कला

किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ

मुक्तक

अरुण नदी

१) मुक्तक

तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ,

सुन्दर सपना सजाएर जिउनै बाँकी छ।

मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द,

नशालु प्याला भरेर पिउनै बाँकी छ।

   २) मुक्तक

फूल हाँस्दाखेरि तिमी पनि हाँस्ने गर,

मयूर नाँच्दाखेरि तिमी पनि नाच्ने गर।

मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए,

म बाँच्न सके भने तिमी पनि बाँच्ने गर।

   ३) मुक्तक

मनभित्रका पीडाहरू तिमीलाई पोख्न सकूँ,

मनको आँखा उघारेर तिम्रै पीडा देख्न सकूँ।

खिसी र डाहा गर्नेहरू धेरै होलान् यहाँ,

जसले जेजे दिए पनि मेरो हातले छेक्न सकूँ।

    ४) मुक्तक

नफसूँ भन्दाभन्दै म त फसिहाले हाँसोमा,

छोड्न गाह्रो भएर ख्यालख्यालमै परियो पासोमा।

जोस र जाँगरको बेला होस् सबै गुमाएछु,

झसंग भएको छु म त परिएछ अर्काको नासोमा।

    ५) मुक्तक

किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ,

फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमा दाउ।

यो समाजको कति अन्याय सहेर बस्छौं प्रिय,

न्याय पाउनका लागि तिमीले अब कलम समाऊ।

प्रकाशित: २ फाल्गुन २०७८ ०३:५४ सोमबार

अक्षर