कला

उधारोमा जीवन किन्ने शहर हो काठमाडौं

मुक्तक

नानुमैयाँ दाहाल

   १) मुक्तक

गलत पथको यात्रा रोक्दा गोली ठोक्ने कि नठोक्ने?

लुछाचुँडी छ शहीद तोक्न, यो क्रम रोक्ने कि नरोक्ने?

केका लागि कसरी शहादत? उचित मूल्यांकन गरेर–

वर्गीकरण सहित शहीदको नाम तोक्ने कि नतोक्ने?

    २) मुक्तक

उधारोमा जीवन किन्ने शहर हो काठमाडौं,

भाउ होइन दाउ चिन्ने शहर हो काठमाडौं।

अपमान र तिरस्कारको जहर पिलाएर,

लाखौं स्वप्ना क्षणमै छिन्ने शहर हो काठमाडौं।

    ३) मुक्तक

फर्की आऊ बन्दाबन्दी अब खुलिहाल्छ,

खनीखोस्री असार रोपौं मंसिर झुलिहाल्छ।

पत्थरमा सीप खोपौं, काठमा चाहिँ कला,

सिर्जनाको हिरामोती यतै फुलिहाल्छ।

     ४) मुक्तक

तिम्रा रंगीन सपनाहरू जूनझैं टल्केका छन्,

दुबोसरि मौलाएर उता ढल्केका छन्।

फेसन भन्दै ननाङ्गिनु, नपोख्नु है बैंस,

यौवनको वासना सुँघ्न ब्वाँसा पल्केका छन्।

    ५) मुक्तक

म दिन्छु फूल उपहार काँडा फिर्ता गर्छौ तिमी,

म दिन्छु पीयूषको बेर्ना विष बीज छर्छौ तिमी।

म गर्छु तिम्रो जीवनमा वसन्त फुलोस् भन्ने कामना,

मलाई थोरै खुसी मिल्दैमा ईष्र्याले बसाइँ सर्छौ तिमी।

प्रकाशित: २१ माघ २०७८ १२:१७ शुक्रबार

अक्षर