खेमराज पोखरेल
ऊसँग अचम्मले भेट भयो काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा। उस्तै रहेछ यो सन्तु। चरिचुच्चे नाक, भाटे शरीर, खोपिल्टे आँखा, हाँस्दा बत्तिसै दन्त देखाएर उन्मुक्त हाँस्ने।
‘अरे सन्तु तिमी?’ मैले लगभग उसलाई कोट्याएँ। धैर्य गर्न सकिनँ। उसले के सोच्यो कुन्नि, मैले ‘हग’ गर्ने संकेत गरें। ऊ सायद त्यही प्रतीक्षामा थियो र द्विविधामा अलमलिएको जस्तो थियो। सायद के भन्छे डल्लीले भन्ने आफ्नै विगतको संकोचभित्र रुमलिएको हुनुपर्छ ऊ। तिनताक ऊ मलाई ‘डल्ली’ भन्थ्यो। उसले डल्ली भनेको मलाई खुब मनपर्थ्यो।
‘हेल्लो, तिमी’ उसले मलाई डल्ली भन्न सकेन। सायद नाम बिस्र्यो होला। तिनताक मेरो नाम नै प्रयोग हुन्नथ्यो। म डल्ली नाममा नै प्रफुल्ल थिएँ। डल्लीले नै मलाई जुरुक्क बोकेको हुन्थ्यो। बाहुनले राखिदिएको मेरो नाम त ‘फुलमाया’ थिएछ। पछि ‘फुल’ हटाएर ‘माया’ मात्रै राखें। म प्रमाणपत्रमा ‘माया’ नामले बेरिएकी छु।
हगरूपी अँगालाबाट फुत्केपछि हामीले ‘वेटिङ रुम’ कै एयरपोर्ट क्याफेबाट दुई कप कफी लियौं। ऊ खुलेको थिएन। ऊ ‘फरम्यालिटी’ मै थियो। मैले झट्ट प्रश्न गरें, ‘मेरो नाम त तिमीलाई थाहा छैन होला तर किन तिमीले डल्ली भन्न सकेनौ ?’
‘किन थाहा नहुनु तिम्रो नाम मलाई?’
‘ल भन त’ ऊ परीक्षा दिएझैं तिलमिलाएको थियो। एकछिन सोच्यो र रातो अनुहार लाउँदै भन्यो,‘फुलमाया।’
‘होइन म कि त तिम्रो डल्ली हुँ कि प्रमाणपत्रले संसारभरि पहिचान दिएकी ‘माया’ हुँ।’
‘उही त हो नि फुलमाया वा माया, के फरक पर्छ र नामले?’
‘फरक पार्ने नै नामले हो नि। के तिमी अरूलाई ‘डल्ली’ भनी बोलाउन सक्छौ?’
हामी दुवै संयोगले कतार एयरबाट अवुधाबी, त्यहाँ तेह्र घण्टाको ट्रान्जिटपछि ऊ अमेरिकाको ह्विस्टन र म पेरिस। हाम्रो यात्रा यत्ति थियो। अहिले बाइस वर्षपछि हामी भेटिएका थियौं। संयोग। मान्छे यस्तै संयोगमै बाँच्ने त हो नि। मिलन–बिछोड, संयोग र वियोग यी आउँछन् र जान्छन्। यी मान्छेभित्र रहेका चैतन्यरूपी भ्रम हुन्।
‘अचेल के गर्दैछ्यौ तिमी?’
‘अझै डल्ली भन्न सकेनौ हगि तिमीले मलाई? म तिमीलाई सजिलै ‘सन्तु’ भनिरहेको छु तिमी भने...!’
