कला

आलोकमा ओक्लहोमा आँखाभित्र ओमार

नियात्रा

खेमराज पोखरेल

प्रकृति एउटा नियमित गतिमा चलायमान छ। शनैशनै नियमित त सूर्य उदाउँछन्। अस्ताउँछन्। दिन आउँछ र रात पर्छ। बादल लाग्छ र पानी पर्छ। बादल फाट्छ र घाम लाग्छ। एकदम एकसुरा छ यो प्रकृति। त्यसैले म त्यही स्थिर प्राकृति चलाइलाई हेर्छु। तिनको नियमित प्रक्रिया रञ्जक लाग्छ मलाई। तिनले ममा कहिले रोमाञ्चकता ल्याइदिन्छन्। कहिले भावुक बनाइदिन्छन्। कामकाजी भौतिक र अभौतिक अङ्ग क्रमशः बेकामे हुन खोज्दै छन्।

नाके डाँडीमा अडिएको पावरदार चस्माभित्र पानी सकिन थालेका मेरा रूखा आँखा चिमचिम गर्दै मसँग अर्जीसहित रौसिन्छन् –हेरूँ। हेरी हालौँ न यार। मेरै पाइन पनि कति दिनसम्म रहने हो र? मेरो पाइन सकिएका दिन तेरो संसार पनि एकाएक अँध्यारो हुन्छ। यो संसार हेर्नका लागि हो। भोग्ने संसार त एकदम सीमित हुन्छ। यो संसार हेर्न पाए मात्र सुन्दर छ। हेर्नै पाइएन भने सुन्दर र असुन्दरको पनि के काम? हिँड् खेम घुम्न।

घोटिएर खिइएका तथा पट्टी बाँधिएका घुँडा अघि सरेर बोल्छन् –अझै त म हिँड्दैछु। के हरेस खान्छस् खेम? हिँड घुम्न। जे त होला।

बुढिँदै गएको आँतले भन्छ–भोलि के होला के थाहा? आज बाँचिएको छ र पो हिँड् भनेको त।

एकान्त पायो कि म सोच्न थाल्छु। यो मनलाई लागिदिए हुन्छ। आँखालाई रौसिए पुग्छ। जोसलाई चलिदिए हुन्छ। ज्ञानलाई वैराग्य पस्किए भइहाल्छ। घुँडालाई आँट गरिदिए पुग्छ । आँतलाई जाँगर चलाए हुन्छ तर चाँजोपाँजो मिलेन भने घुर्‍यान पनि मुग्लान हुन्छ भन्ने कुराको तिनले हेक्का राख्दैनन्।

फेरि अर्कोतिर चाँजोपाँजोको नाममा जिन्दगी ‘भ्यागुताको धार्नी’ पनि भइरहेकै छ। त्यो धार्नीको तुलो कहिल्यै पूरा हुने कुरा पनि होइन। यही घनचक्कर नामको इक्विलिब्रियममा म बाँचेको हुन्छु। मनलाई खँदारेर, आँखालाई चिम्लेर, जोसलाई होसले काबुमा ल्याएर भ्यागुताको धार्नी खोज्ने म कालीदासीय मूर्ख बनेको छु। त्यसैले पनि थेच्चारिनु बाध्यता हो मेरो।

तर संयोग यही बेला अमेरिकाको डालस/फोर्टवोर्थ निवासी मेरो भतिजो माइलो भाइ सुरेशको छोरा सोसलको विवाह सन् २०२१ सेप्टेम्वर १० का दिन हुने भयो। स्वाभाविक तवरले म निम्त्याइएँ। मनमनै हर्षविभोर भइरहेको थिएँ।

मेरा मनमा एक पथ दुई काज थिए। काज बिहेको निम्तो मान्नु थियो भने पथ डालस फोर्टवोर्थ क्षेत्रका आफन्त तथा साहित्यकारहरूसँग चिनापर्ची गर्ने, गफिने र रमाउने थियो। किनकि जुन बहानामा भए पनि रमाउनु जीवनको महत्त्वपूर्ण क्षण हो तर गन्तव्यचाहिँ ओक्लहोमाको नोर्मनमा प्राध्यापन गर्ने साहित्यकार विश्वराज अधिकारीको घरमा धेरै दिनदेखिको पेन्डिङ निम्तो मान्न पाहुना लाग्नु थियो। अथवा चिची भने पनि घुम्नु थियो पापा भने पनि घुम्नु थियो।

