कला

मान्छे

कविता

शेखरकुमार श्रेष्ठ

जन्मनु मृत्यु भेट्नु हो

बिर्सन्छ, मान्छे।

आमाको काख हुँदै  

नारी पुरुष

पुरुष नारीको नग्नतामा

रम्दै रमाउँदै

आफैं  नांगिन्छ, मान्छे

जन्मनु मृत्यु भेट्नु हो

बिर्सन्छ, मान्छे।  

मेरो परिवार,

मेरो आफन्त भन्दै

सबैमा मेरोको अभिषेक गर्दै

जीवनको समय उपहार चढाउँदै

रिसाउनेलाई फकाउँदै

आफ्नो र अर्काको अन्तर ठम्याउँदै

आफ्नै समय भुलिदिन्छ, मान्छे

जन्मनु मृत्यु भेट्नु हो

बिर्सन्छ, मान्छे।

घरलाई चिहान बनाउँदै

समाज र राष्ट्र मलामी बनाउन

पलपलमा मृत्यु भेटेर

मृत्युसँग तर्केर

शोक नगरी

सोखमा रमेर

भेटघाट र भोज भन्दै

व्यस्त बन्छ, मान्छे

जन्मनु मृत्यु भेट्नु हो

बिर्सन्छ, मान्छे।

आफन्तको मृत्यु कुरेर 

दागबत्ती दिन तयार

निर्जीव मासुको गन्धलाई

पिनाले नुहाई घिउको वास लिन

आशोच बारेर चोखो बन्न

आफ्नै मृत्यु बिर्सन्छ, मान्छे

जन्मनु मृत्यु भेट्नु हो

बिर्सन्छ, मान्छे।

युद्ध जित होइन जान्दछ

फेरि युद्ध नै गर्दछ

सम्पत्ति श्री होइनफेरि स्वार्थमा पर्दछ

आफू बाँच्न

अरूलाई मार्छ मान्छे

जन्मनु मृत्यु भेट्नु हो

बिर्सन्छ, मान्छे।

प्रकाशित: २३ फाल्गुन २०७८ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App