कला

तिथिभित्रको बेतिथि

लघुकथा

दिप निरीह

आजको उदयीमान महिला नेतृ, सशक्त नारी अधिकारकर्मी ‘दुर्गा खड्गी’ मञ्चमा कड्किदै थिइन, ‘हामी विश्वका सम्पूर्ण नारी महिला हकहित प्राप्ति र संरक्षणका लागि सदैव एक हुनुपर्छ। हरेक नारीको समस्यामा साथ दिनुपर्छ।

धर्म र संस्कृतिको नाममा हामीमाथि लादिएको कुरीति,असामान्य नियम  र रीतिरिवाजको सशक्त रूपमा एक भई विरोध गर्नुपर्छ।’

–मासिक चक्र जस्तो सम्वेदनशील अवस्थामा हिंडिरहेको बेला छाउपडीमा बस्नु बाध्य बनाइन्छ।

–सुत्केरी जस्तो नाजुक अवस्थामा चोखोनितोको बहानामा एउटा नवजात शिशुलाई छातीमा च्यापेर गोठमा हप्तौ गुजार्नुपर्छ।

–के यो अन्धविश्वास र पुरुष दासताको पराकाष्ठता होइन?

के यसको विरोध गर्नु पर्दैन? यस्ता कुरीतिहरूको अन्त गर्नुपर्छ। यसको विरोधमा आवाज उठाउनुपर्छ। महिनावारी जस्तो प्राकृतिक क्रियालाई धर्मको नाममा नारीहरूलाई अछुत त बनाउन पाइँदैन। सुतकको बहानामा अछुत बनाउन पाइन्न।

यो सम्पूर्ण आमा र नारीहरूमाथिको घोर अपमान हो। यसलाई राज्यले घोर अपराधको दर्जामा राखेर कानुन बनाउनुपर्छ र यस्तो स्वार्थी र अपराधिक समाजलाई कानुनको कठघरामा ल्याउनुपर्छ।

–जय नारी अधिकार दिवस...!

–जय नारी मुक्ति दिवस...!

–जय नारी एकता दिवस...!

धन्यवाद...!

हल बेजोड तालीले गुन्जियो...!

घर आउनेबितिकै दुर्गा खड्कीले लोग्नेलाई भाषणको वृतान्त सुनाई, ‘बुझ्नुभो, आज त मेरो भाषण सुनेर यति ताली बज्यो कि ओहो...!’

यतिकै बेला सासू भद्रमतीले बुहारीलाई गुहार लगाइन्,‘ए बुहारी ....?’

–ए दुर्गा बुहारी, कस्तो कमजोरीले फड्को होला जस्तो भयो। अलिकति जाउलो बनाइदेऊ न नानी!

–म पर सरेकी छु आमा,कान्छी नन्दलाई भन्नु न।

प्रकाशित: ४ फाल्गुन २०७८ ०८:५५ बुधबार

अक्षर