आफन्तकोमा तथा चिनारु/अचिनारुकोमा पाहुना लाग्दा छुट्टै मजा हुन्छ, छुट्टै परिवेश हुन्छ र छुट्टै यात्रानुभूति हुन्छ। हाम्रो नेपाली सभ्यतामा पाइने पाहुना लाग्ने चलन पनि एउटा गतिलो यात्रा पर्यटन थियो भन्ठान्छु म। आफन्तको घरैमा जाने, पाकेको रोटोपीठो खाने, दुःखसुखका पोकाहरू फुकाउने र अन्तर धक फुकाएर बात मार्ने र हाँस्ने जस्ता कुराहरूको आनन्द आधुनिकताको पाँचतारे होटलमा कहाँ पाउनू?

बिहेको निम्तो मान्न म परिवारसहित सेप्टेम्बर १० तारिकका दिन दिउँसो १ बजे डालस फोर्टवोर्थ पुगेको थिएँ। त्यही दिन कोर्ट म्यारेज थियो। दुर्भाग्य, पुग्न ढिलो भएकाले कोर्ट म्यारेज  नियाल्ने जिन्दगीको पहिलो अवसर पनि गुम्यो। अमेरिकन न्यायाधीशले अंग्रेजीमा मन्त्र पढेर बिहे गराएको आँखैले हेर्न जुरेन। कोर्ट म्यारेजपछि घरमा बेहुली भित्र्याइएको थियो। बेहुलीलाई सिन्दूर पोते लगाइएको थिएन। किनभने हिन्दू परम्पराको विवाह संस्कार अनुकूल समय मिलाएर पछि नेपालमै गएर गर्ने कार्यक्रम थियो तर विहेको रौनक भने उस्तै अब्बल थियो।

मेरो दिमागले एकछिन सोचिरह्यो, यो संसार कति बदलिएको छ। पहिले कानुनी बिहे, घरजम अनि पछि अनुकूलमा संस्कार र परम्परा। जे भए पनि बिहेकै दिन बेलुका धमाकेदार पार्टी थियो। कोर्ट म्यारेजका भिडियोहरू स्क्रिनमा हेर्दा गजब रमाइलो भएको थियो। बिहेको मगनीका तस्बिरहरू खिचिएका थिए। ती फोटाहरूमा बेहुलाले सुटटाई र बेहुलीले निक्खर सेतो लमतन्ने स्पेसल गाउन लगाएका थिए। त्यो फोटो चर्चको ब्याकग्राउन्डमा खिचिएको थियो। बेहुलाले निहुरिएर गुलावको फूल दिँदै थियो।

लुकाएर राखेको वेडिङ रिङ याने कि स्वयम्वर औँठी साटिँदै थियो तर यहाँ नजिक संशय नहोस् कि बेहुलाबेहुली क्रिश्चियन थिए भनेर। मेरा भतिजा र भतिजा बुहारी विशुद्ध नेपालमै जन्मेका नेपाली थिए र पूरापूर हिन्दू थिए। तर त्यो चर्चमा पुगेर मगनीको फोटो खिच्नु फेसन थियो। उनीहरूको घर भएको ठाउँबाट त्यो चर्च पुग्न झन्डै १०० माइलको दूरी थियो।

मान्छे मगनीको फोटो खिच्न नै सो चर्चमा जान्थे। धार्मिक आस्थाको कुनै कुरा थिएन। चर्च फेसन मात्र थियो। यहाँ नजिक मान्छे उदार धार्मिक र अन्तर्राष्ट्रियवादी पनि हुँदै गएको हो कि भन्ने विषय मेरा दिमागमा उठेको थियो। मान्छे अन्तर्राष्ट्रियवादी हुन्छ भन्ने कुरा चरितार्थ हुँदै थियो। यो भावना अमेरिकाको उन्नयनका लागि निकै सहयोगी भयो होला भन्ने लागेको छ मलाई यतिबेला।