‘ती त भूतका गर्भभित्र कैद भएका छन्। तिमी डल्ली हुँदै फुलमाया र मायामा रूपान्तरण भइसकेकी छ्यौ र म पनि तिम्रो सन्तुमा सीमित कहाँ छु र? सन्तोष हुँदै म डा. स्यान्टोस भइसकेको छु। मान्छेहरूको भिडमा डाक्टर स्यान्टोस।’
‘ए अँ, मैले पेरिस विश्वविद्यालयबाट ‘इम्प्याक्ट अफ इल्युजन अन ह्युमन लाइफ, साइकोलजिकल एप्रोच’ भन्ने विषयमा विद्यावारिधि गरेर त्यहीं पढाउँछु।’
‘ओ डाक्टर माया!’ ऊ अचम्मित भयो।
बोर्डिङ टाइम भइसकेको थियो। करिब चार घण्टाको उडानपछि पुगिएको अवुधाबी एयरपोर्टमा मैले भनें,‘एउटै होटलमा बसौं है।’
एयर कम्पनीले नै होटलको व्यवस्था गरेको थियो।
उसले जिज्ञासा राख्यो,‘कसरी सम्भव हुन्छ?’
अलिकति डराएको पनि थियो।
‘मसँग आइडिया छ’ मैले उसलाई तानेर एयरपोर्टभित्रैको अलि लग्जरियस क्याफेमा लगे। दुई कप कफी अर्डर गरें। दुइटा स्विट डोनट पनि।
सामानभन्दा पहिले सेक्युरिटी आयो र हाम्रो कागजात माग्न थाल्यो। त्यो रेस्टुरेन्ट खालि वैधानिक ‘कपल’का लागि मात्र थियो। उसको अनुहार बेचैन भएको थियो।
मैले सन्तुलाई भनें, ‘हेर, अब हामीसँग तीन विकल्प छन्। सबैभन्दा सजिलो यो श्रीमान्–श्रीमतीको फर्ममा सही गरिदेऊ। तिमी श्रीमान् श्रीमती। प्रमाण मसँग छ। त्यो तिमी मान्दैनौ भने तिमीले महिलालाई फकाएर ल्याएको जरिवाना तिर्नुपर्छ र त्यो ठुलो धनराशि हुन्छ। तिमीलाई चौबिस घण्टा थुन्छ वा मैले त्यो हाकिमसँग एक रात बिताउनुपर्छ।’
ऊ कागजमा श्रीमान् बन्न तयार भयो। मैले मेरी छोरीको बाबु ‘सन्तोषप्रसाद बजगाई’ लेखिएको डिएनए गरिएको कागजको फोटोकपी दिएँ। सेक्युरिटीले हामी श्रीमान्–श्रीमती भएको परिचय दियो। होटलमा एउटै कोठा पायौं। हामी मुक्त भयौं तर उसलाई भने टाउकोमा भुत्भुते खनाइदिएझैं भएको थियो।
होटलको कोठामा ऊ र म मात्र। होटलको कोठाको ढोका श्रीमान्–श्रीमतीको हैसियतमा बन्द। यो जीवनको पहिलो घटना थियो। मैले लुगा फेरें। ऊ डङरङ्ङ खाटमा पल्टियो। लुगा फेरेन। मैले उसलाई भनें ‘तिमी नडराऊ।’
‘तिम्रो छोरीसँग मेरो डिएनए कसरी म्याच भयो?’
मैले छोरीको फोटो देखाउँदै भनें,‘हेर काट्टीकुट्टी तिमीजस्तै छे, तिमीजस्तै च्याँसे आर्य अनुहार।’
‘यो हुनै सक्दैन। डिएनएचाहिं कसरी सम्भव भयो?’
‘अमेरिकन पुलिसले सम्भव गरायो। एकपल्ट तिमीलाई पुलिसले समातेर डिएनए स्याम्पल लिएको थियो नि, हो त्यो मेरो निवेदनका आधारमा भएको थियो।’
‘...!’ उसको निधारमा चिटचिट पसीना आइरहेको थियो।
‘तिमी पहिलाझैं स्वतन्त्र छौं।’
‘भन न त कुरा के हो?’ ऊ अलि आश्वस्त भएझैं लाग्यो।
‘हाम्रो थाकलको झ्याङभित्रको झन्डै दुई वर्षको ...!’ मेरो कुरा पूरा हुनै नदिई उसले भनिहाल्यो, ‘त्यो हाम्रो जीवनको भुल थियो र बिर्सनुपर्ने क्षण हो। तिमीले अझै बिर्सेकी छैनौ?’
