समीर पाख्रिन
चोकमा घर लौरीको सूचना पढेपछि शिवशंकर पनि कोटको खल्तीमा राष्ट्रिय झण्डा बोकेर घरबाट निस्कियो। ऊ कुपन्डोल–थापाथली हुँदै माइतीघर मण्डेला पुगेर विरोध जुलुसमा सामेल भयो। उसले पालक पुलुक्क हेर्यो र खल्तीबाट झण्डा निकाल्यो।
विरोध जुलुसमा सहभागी उसको टोलबासीले देख्ने गरी केहीबेर फर्फरायो। नभन्दै टोलका एकजना ठिटाले उसलाई देख्यो र सोध्यो, ‘ए शिवशंकर अंकल पनि पो आउनुभएछ।राम्रो गर्नुभयो। अब यो विरोध जुलुस केहीबेरमै सासंद भवनतिर बढछ।’
शिवशंकर सुनेर मनमनै डरायो।
‘अनि त्यसपछि कता जान्छ बाबु?’ कम्पित आवाजमा उसले ठिटालाई सोध्यो।
‘यो जुलुस ससद् भवन पुगेपछि यसले संसद् भवनलाई चारैतिरबाट घेरा हाल्छ अंकल।’ ठिटाले बडो जोसिलो पारामा भन्यो।
शिवशंकरले हिजो मात्र मन्त्रीज्यूको पिएलाई भेटेर छोरालाई म्यादी प्रहरीमा राखिदिनुपर्यो भनी बिन्ती चढाएर फर्किएको कुरा सम्झियो।
यतिञ्जेल जुलुसले उग्र रूप लिइसकेको थियो। प्रदर्शनकारी सँगसँगै पत्रकारको क्यामेरा पनि उत्तिकै सक्रिय र उत्तेजक बनेको थियो।
कतै पत्रकारको क्यामेरामा परियो भने त खेल बिग्रन्छ भन्ठानी शिवशंकर सबैको आँखा छल्दै नजिकैको खाजा पसलमा लुसुक्क छिरेको मात्र के थियो, उसको आफ्नै टोलको एकजना युट्युब च्यानेलको पत्रकारसित जम्काभेट भयो।
प्रकाशित: ५ फाल्गुन २०७८ ०६:५९ बिहीबार