 विविध देशका विविध मान्छेका बीचको बिहेबारीलाई स्वाभाविक गतिमा हिँड्न दिएको हुनाले सायद यस्तो भएको होला र बिहे भनेको केटाकेटीको निजी तथा वैयक्तिक कुरा हो भन्ने ठान्न नसक्दा नेपालमा ज्यानै जाने सजाय पाएका जोडीको कुरा पनि मेरा दिमागमा आइहाल्यो। यो कुरा सम्झनेबित्तिकै मन अमिलो भइहाल्यो।

जे भए पनि बिहेको लेठो सकेर परिवारजन आफ्नै बासस्थान सानमार्कोस फर्के। म भने ओक्लहोमाको यात्रामा जाने चाँजोपाँजो मिलाउन थालेँ। आखिर फेरि पनि बलियो भनेको समय न हो। चाँजो र परिवन्दले ओक्लहोमा जाने दिन १६ तारिक मात्र जुर्‍यो। त्यस बीचमा कथाकार कृष्ण कुसुमको सायंकालीन आतिथ्यमा रमाउने अनुकूल पर्‍यो।

कृष्ण कुसुम तथा गणेश घिमिरेले सम्पादन गरेको ‘परदेशका कथा’ नामक कथा संग्रहमा अन्तिम अवस्थामा मेरो डायस्पोरिक कथा ‘स्वप्न दोष’ नचिनीकनै कृष्ण कुसुमले समावेश गरिदिनुभएको थियो। यसै क्रममा नेपालका मेरा गाउँले भाइ विजयराज भट्टराईकै निवासमा नै केही व्यक्तिगत केही साहित्यिक भलाकुसारी भयो। मजा त यो थियो कि कृष्ण कुसुम र विजयराज भट्टराई दुवै अमेरिकामै जागिर र जेथो जोडेर बसेका घागडान इञ्जिनियर थिए र साहित्य साधनाका कुशल पारखी योद्धा थिए।

१७ तारिक ओक्लहोमातिर लागेका थियौँ भाइसुरेश र म। बाटैमा पर्ने डेन्टन नजिकै पुगेर पंकज अर्याल तथा दिप्ती दम्पतीलाई भेट्नु थियो। २००१ मा म पहिलोपल्ट अमेरिका आउँदा मेरो टेक्ने समाउने कोही थिएन। त्यो बेला साथीको सालाको मात्र साइनोका आधारमा उनीहरूबाट मैले जुन टेकाइसमाइ पाएँ। त्यो म कुनै मूल्यमा पनि बिर्सन सक्दिनँथेँ।

यो भेटपछि ओक्लहोमातिर हानिएका थियौँ। टेक्सस राज्य छोडेर ओक्लहोमा राज्य प्रवेश गर्दै थियौँ। बोर्डरमै ठूलो क्यासिनो थियो। टेक्सस राज्यमा क्यासिनो तथा म्यारिओना (गाँजा) सेवनमाथि बन्देज लगाइएकाले टेक्ससका मान्छेहरू जुवा खेल्न र म्यारिओना किन्न यही ओक्लहोमा आउने कुरा थाहा पाएर म झन् अचम्म परें।

एउटै देश अमेरिकाको अलगअलग राज्यमा अलगअलग कानुन भएकाले नेपालका प्रदेश राज्यहरूलाई सम्झेँ। अमेरिकाको यस्तो पाराको नक्कलले नेपालमा कसरी चल्छ होला  प्रशासन। सायद नेपालमा बेकार पो छ कि यो सङ्घीयता। किनभने अमेरिकाको पचास राज्यमध्ये एउटै राज्य टेक्सस भौगोलिक रूपले नेपालको कुल भूमिभन्दा झण्डै साढे छ गुना ठूलो छ।

जनसंख्याको विविधताको कुरा गर्दा सायद संसारभरिका मान्छेहरूले यो टेक्ससमा समूह याने आफ्नो सांस्कृतिक समाज बनाएर बसेका छन्। आआफ्ना रीतिरिवाज मानेर बसेका छन् भने नेपालको जातिगत विविधता भन्नु पनि त्यही एक सयको हाराहारी न हो। त्यो पनि जातिमाथि उपजाति गणना गरेर न हो।