‘त्यो बिर्सने वस्तु होइन सन्तु, ती दिन कति रमाइला थिए। तिमी अनाडी म अनाडी, तिमी भर्जिन म भर्जिन र हाम्रो ‘अनस्किल्ड’, बेपरवाह सम्बन्ध। तिमी डिट्ठा रौद्रमणिका नाति म सामान्य कृषि मजदुर तामाङकी छोरी तर दुवैमा केही फरक थिएन। हामी समान थियौं। तिमी मलाई पाउन लालयित हुुन्थ्यौ। म त्यस्तै। हो तिमीले पक्का पनि बिर्सेका छैनौ थाकलको झ्याङबाट हामीलाई अद्र्घनग्न अवस्थामा तिम्रा बाले स्वाँट्ठा लाउँदै लगेका थिए। त्यो दिनदेखि तिमी हरायौ। कहिल्यै भेटिएनौ। बल्ल आज संयोगले बाइस वर्षपछि।’
उसले बल्ल लुगा फेरेको छ। फ्रेस भएको छ। खाना आएको छ।
मैले नै उसलाई भनें,‘चिसो छ, एक पेग लिने?’
उसले संकोच मानेर भन्यो, ‘म त जेनेरली लिन्नँ, तर....।’
‘तिमी काठमाडौं लगियौ। तिम्रो बिहे तुरुन्त भयो। कुलकी घरानियाँ सुकन्यासँग। एउटी ‘भर्जिन’सँग। जिम्मावाल दण्डपाणिकी नातिनीसँग। श्रीमतीलाई घरमा राखेर तिमीले रत्नपार्क चहारेको कुरा पनि मलाई थाहा छ। बानी जो लागेको थियो। खोई किन हो यी पत्रु लोग्नेमान्छेहरू पनि घरानियाँ भर्जिन चाहन्छन्। के यो बेइमानी होइन?’
‘....’ ऊ बोलेन।
‘अनि सुन, तिमीलाई आज भनिदिऊँ कि तिम्री श्रीमती पनि भर्जिन थिइनन्। तिम्रो बिहे किन उसको मावलबाट भएको हो था’छ? किनकि तिम्री घरानियाँ भर्जिन बाहुनीलाई साइँला सुन्च्यौरीले दिउँसै थाकलको झ्याङमा लगेर बलात्कार गरेको थियो। बिचरी चिच्याएकी थिइन्। निर्दोष थिइन्। अजङ्गको साइँलाको अगाडि बिचरीको केही लागेन। थाकलका बुटाहरूले उसको चिच्याहटमा हल्लीहल्ली समवेदना देखाए तर परपरसम्म उनको उद्घार गर्ने कोही थिएन। उनले यो कुरा आमालाई बताइन्। उनको बिहे तुरून्त तिमीसँग गरिएको थियो मावलबाट। भन्नलाई जुठो बारेको भनिएको थियो। र, साइँलो त्यसै रातबाट बेपत्ता भयो। ऊ बर्दियामा छ भन्थे मान्छेहरू।’
सन्नाटा छाएको थियो। ऊ र म आन्तरिक लुगामा मात्र एउटै बेडमा थियौं।
‘र सुन सन्तु, बिचरी ऊ, त्यो घटना थाहा हुन्छ भन्ने डरले सासूससुराको हेर विचार गरिरहेकी छन्। सबै कुरा तिमीले चाहेजस्तो उसको जीवन चलेको छ। अचेल त काठमाडौं बस्छन् होइन र! तिमी संसारका षोडशीहरू भोग गर्दै हिंडिरहेका छौ। श्रीमतीको कुनै अब्जेक्सन छैन किन? किनकि बिचरा। तिम्रो सामन्ती परिवार चाहन्थ्यो एउटी कन्या लुरुलुरु काम गर्ने, सेवा गर्ने, जीवनसँगी होइन, अर्धांगिनी होइन, श्रीमती पनि होइन, स्वास्नी पनि होइन, बिनापैसाकी नोकर्नी, त्यो तिमीले पायौ, के यो भर्जिनिटी भ्रम होइन? के उसको भर्जिनिटी गुम्नुमा उसको दोष छ? मानौं, थाहा भयो भने आकाश खस्छ, त्यही आकाश नखसाउनका लागि उनी तिम्रो ‘अनपेड मेड’ भएकी छन्। कहिल्यै तिमीले उनका सुस्केरा र उच्छ्वासहरूलाई हेर्ने विचार गर्यौ डाक्टर स्यान्टोस?’
