कला

ताम्राकारको ‘मिराज’ लोकार्पण

साहित्यकार ध्रुवकृष्ण ताम्राकारको ‘मिराज’ नामक कथा संग्रहको लोकार्पण गरिएको छ। सो कथा  संग्रहको लोकार्पण ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि केके कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुव ताम्राकारले संयुक्त रूपमा विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केके कर्माचार्यले कथा मिराज कथा संग्रह एक पठनीय कृति भएको बताए। एक प्रसंगमा उनले कथा समाजका लागि लेखिने भएकाले कथाले समाजमा घट्ने घटनाहरूलाई सजीव ढंगले प्रस्तुत गर्नुपर्ने विचार व्यक्त गरे।

त्यस्तै साहित्यकार सूर्य लाकोजूले कथाहरू पठनीय रहेको बताए। उनले कथाहरू समाजमा भएका वास्तविक घटनाहरूमा आधारित रहेकाले कथा पढ्दै जाँदा तपाईहामीले देखेभोगेका कुराहरू रहेको आभास मिल्ने बताए।

मिराजमा एघार ओटा कथा सङ्गृहीत छन्। कथाहरू यथार्थपरक रहेका छन्। सर्जक ताम्राकारको यसअघि ‘प्रारम्भ’ र ‘हृदयका उद्गार’ गरी दुइटा कविता संग्रह, भावनाका उत्सर्ग गीत संग्रह,  स्पन्दन मुक्तक संग्रह र आँसुको कथा कथा संग्रह प्रकाशित छन्।

कार्यक्रममा साहित्यकार तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य,  कवि रामसुन्दर देउजा र उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसक्षे, गीता दाहाल लगायतले मन्तव्य दिएका थिए।

प्रकाशित: ४ फाल्गुन २०७८ ०४:३६ बुधबार

अक्षर