कला

किसान-मजदुरले देश बाँचेको छ

कविता

रामशरण कार्की ‘जितपुरे’

 

जुटे, फुटे नेता दल उनका कार्यकर्ता

लुटे, पोसे, मालिक देश गरीब जनता

विकासका नाममा बेचे मेची–महाकाली

टपरी नपाउने चाटे सुनको थाली।

पुर्खाले जोडेका मठमन्दिरका खजना

सुम्पे खुसी पार्न मालिक भेट नजराना

लुटाए खानी र बुटी अथाह जलस्रोत

उनैका मीठा भाषण र गर्ने ठूला स्वर।

मठ हड्पे सत्तल पाटी मूर्ति उडाए

पसीना पोखी तिरेका कर गाडी कुदाए

झुपडीमा बस्ने किसान मानिसै नमान्ने

आफ्नो औकात बिर्सी आफू महान नै ठान्ने।

उद्योग त बेची खाए कमिसनको भरमा

समयमा मल छैन किसानको घरमा

गनिनुपर्ने नेता किसान मजदुरको

षड्यन्त्र गर्ने दलाली तिनै मालिकको।

देशमाथि घात गरी विदेशीको पाउमा

पुनः झुटो खेती गरी देशै बेच्ने दाउमा

दर भाग नमिलेर हच्किएजस्तो पर

कठै अब यिनलाई छ जनताको डर।

मोल उनै तोक्छन् प्रसार सञ्चारमा

काम गर्न पछि हटे जीवनै धरापमा

अनमोल जीवन जाने किन रोज्नु धन

प्रतीज्ञा पूरा गरे जोगिन्छ इज्जत तन।

माया गरे जस्तो गरी देखाउने लोभ

कहाँ रोप्छन् उनले देखिँदैन डोभ

पछि मात्र थाहा पाइन्छ लास परेपछि

बोल्न केही सकिँदैन दास बनेपछि।

मर्ने त मरिगए बाँच्नेलाई सधैं त्रास

लैजान, खान नमिल्ने धनको कत्रो आश

धन आशले देश र पवित्र आत्मा डुब्यो

बेथिति र हत्याले देशमा प्रेतात्मा जुध्यो।

नागरिक देश रक्षा छैन बन्ने नेता

मालिकका पाउ जता उनका शिर त्यता।

चिच्याउने ठूला स्वर नारा समृद्धिको

निचोरी चुस्ने रगत सोझा जनताको।

पसिनामा डुबे पनि  खाएलाएकै छन्

घाम– झरीमा पर्दा पनि रमाएकै छन्

किसान,मजदुरले देश बाँचेको छ

नेपालीले दिव्य ज्योतिमा आशा साँचेको छ।

प्रकाशित: ९ पुस २०७८ ०७:०० शुक्रबार

अक्षर