ओक्लहोमाको नोर्मन पुग्दा दिउँसोको ३ बजिसकेको थियो। साहित्यकार विश्वराज अधिकारी हाम्रो स्वागतका लागि तम्तयार भएर बस्नुभएको थियो। एकछिनको भलाकुसारीपछि हामी ओक्लोहामा सिटीको डाउनटाउन तथा रिभरवाकको यात्रामा निस्केका थियौं।

शहरको बीचबाट नहरजस्तो नदी बगाइएको थियो। त्यसका छेउछाउमा धेरै रेस्टुरेन्ट थिए। पानीमा वाटर बोट चलाइन्थ्यो तर कोरोना कहरका कारणले भने केही छोडेर प्रायः सबै रेस्टुरेन्ट बन्द थिए। रिभरवाकका पेटी उजाड देखिन्थ्यो। विश्वराज सर भन्दै हुुनुहुन्थ्यो –कोरोना नहुँदा यहाँ खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो।

हामी ओक्लहोमाको ब्रिकटाउनमा थियौँ। त्यो चोकका वरिपरि सबै भवन एक रङे  इँटाले बनेका थिए। त्यो  इँटामा सूर्य चम्किएर एउटा सुन्दर दृश्यको निर्माण भइरहेको थियो। रिभर वाकका छेउमा तथा शहरभरि ओक्लहोमाका आदिवासीको इतिहास, संस्कृति तथा सभ्यतालाई जोगाएर राख्न सालिकहरू बनाएर राखिएको थियो।

रिभर वाकमा हिँडिरहँदा एकाठाउँमा त्यो ताका आदिवासीले युद्ध गर्दा अपनाइने युद्ध प्रविधि घोडा युद्धका प्रतीक सालिकहरू राखिएका थिए। युद्ध गर्दै गरेको, युद्धमा घोडा मारिएको, युद्ध सरदार आदेश दिँदै गरेको आदिआदि देखाइएका लस्कर सालिकहरू देखेर आनन्दानुभूति भयो। यसले अमेरिकाको काउब्वाय सभ्यताको प्रदर्शन गरिरहेको थियो। ती दर्जनौ मूर्ति तथा सालिकहरू काँसका थिए। अमेरिकाको इतिहासमा काउब्वायहरूले घोडचढीमा अब्बल दक्षता हासिल गरेकाका रूपमा मान्यता पाएका थिए।

रिभरवाककै एकाछेउमा एउटा आदिवासी छेलो हान्नेजस्तो एउटा बडेम्माको गोलो ढुंगालाई मास्तिर ठेल्दै गरेको मूर्तिले ध्यान खिच्यो। यसले जिन्दगीमा लगातार परिश्रमको महत्त्व बुझाउँदै थियो। मूलबजार डाउनटाउनको मध्यभागमा जताततै आदिवासीका सालिक बनाइएको देखेपछि अमेरिकीको इतिहास चेतलाई मैले नमन गरेको छु।

इतिहासको गौरव  भनेको निकै अमूल्य सम्पत्ति हो, जसलाई वर्तमानको भौतिक वैभवले किन्न सक्दैन। जुन देशले आफ्नो इतिहासलाई संरक्षण र सम्वर्धन गर्यो त्यो देश साँच्चिकै वैभवशाली हो।

डाउनटाउनको भीमकाय भवनका छेउमा उभिएर फोटो खिच्यौँ। र विश्वराज सरको घरमा फर्कियौँ। उहाँको चिटिक्क परेको सानो घर थियो। त्यही पनि त्यो घर उहाँहरूलाई टुँडिखेल जत्रै भएको थियो। दुई बुढाबुढी टक्य्राकटुक्रुक बस्नुहुन्थ्यो। उहाँका दाजुभाइ छोराछोरी भने अमेरिकाकै अन्य शहरमा बस्थे ।  

