कला

दिव्य माया भराऊ

प्रणय विशेष कविता

इन्दिरा प्रयास

नयननयन बोल्छन् प्यारका भेद खोली

तनमन पनि लाग्छन् मातिए आजभोलि

लहलह हरियाली छन् सुनौला बिहानी

किनकिन अति प्यारो लाग्छ यो जिन्दगानी।

 

तलतल लत लाग्ने योवनी मात हो कि?

प्रणय दिवस छुट्टै प्यारको जात हो कि?

विविध किसिमले भावना व्यक्त गर्दै

चुलबुल मन बोक्दै लोभिने  सामु पर्दै।

 

अलिकति कवितामा चाहना त्यो सजाई

हरपल मन हर्ने शब्द मीठा पठाई

वरपर  सजिएका  फूलका टोकरी छन्

असहज अझ लाग्ने प्रेमका नोकरी छन्।

 

घर वरिपरि बाँझै फूल किन्दै विदेशी

अनवरत बिकेका छौं भएनौं विवेकी

रमझम कति हो यो लाज लाग्ने बुझेर

मधुकर पनि हिंड्छन् मालती ती चुमेर।

 

ढलपल हुन लाग्यो लोभलाग्दो जवानी

अझ वर सर प्यारी प्रेमको माग जानी

भुनभुन भमराझैं फूल सम्झेर आऊ

झलमल रहने छन् दिव्य माया भराऊ।

(मालिनी छन्द)

प्रकाशित: ४ फाल्गुन २०७८ ०८:३० बुधबार

अक्षर