योगप्रसाद उपाध्याय चापागाईं
बर्खे बाढीले ढल फुटाएर सडकको बिचमा भ्वाङग पर्यो। नजिक घर भएका जम्मा भए। निवेदन चढाए विभागमा। छिटो गरी ढल बनाएर यातायात सुचारु गर्नुपर्थ्यो तर प्रधानमन्त्री को हुने सम्बन्धमा पार्टी छलफल गर्दागर्दै महिना बित्यो।
‘ढल निर्माणको सिफारिस कसले गर्ने?’ जनतामा आक्रोश बढेर जान थाल्यो। सबैले आफूले चिनेका नेतालाई फोन लगाए। फोन लाग्दै लागेन। फोन किन लागेन? सबैको खोजी र जिज्ञासापछि कारण भेटियो कुइनेटाबाट मटरगाडी छिर्नु पर्दा ढल छेउछाउका तार चुँडिएर झुन्डिरहेका छन्।
मन्त्रीसभा गठन भयो। कोष छुट्याइयो र ढल निर्माणको काम थालियो। पन्ध्र दिन लगाएर ढल निर्माण भयो। तारहरू पनि कम्पनीले मान्छे खटायो। झुन्डिएका तार सबै टिमिक्क कसिए।
यत्तिकैमा एउटा किमती गाडी आयो। गाडीबाट कोटपेन्ट भिरेका, शिरमा ढाकाको टोपी र खुट्टामा टाप कसे जसरी छालाको जुत्ता कसेका अरूभन्दा फरक किसिमका मान्छे आए। तिनले ढलको निर्माण सम्बन्धमा टेलिकम, सडक डिभिजन र ढल निर्माण बिच सम्झौता छ कि छैन त्यो त भनेनन् तर हुकुम गरे, ‘तिमी गाडीको पछाडि डालीमा चढ।’
ढल बनाउँदा फोहोरमा लतपतिएको त्यो मान्छे डालीमा चढ्यो। उसले चिच्याएर त भन्न सकेन तर डिकीमा बस्दा चिसोले कठांग्रिएको जिब्रो लरबरायो, ‘यसरी खेलाँची नगर्थेउ भने तिम्रो घाँटीमा एमसिसिको पासो लाग्ने नै थिएन, नेताज्यू!’
प्रकाशित: ७ फाल्गुन २०७८ ०६:२५ शनिबार