उहाँले हाम्रो सत्कारका लागि जङ्गलमा पालेको जङ्गली कुखुराको रुस्टर भालेको व्यवस्था गर्नुभएको रहेछ। उहाँको सत्कार अन्तर्यलाई हामी दुवै दाजुभाइले निकै अब्बल ठान्यौँ। यो सत्कार्य अन्तर्य सायद नेपालीपन, मिथिलापन र अन्तरहृदयको त्रिवेणी थियो।

भोलिपल्ट बिहान उहाँले नोर्मनमै रहेको ओक्लहोमा विश्वविद्यालय हेर्न जाने प्रस्ताव गर्नुभयो। यो विश्वविद्यालय मूल शहरकै बीचमा असाध्य धेरै जग्गा ओगटेर बनाइएको रहेछ। विविध भवनका बीचबीचमा विद्यार्थी हिँड्ने पक्की बाटो तथा हरियाली देखियो। लाग्दथ्यो जङ्गलका बीचमा बनेको छ यो विश्वविद्यालय। 

विश्वविद्यालयभित्र हिँड्दै जाँदा प्राङ्गणमा इतिहास सम्झाउने खालका आदिवासीका सालिकहरू तथा सो विश्वविद्यालयलाई योगदान दिने व्यक्तिका सालिकहरू यत्रतत्र थिए।

ओक्लहोमा राज्यको निर्माण हुनुभन्दा पहिले यहाँ चेरोकी नामक आदिवासीको राज्य थियो। चेरोकी भनेको नेटिभ अमेरिकनहरूको एउटा ट्राइब हो। त्यो बेला नेटिभ अमेरिकनहरूका अनेकन ट्राइब थिए। यिनै चेरोकीहरूले चेरोकी राज्यको निर्माण गरेका थिए। जसको नाम अमेरिकी इतिहासमा चेरोकी नेसन थियो।

 ओक्लाहोमा राज्यको निर्माण भएपछि यी चेरोकीहरूले राज्यबाट विशेष सुविधा पाएका छन्। हाल उत्तरी ओक्लाहोमामा झण्डै डेढ लाख आदिवासी बसोबास गर्छन्। राज्यले यिनीहरूलाई स्वास्थ्य, मानव सेवा, शिक्षा, रोजगारी, हाउजिङ, आर्थिक तथा पूर्वाधारका लागि  पूरापूर सहयोग गर्ने गरेको छ।

हिँड्दै जाँदा विश्वविद्यालयको पुस्तकालय भवन आयो। सो भवनको अगाडि एउटा अग्लो घण्टाघर थियो। सो घण्टाघरमा चढ्न बीचमा एउटा अनौठो प्वाल थियो जसबाट त्यो घण्टाघरको भित्र पुगिन्थ्यो। पुस्तकालयको जमिनमुनि ३ तला पार्किङ थियो। यद्यपि हामीसँग पुस्तकालयभित्र गएर हेर्ने समय थिएन। तर पनि यो हेराइले पनि मन फुरुङ्ङ भयो।

त्यसपछि हामी विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन कलेजका अगाडि पुग्यौँ। सो भवनको अगाडि पारसी (इरानी) कवि ओमार खैयामको श्वेत मार्वलको सालिक थियो। ओमार खैयामको नाम सुन्नेबित्तिकै नेपाली साहित्यमा प्रयोग भइरहेको चार हरफे विशेष कविता मुक्तक सम्झन पुगेँ। संसारभरिका साहित्यमा मुक्तक शैलीको कविताको प्रादुर्भाव गर्ने विशेष विद्वान ओमार खैयामलाई नसम्झने कुरा नै थिएन।

ओमार खैयामको त्यो श्वेत सालिकलाई एकोहोरो हेरिरहेको थिएँ म। त्यो निक्खर सेतो मार्बलमा बनेको थियो। शिरमा फारसी फेटा, लामो कपाल, लामा दाह्री, फारसी स्टाइलको कुर्तासुरुवाल, सेतै जुत्ता, बस्ने ठाउँमा खुट्टा झुण्डाएर बसेको। चिन्तन मुद्रामा बसेको। दाहिने हातले काखमा ग्लोबलाई समाएको। देब्रे हात चिउँडोमा लगेर चिन्तन मुद्रामा बसेको। सालिकको आधारभूमिमा खैयामका रुवैयातहरू अंग्रेजी तथा फारसीमा लेखिएको।

