पीपी कोइराला
‘मिहे दरो भएन भने गोरुहरू घुमेर मात्र काम छैन।’ सोच्दासोच्दै म निदाएँछु। सपना सुरु भयो। म त साँच्चिकै गोरु पो हुन पुगेछु।
‘मलाई कसले गोरु बनायो?’ भन्नेबित्तिकै तत्कालै ब्रम्हाजी आई भन्नुभयो,‘मैले बना’को हो।’
मैले सोधें, ‘यस्तो गोरुको जुनी किन,प्रभु?’
ब्रम्हाले सम्झाउँदै भन्नुभयो,‘यो अन्तिम जुनी हो। जसले पनि यो गोरुको जीवन बिताउनु नै पर्छ।’
ब्रह्माजी अन्तर्ध्यान हुनुभयो। म हिँडें चर्न एउटा चौरतिर।
चरेर आनन्द लिइरहेकै थिएँ। अचानक सिर्कनाको ‘स्वाँट्ट–स्वाँट’ ले मेरो आनन्द चकनाचुर पारिदियो। त्यो सिर्कना मेरो मालिकको हातमा थियो। म धुरुधुरु रोएँ।
ऊ मालिक हो। मचाहिँ कसैबाट बेचिएर जे गर्न पनि छुट भ’को उसको वस्तु , पशु। हामी दास गोरुहरूले मालिकले जे गर्दा पनि सहनु नै पर्ने। कति दास मान्छे त सहन्छन्? हामी त झन् गोरु।
‘भोग अनि सधैं लागि मुक्ति पाउँछौ’ भनी ब्रह्माजीले भनेको हुनाले चुपचाप कुटाई सहें।
म फेरि अर्को चौरका गोरुहरूको भिडतिर गएँ जहाँ भयंकर छुल्याहा र गुण्डा टाइपका धेरै गोरु थिए। त्यहाँ कोही लामालामा तिखा सिंगले तर्साउँदै हिँडेका।
कोही बल्ड्याङ्ग्रे आँखा पल्टाएर डरलाग्दा देखिएका,कोही ठुटे सिङ भए पनि दाँत ङिच्च देखाउँदै अरूलाई खेदाइरहेका, कोही साँढे भएर अर्काको बाली चर्न पल्केका, कोही ‘यो सेरोफेरो सबै मेरो हो तिमेरु कोही चर्न पाउँदैनौ’ भन्दै खुरले माटो खोस्रिदै हुँकारिहेका,कोही आफ्नो समूहमा आउनेलाई मजाले चर्ने ठाउँ पुर्याइदिने तर अरू आए हान्ने प्रवृत्ति बोकेका गोरुहरूलाई देखेँ र दिक्क मानेर टोलाउँदै सोच्न थालेँ,‘कतै गोरुका मालिक दुष्ट छन् भने कतै गोरुहरू नै दुष्ट छन्।’
हे ब्रह्माजी! यी गोरुहरूको माझमा मलाई निर्धो गोरु बनाएर पठाउनुको सट्टा यी गोरुहरूलाई मिलाएर दाइँ गराउन सक्न सिपालु, विवेकी गोठालो बनाएर पठाइदिएको भए हुन्थ्यो नि!’
प्रकाशित: १० पुस २०७८ ०५:४९ शनिबार