको छापले सबै चित्रमा पर्ने गरी रंगाइदियो र कागजलाई पट्यायो। बाहिर निस्क्यो।

‘कति समय लगाएको हो। भयो अब, त्यो बाकसमा खसाल्नुस् र जानुस्’ ढोकाबाहिर खटिएको कर्मचारीले करायो। उसले बाकसमा कागज छिरायो फटाफट स्कुल कम्पाउण्डबाट बाहिर निस्कियो। तर, थाहा छैन बाकस खन्याउँदा कसैले पत्ता पायो वा पाएन उसले लोकतन्त्रको सबैभन्दा नयाँ अस्वीकारको अधिकार प्रयोग गर्नुपरेको ।

प्रकाशित: २३ फाल्गुन २०७८ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App