सालिककै छेउमा पाना फर्काइएको पुस्तक आदि थियो। सायद यो ज्ञानको विम्बमा थियो होला। सालिकमा विशुद्ध फारसी अनुहार देखिन्थ्यो। लगभग ७ फिट अग्लो त्यो सालिकको मोटामोटी फिहिरिस्त यस्तै थियो। श्रद्धाले हेरिरहूँजस्तो थियो।

त्यो श्वेत सालिकलाई देखेपछि एक प्रकारले भन्ने हो भने अचम्म लाग्यो। अमेरिकी विश्वविद्यालयका अगाडि इरानका कवि ओमार खैयामको भव्य सालिक ! अमेरिका र इरान जुधेको धेरै नै भएको थिएन। विश्व राजनीतिक सन्दर्भमा अमेरिका र इरान दुश्मन थिए। अनि कल्पना गर्न थालें, ‘यदि नेपालमा भए त्यो सालिकलाई के गर्दा हुन् र एउटा निष्कर्षमा पुगेँ– आफ्नै नेपाली पृथ्वीनारायण शाहको सालिक त फोड्ने कथित बहादुर क्रान्तिकारीको नेपालमा कुनै कमी छैन।

देवकोटाका सालिक त भत्काउने कथित अमानुष राष्ट्रवादी नेपालमै भेटिन्छन् भने यस्तो मुसलमान कविको सालिकलाई त एक गाँस पार्दा हुन् नेपाली वीरहरूले। फेरि त्यही सालिकलाई समाएर सोचिरहेँ कि देशले राजनीतिक अभिष्टका लागि जुध्दैमा सभ्यता, संस्कृति तथा कला पनि जुध्छ भन्ने कुरा होइन रहेछ।

ओमार खैयामको यो सालिक बुधबार मार्च ३०, २०१६ मा यही ओक्लहोमा विश्वविद्यालयमा स्थापना भएको थियो। ओमार खैयामको जन्म १०४८ मा तथा मृत्यु सन ११३१ मा फारस हालको उत्तरी इरानको निशावर भन्ने ठाउँमा भएको थियो। विश्वको ज्ञान भण्डारमा उनको ज्ञान प्रमुख हिस्सेदार थियो। उनी पर्सियन दार्शनिक, वैज्ञानिक, म्याथेम्याटिसियन, खगोलशास्त्री, थ्योरी अफ प्यारालल, रियल नम्बर कन्सेप्ट, जोमेट्रिक अलजेब्रा, सोलुसन अफ क्वीविक इक्वेसन्स, बायोमिनल थ्योरम, एक्सट्राक्सन अफ रुट पत्ता लगाउने वैज्ञानिक थिए।

म एकोहोरिएर सो सालिक हेरिरहेको थिएँ। एघारौं शताब्दीको त्यो मान्छे याने कि ओमार खैयामको वैज्ञानिक व्यक्तित्वसँग वशीभूत हुँदै थिएँ। बहुमुखी प्रतिभासँग म अचम्म मान्दै थिएँ। तत्कालीन पर्सियन सभ्यताको बारेमा सोचेर म एकछिन विभोर भइरहेँ। त्यो बेला सायद पर्सियन सभ्यता संसारकै अब्बल थियो। संसारका सभ्यताहरूमा पर्सियन सभ्यताको योगदानलाई कसैले न्यूनीकरण गर्न सक्दैन।  

ओमार खैयामको यो सालिकको निर्माण माड्रिडबाट विद्यावारिधि गरेका इरानियन मूर्तिकार हुसैन फकिमीले इरानमै बनाएका थिए। इरानबाट नै यसलाई अमेरिका ल्याएर ओक्लहोमा विश्वविद्यालयमा स्थापना गरिएको थियो। फकिमीले ओमार खैयामका उस्तै सालिक जम्मा ३ वटा बनाएका थिए। एउटा उनको जन्मस्थान निशावरमा अर्को इटलीको फ्लोरेन्समा र तेस्रो यही ओक्लहोमामा स्थापना गरिएको थियो।

