कला

मने

लघुकथा

नवराज शर्मा

श्रवण र सरलाको एक मात्र सन्तान सुलभको जन्मले ल्याएको खुशी सम्हाली नसक्नु थियो दम्पतीलाई। बालक्रीडामा रमाउँदारमाउँदै दिन बितेको पत्तै हुन्नथ्यो।

सुलभ टुकुटुकु हिंड्ने भयो। दुवै दंग परे।

‘मामू, बुवा, बाबु’भन्ने भयो।दंगदास भए। छ्यूँ गर्‍यो, आत्तिए। एक गाँस कम खायो, डाक्टर कहाँ पुगे।

‘अचेल बाबु खान मन गर्दैन। भोक नभएर हो कि डाक्टर सा’ब?’

‘सबै राम्रो छ। केटाकेटी खेलीखेली खान मन गर्छन्। खेलाईखेलाई खुवाउनुस्, खान्छ।’

‘यो कुखुराको टाउको, को खाई–को खाई,बाबु हाम्।’

सरला बाबुलाई खेलाईखेलाई खुवाउँछिन्।

अलिदिनपछि 

‘बाबु खान मान्दैन, रुचि नभएर हो कि डाक्टर सा’ब?’

‘मासुको झोल खुवाउनुस्। मजाले पकाएर एकदुई चौटा भातसँग मिचेर खुवाउनुस।’

‘बाबु चिचि खाने?’ सरला सोध्छिन्।  

‘बाबु,चिचि। बाबु, चिचि।’ सुलभ भन्छ।

सुनेर दम्पतीको मन धन्य हुन्छ।

‘बाबुको साथी ‘भने’ र ‘मने’। ‘रातो डांग्रे र सेतो पाठो सुलभनिर राख्दै श्रवण भन्छ।

तीनै साथी दिनभरि आँगनमा दगुर्दै, उफ्रिदै र रमाउँदै खेलिरहन्थे। दिन बितेको पत्तै भएन।

मने पाठाबाट जक्खु खसी भइसकेको थियो। एकदिन खुकुरी उज्याउँदै श्रवणले सुलभलाई सोधे, ‘बाबु,चिचि खाने?’

सुलभले भन्यो, ‘बाबु, चिचि काने।’

सुलभकै अगाडि श्रवणले मनेलाई काटे, खुइलाए अनि टुक्याए। एकाग्र भएर हेरिरहेको सुलभ कुन सड्को खुकुरी चलाउन पुगेछ। छुस्स छुँदा ह्वाल्ल रगत आयो।

‘बाबु अइय्या। बाबु अइय्या।’ भन्दै सुलभ रोएपछि बल्ल उनीहरुले चाल पाए। हत्तपत्त सुलभको घाउमा मलम लगाई पट्टी बाँधिदिए। रगत आउन बन्द भयो। दुखाइ पनि हराइसकेको थियो होला तर सुलभ रातैभरि निदाएन। हनहनी जरो आयो।

सुलभलाई सञ्चो भएपछि श्रवणले किनेर ल्याएको मासु टुक्याउन खुकुरी माग्दै सुलभलाई सोधे, ‘बाबु,चिचि खाने?’

अँध्यारो मुख लाएर सुलभ केही बोलेन। सरलाले खुकुरी दिएपछि सुलभ भनेलाई डोयाउँदै श्रवणको अघिल्तिर पुगेर रुन्चे स्वरमा भन्न लाग्यो, ‘बाबु, अइय्या! मने अइय्या! बाबु, चिचि नकाने, बाबु चिचि नकाने।’

 

प्रकाशित: २९ माघ २०७८ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App