कला

कोसेली

लघुकथा

ढाकामोहन बराल

छोरीको स्कुल ब्याग फाटेछ, किन्नुपर्‍यो भन्दै महेन्द्र पुल बजारको एक फेन्सी पसलमा पसेको थिएँ। साहुजी धेरै व्यस्त थिए।

हुन त ग्राहक एकदुई जना मात्र थिए तर एकजना ग्राहकले निकै धेरै सामान खरिद गर्दै थिए। उनले टिसर्ट,सर्ट,जुत्ता, लुँगी र ब्यागदेखि हरेक प्रकारको सामान खरिद गर्दै थिए।

मतर्फ हेर्दै उक्त ग्राहकले भने, ‘मेरो सबै काम सकिन समय लाग्छ साहुजी। पहिला उहाँलाई दिनुभए हुन्छ।’

म कार्यालयबाट फर्केको थिएँ। साँझ ढिलो घर गएर बितिजाने कुरा केही थिएन। त्यसमाथि हाम्रो नचाहिने कुरामा चासो राख्ने बानीले मलाई पनि उसले खरिद गरेको हेरेर बस्न मन लाग्यो। त्यसैले भने, ‘ठिक छ, ठिक छ! मलाई हतार छैन।’

उनले अरू सामान थप्दै थिए। मूल्यमा सौदाबाजी समेत चल्दै थियो। मलाई भने उत्सुकता बढ्दै जान थाल्यो। मन थाम्न सकिनँ र सोधें, ‘भाइ, किन हो, यति धेरै सामान खरिद गर्नुभएको?’

उनले साहुजीको अनुहारमा हेर्‍यो अनि मतर्फ फर्केर हल्का मुस्कुराए। चिल्लो गाला, गोरो अनुहार र सेतो रंगको ब्रान्डेड टिसर्ट लगाएको उनको हाउभाउ देख्दा हालै विदेशबाट फर्केको जस्तो देखिन्थे।

लामो श्वास फेर्दै भने, ‘हिजो साउदी अरेवियाबाट फर्केको हुँ दाजु। तीन महिना बस्नु छ। एकपटक सबै आफ्न्तकोमा जानुपर्‍यो। विदेशबाट आउँदा केही ल्याएको छ भनेर सबै आशा गर्छन्। बाहिरबाटै सबै ल्याउन मुस्किल छ। म त साउदीको कोसेली पो ल्याउँदै छु दाजु।’

हल्का हाँसे। मेरो मन भने उनले मरभूमिको तातो बालुवामा पोखेको एकएक थोपा पसीना जम्मा गरेको दृश्य कल्पेर भावुक भयो।

प्रकाशित: ७ फाल्गुन २०७८ ०४:३५ शनिबार

अक्षर