ओमार खैयामको सालिक भएको ठीक पछाडि एउटा ठूलो र राम्रो भवन थियो। सो भवन अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको गल्फ र पर्सियन भाषा, साहित्य, संस्कृति तथा समग्र सम्बन्धको अध्ययन केन्द्र थियो। सो केन्द्रका अगाडि एउटा ठूलो साइनबोर्ड थियो। जसमा फरजनाह फ्यामिली फाउन्डेसनको योगदानको चर्चा गरिएको थियो। आश्चर्य तथावशीभूत हुने कुरा के थियो भने फरजनाह फ्यामिलीले यो गल्फ तथा पर्सियन अध्ययन केन्द्र निर्माण गर्न विश्वविद्यालयलाई मिलियनौँ डलर दिएका थिए।

सोही साइनबोर्डमा युगौयुगसम्म बाँचिरहने तथा फरजनाह फ्यामिली फाउन्डेसनको स्थापना गर्ने इरानी दाजुभाइ महमद फरजनाह तथा जलाल फरजनाह थिए। उनीहरू सन् १९७८ मा इरानबाट अमेरिकाको ओक्लहोमा विश्वविद्यालयमा आर्किटेक्चर पढ्न आएका थिए। विश्वविद्यालयबाट ब्याचलर र मास्टर पास गरेपछि उनीहरू फर्केर इरान जान सकेनन्। गएनन्। ओक्लाहोमामा नै स्थापित घर व्यवसायी भए।

आयआर्जन गरेपछि उनीहरूले सन् २०१६ मा आफू पढेको विश्वविद्यालयलाई मिलियनौँ डलर दिए। यो दान सो विश्वविद्यालयमा पर्सियन गल्फ अध्ययनका लागि दिइएको थियो। फर्जनाह फ्यामिली सेन्टरले इरान तथा फारसी सभ्यताको अध्ययनअध्यापन, अनुसन्धान तथा अन्य क्रियाकलाप सामाजिक जीवन, इतिहास, संस्कृति, भाषा, साहित्य, राजनीतिका लागि पुरस्कार छात्रवृत्ति जस्ता महत्त्वपूर्ण काममा सहयोग दिएको छ।

यसबाहेक यही दान राशीबाट पर्सियन भाषाका लागि सभासेभिनार, कार्यशाला, फिल्म निर्माण र प्रदर्शन जस्ता काम पनि हुँदै आएको छ। उनको यो दान कार्य तथा ओमार खैयामको सालिक स्थापना कार्यलाई विश्वविद्यालय प्रशासनले संसारका अनेकौँ देश तथा मान्छेहरूका बीचमा अथवा विविधखाले समाजका जनता तथा ज्ञानको बीचमा समझदारी, विश्वास तथा अन्तर्राष्ट्रिय भाइचाराको उदाहरण ठानेको रहेछ।

खैयाम आफ्नो जन्मस्थानमा उनका वैज्ञानिक उपलब्धिका कारण प्रसिद्ध भए तर अङ्ग्रेजी लेखक इडवार्ड फिजजेराल्डले सन १८५९मा खैयामका रुवैयातहरूलाई अङ्ग्रेजीमाअनुवाद गरेर ‘द रुवियात अफ ओमार खैयाम’ प्रकाशन गरे। यसलाई अङ्ग्रेजीमा क्वाट्रेन्स भनियो।

