लक्ष्मीप्रसाद पौडेल
ऊ राजनीतिकर्मी। समाजदेखि अलग भएको उहिल्यै हो। स्वास्नी पनि छुट्टै चुल्हो बाल्थी। अर्को बिहे गर्यो। नयाँ स्वास्नीको पुरानो लोग्नेले अदालती निकायमा अभियोग पत्र दायर गर्यो।
‘गहनागुरिया र केटाकेटी छिन्नभिन्न पारी, जार खोजी पाऊँ।’ अदालतमा मुद्दा ‘हेर्दाहेर्दै’ मा थियो।
उता छोरी नोकरसँग बजार गएकी थिई। बजारबाट गुलाव (फूल) किनी ल्याई। प्रेमीले अर्को प्रेमीसँग बजार डुलेको देखेछ। प्रेमदिवसकै दिन सम्बन्धमा विराम लगायो। बजारमा प्रेमको कमी थिएन। अर्को एउटी भेटेको सूचना सम्प्रेषण गर्यो।
छोरीलाई प्रणय–दिवस अनिवार्य मनाउनु थियो। उसले सोची, ‘घरमा काम गर्ने नोकरभन्दा इमानदार प्रेमी अरू कोही हुन सक्दैन।’
फूल साटासाट गरी।
‘के गरेकी यस्तो?’ बाबुले मन सम्भाल्न सकेन। छोरीलाई हकार्यो।
–तपाईंहरूले स्थापित गरेको खुला समाजको उपयोग।
‘त्यो त राजनीतिका लागि हो।’ उसले फिस्स हाँसे जस्तो गर्यो।
‘राजनीति कसका लागि हो त?’ ऊ पनि कम थिइन।
ऊ बर्बराउन थाल्यो, ‘भए जति इज्जत सबै धुलिट्यान पारे।’
–कुन इज्जत? तपाईंले निर्धारण गरेको कि समाजले दिएको।
‘भोभो! चुप लाग्। बढ्दा जान्ने हुने होइन। बाहिर हल्ला नगर। भित्रभित्र गरी खाऊ।’ ऊ सम्झौतामा आयो।
–डेटिङ नजानु, बाहिर देखिनु परेन नत्र कसले चिन्छ हाम्रो प्रेम?
‘घर–जुवाइँ बस्नुपर्छ।’ अन्तिम प्रस्ताव अगाडि सार्यो।
–घर–जुवाइँ? न आफ्नो न अरूको। हुँदैन। यो घर हाम्रो नाममा पास गरिदिनुस्।’ छोरीले अड्डी कसी।
‘आफ्नै घरमा शरणार्थी!’ ऊ लतपतियो।
बाहिर निस्कियो। राजनीति उच्च वेगमा आफ्नो हातबाट कुरीकुरी गर्दै फुत्किरहेको देख्यो। सम्झौताका कागजहरू वैदेशिक सहायताको हावाले छिन्नभिन्न थिए। जारी तिराउन कस्सिएको अदालतमा महाअभियोगको ठप्पा लागिसकेको थियो।
–अब ढुक्कले हुन्छ सम्झौता। दाहिनेले लिने देब्रेले दिने। शरणार्थीलाई कुन देश कुन परदेश?
प्रकाशित: २ फाल्गुन २०७८ ०७:०८ सोमबार