‘अनि सुन, तिमीसँगको सहवासबाट म भारी जिउकी रहिछु। गाउँको मुखिया तामाङले मेरा बालाई भनें, ‘हेर जेठा, तेरी छोरीलाई त्यो बाहुन काठाले बिगारेकै हो। काठालाई भगाइहाले। अब जिम्मा लाउन सकिन्न। मुद्दा कचहरीमा कोखामा दाह्रा भएका यी बाहुनसँग सकिन्न। पहुँचवाला छन्। प्रहरी र न्यायालयले पनि बलेको आगो मात्र ताप्छ। डिठ्ठा साहेबलाई भनेर खर्चपानीको व्यवस्था मै गरिहाल्छु। आखिर हाम्री डल्लीको जात जाने होइन क्यारे। त्यो लठेप्रो जैतुन भुजेललाई जिम्मा लाऊँ।’
मैले पनि सोचें, ‘मेरा आमा बा दुवै तिन जोईले र तिन पोइले नै हुन्। के बिग्रेको छ र? के बाबाले आमालाई गरेको माया अनुपम थिएन त? स्वर्गीय थिएन त?’
पञ्चायत बस्यो–
‘ए जैतुने ल भन्, तैंले डल्लीलाई बिगारेको होस्?’
‘हो’ जैतुनेले मुन्टो हल्लायो।
‘ए डल्ली हो?’
‘हो’ यो हो भनेबापत मलाई रू. एक हजार दिएका थिए। खोई जैतुनेले कति पाएको थियो कुन्नि।
फकाए। थर्काए। यसरी पेटभित्र तिम्रो बच्चा बोकेर म जैतुने भुजेलकी स्वास्नी भएँ। ऊसँग त सहवास पनि भएन। ऊ भाग्यो। मैले जैतुने भुजेलकी छोरी पाएँ। त्यसैअनुसार दर्ता भयो। समाज साक्षी बस्यो।
‘सुन सन्तु, तिमीले मलाई लत लाइदिएका थियौ। मेरो अब के थियो र बिग्रने? तिमी भोग्नुसम्म भोगेर त हरायौ, जैतुने पनि भाग्यो भनेपछि म गाउभरिकी भएँ। बिग्रें। यो जाली समाजका नजरमा म पतित भएँ। जजसले मलाई भोगे, उनैउनै मलाई ‘बेस्से’ भन्दै समाजमा भन्न थाले।’
ऊ चुपचाप मेरा कुरा सुनिरहेको थियो। सन्नाटा थियो। मेरा आँखामा कत्ति पनि आँसु थिएन। किन रुनु? रोयो भने यो जाली समाज झन् अबला भन्दै मर्ममै प्रहार गर्न आतुर हुन्थ्यो।
मैले नै कुरा अगाडि बढाएँ,‘गाउँमा एनजिओ आएको थियो। त्यसका प्रमुख थिए अस्ट्रेलियन नागरिक जोन। मलाई उनकै भान्से बनाइयो। म स्वेच्छाले रखेल भएँ। छोरी साथैमा थिई। जोन भन्थ्यो, ‘माया तिमी त मेरो प्राण हौ। मैले तिमीमा तिन रूप पाएको छु। बिनासर्त माया गर्ने आमाको रूप, मिहीन पाराले सेवा गर्ने श्रीमतीेको रूप र बेपरवाह विश्वास गर्ने असल साथीको रूप।’
सन्तु लाटोजस्तो भएको थियो।
मैले कुरा थपें, ‘ऊ मेरी छोरीलाई खुबै माया गर्थ्यो। मेरा सबै कथा थाहा पाएपछि कहिले त ऊ रुन्थ्यो र भावविह्वल भएर ऊ पटकपटक भन्ने गर्थ्यो, ‘सिली नेपाली सोसाइटी’।