त्यसपछि भने संसारभरि खैयामको व्यक्तित्व रुवियात वा रुवैयात वा मुक्तक वा रुवाइयाँको स्थापनाकर्ता घागडान कविको रूपमा स्थापित भयो। अहिले संसारमा खैयामलाई उनका अनेकौँ वैज्ञानिक उपलब्धिले भन्दा रुवैयातको पिताका हैसियतले चिनिन्छ। संसारका अनेकौँ भाषामा उनका रुवैयातको अनुवाद भएको छ। ओमार खैयामले लेखेका १ हजारभन्दा बढी चार हरफे कविताले उनलाई संसारमा अमर बनायो। संसारभरिका सबै देश, सबै भाषा, सबै संस्कृति  तथा साहित्यमा ओमार खैयामको यो रुवियातका पिताको व्यक्तित्व अग्लिएर बसेको छ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका अगाडि  रहेको ओमार खैयामको सालिकका साथ फोटो खिचेर हामी विश्वराज सरको घर फर्केका थियौँ। सरको धेरै आग्रहका बाबजुद हामीले केही खान सकेनौँ र फक्यौँ फोर्टवोर्थ। सोही दिन बेलुका ५.३० मा स्रस्टा साँझ अमेरिकाका प्रभातमणि दीक्षित, कवि भगवती पौडेल र कवि वैकुण्ठराज आचार्यलाई भेट्ने कार्यक्रम थियो।

यसअघि मेरो उहाँहरूसँग भौतिक चिनारी थिएन। हामी ठीक समयमा पुगेका थियौँ। होस्ट प्रभातमणि दीक्षितको सो क्षेत्रका सांसदसँग एउटा कार्यक्रम ६ बजे रहेछ। हामीले मात्र ३० मिनेट बसेर केही साहित्यिक कुराकानी गर्यौँ । आआफूले लेखेका पुस्तक उपहार साटासाट गर्यौँ।

भोलिपल्ट बिहान याने १८ तारिक शनिबारका दिन अमेरिकामा व्यापारका माध्यमले नाम कमाएका गौरी जोशीसँग भेट्ने कार्यक्रम थियो। मेरो गौरी जोशीसँग पुरानो चिनारी थियो। उहाँकै रेस्टुरेन्टमा बोलाइएका थियौँ। सामान्य कुराकानीपछि म आफ्नै निवास सानमार्कोसतिर लागेको थिएँ अनि बाटामा पर्ने अस्टिनमा पीताम्बर सरले लेख्नुभएको उहाँको जीवनीकृति ‘रिमरिमे सम्झना’ कोसेली बोकेर यो यात्राको बिट मारेका थियौँ।

घर पुगेपछि थाकेर पल्लर्क पल्टेको थिएँ। आँखाभित्र ओक्लहोमा यात्रा टुप्लुक्क आइपुग्यो। आदिवासी र ओमारका सालिकहरूले एउटा युग बताएका थिए। ती फेरि ताजा भए। यो यात्राको सम्झनाको तरङ्ग मात्रले पनि फेरि म रोमाञ्चित बन्न पुगेँ। जीवन भन्नु एउटा यात्रा मात्र हो। जब म हिँडिरहन्छु, मेरो जीवनमसँगै हिँडिरहन्छ। म भौतिक वा अभौतिक बिसाएँ भने त्यो पनि बिसाउँछ। मनमा त्यसैत्यसै लागिरहन्छ कि मेरा आफन्त, शुभच्छुक तथा साथीभाइ सबै यही यात्रामा भेटिएका बटुवा हुन्। यो एउटा यात्रा छिचल्नु छ। जीवन भन्नुृ त्यत्ति हो। यात्राको पटाक्षेप जीवनको मैझारो हो।

मेरा दिमागभरि यस्ता घोर निराशावादी कुरा आइरहेका बखत म प्रकृतिलाई हेर्छु। यस्तै यात्रालाई सम्झन्छु। यति बेला भने मेरा आँखामा समग्र ओक्लहोमा आएर बसेको छ। तर आँखाको नानीभित्र भने ओक्लाहोमाका आदिवासी नेटिभ अमेरिकनको सभ्यता, व्यवस्था तथा इतिहासलाई सम्झिरहेको छु।

त्यही नानीभित्र एघारौ शताब्दीका पर्सियन महाविद्वान ओमार खैयामको कवित्व शक्तिलाई नमन गर्दै लोलाएको छु। त्यो कवित्व सोच जहाँ जीवन, हृदय, प्रेम, त्याग तथा प्रणयान्मुख सूत्रहरू छताछुल्ल पोखिएका छन् र यही बुँदामा सोच्दैछु – के म जीवन लेख्न सकूँला? के म प्रेममय संसार लेख्न सकूँला?

प्रकाशित: २ मंसिर २०७८ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App