कला

प्रेम

कविता

डिएम कन्दङ्वा

जेब्राक्रसिङ सडकको भीडमा

अनायसै ठोक्किएर हुत्तिंदा

तिम्रो पर्सले भुइँ चुम्न पुगेछ

हतारमा पर्स टिप्न निहुरियौ

‘सरि’ भन्न पनि नपाई

म तिम्रो सौन्दर्यको जालमा अलमलिएछु।

यसो हेरें,

बारुले कम्मरमाथि

आफ्नै खुला वक्षस्थल देखेर

तिमी आफैं लजाइरहेकी थियौ

त्यो लजालु मुस्कानभित्र

अनन्त जीवनको खुसी बोकेर

म आफैं हराइरहेको थिएँ।

तिम्रो मेरो मिलनको

अविस्मरणीय क्षण त्यहीं त थियो

तिमी बोल्न लजाइरहेकी थियौ

क्षितिजपारि कताकता हराएर

कोमल छाँती सल्बलाइरहेकी थियौ

मेरो एकाङ्कीपनलाई देखेर

एकान्तमा एक्लैएक्लै

भावनाभित्र सल्किरहेकी थियौ

मनमनै पग्लिरहेकी थियौ

बोल्न पनि कताकता लजाइरहेकी थियौ।

प्रिय,

सबैभन्दा दुखी त त्यस बेला भइन्छ

जब हृदयका भावनाहरू

एक अर्कासँग पोख्न पाइन्न

आँसुले धोएर शब्दले भन्न पाइन्न

मुस्कानले हान्न पाइन्न

जसरी आकाशमा चम्किने चन्द्रमालाई

धर्तीको बादलले छेक्यो भने

धर्ती अन्धकारमा चुर्लुम्म डुब्छ

जबसम्म उसलाई

बतासको झोक्काले उडाउँदैन

धर्तीको सुन्दरता निराश भएर

अन्धकारभित्र बिलाइरहन्छ

त्यसैले प्रिय,

तिम्रो हृदयभित्र उठेको

छाल लिएर आऊ

म त्यो छालमाथि पौडिरहन्छु

तिमी नदी बनेर आऊ

म डुंगा बनेर तैरिरहन्छु

त्यसैमा प्रेमको विशाल भण्डार हुन्छ।

हाम्रो यो प्रेमको सागरलाई

संसारको दौलतले त के

स्वर्गको वैभवले पनि किन्न सक्दैन

त्यसैले मेरो विन्ती छ

तिमी आफूलाई मात्र महान् सम्झी  

अकिञ्चनको भण्डारभित्र

निसासिरह्यौ भने

जीवनको बर्बादीबाहेक

अरू केही पाउनैै सक्दैनौ

मेरो कोमल हृदयको सागरमा

डुबुल्की मार्न हिच्किचाउँछौ भने

म पनि तिमीलाई

यति ठूलो प्रेमको बलिदान चढाउन चाहन्न

खालि तिम्रो सौन्दर्यलाई

टाढैबाट धीत मरिञ्जेल हेर्छु

हृदयले कदापि पिउन चाहन्न

स्वच्छ प्रेमको बलिदान

त्यसैमा सार्थक भएको ठान्छु।

प्रकाशित: २ फाल्गुन २०७८ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App