बिहे गरेर मलाई अस्ट्रेलिया लिएर गयो छोरीसहित। छोरी र मेरो पढाइ सुरु भयो। खर्चपानीको समस्या थिएन। जोन भावी भएर आएको जो थियो। छोरी पढ्न अब्बल निस्की तिमीजस्तै। छोरीसँगै मैले पनि पढ्न थालें। मनोविज्ञानमा मास्टर गरें। सिडनी युनिभर्सिटीबाट। पिएचडीका लागि जोनले मलाई हौस्याउँदै थियो तर भाग्यको विडम्बना ऊ कार एक्सिडेन्टमा मर्यो। उसले सारा सम्पत्ति मेरा नाममा लेखिदिएको रहेछ।
जोनको माया लागेर आयो। सबै सम्पत्ति उसकै नाममा ट्रस्ट खोली राखिदिएँ। त्यो ट्रस्टले लोग्नेमान्छेका शोषणमा परेर अभिशप्त बाँचिरहेका मजस्तै स्वास्नीमानिसलाई सहयोग गर्छ। आ, मैले पेरिस विश्वविद्यालयमा पिएचडीको स्कलरसिप पाइसकेकी थिएँ। म अस्ट्रेलियामा नै छोरी छोडेर पेरिस लागें र अहिले म ढिलै भए पनि प्राध्यापक भएकी छु।’
‘अनि छोरी?’ उसले हठात् जिज्ञासा राख्यो।
‘ए अँ छोरीले पनि स्कलरसिप पाएकी छे। ऊ पनि मनोविज्ञानकै मास्टरको विद्यार्थी हो मेलवर्न विश्वविद्यालयको तर जीवनका बारेमा उसले र मैले हेर्ने ‘अप्रोच’ फरक छ।’
‘म मानवजीवनमा भ्रमले पारेका प्रभावहरूमा रमाउँछु। जस्तो तिम्री भर्जिन श्रीमती, तिम्रो खानदान, यौन सम्पर्क, छोरी, तिम्रो बाबु, जैतुने, तिमी, मलाई संसारमा माया, दया र साँचो यौन सिकाउने जोन, थाकलको झ्याङको अनुभव र त्यसमा तड्पिनु वा दङ्ग पर्नु सबैका सबै भ्रम हुन्।’
‘अँ छोरीको अप्रोच भने फरक छ। ऊ भन्छे ‘भ्रमले मान्छे बाँचेको छ। भ्रम भगवान् हो। भ्रमकै भए पनि त्यसको कल्पनाले मान्छे कति प्रफुल्ल हुन्छ? त्यो भ्रमभित्रको प्रपुल्लता के महत्त्वपूर्ण छैन? तपाईको थाकलको झ्याङको अनुभव जसलाई तपाई भ्रम भन्नुहुन्छ तर त्यसको कल्पना मात्रले किन रोमाञ्चक बन्नु हुन्छ? भ्रम र यो रोमाञ्चकता बिचमा कुनै तादात्म्य छैन र?’
छोरीको यो अप्रोचबाट म पुनः मनोविज्ञानका थिएरीमा फर्किएकी छु र मेरा अगाडि थाकलको झ्याङ, तिमी, जैतुने, छोरी, तिम्री श्रीमती, मेरा बाआमा, जोन र समग्र परिवेश उभिन्छ।’
ऊ निकै एकोहोरिएको थियो।
हठात् प्रश्न गर्यो, ‘म छोरीलाई भेट्न सक्छु?’
‘उसलाई सबै थाहा छ, ऊ तिम्री छोरी हो।’
रात निकै छिप्पिइसकेको थियो। ऊ सुत्यो। म सुतें। ऊ मेरो छोरीको बाउ थियो। हामी बिच कुनै पर्दा थिएन।
भोलिपल्ट ऊ उड्यो। म पनि उडें।
प्रकाशित: ११ फाल्गुन २०७८ ०४:०७ बुधबार