रचना शर्मा
–केको जमघट हो काका त्यो चौतारोमा?
–तिमीलाई थाहा छैन र जगत बाबु? हिजो त्यत्रो खबर गर्या’थे त! कहाँ थियौ र तिमी हिजो? म पनि त्यतै जान लागेको हुँ। जान्नौ र तिमी?
यत्रो प्राकृतिक एवं दैवी प्रकोप बढेर सबैतिर सत्यानाश पारेको छ। खेतीपाती, व्यापार– व्यवसाय तथा आयआर्जनको काम ठप्प भएको छ। त्यसैको बारेमा छलफल गर्ने हो।
–ओहो काका, म त हिजो थिइन घरमा। अल्लि अस्ति पोखरा गएर आज बिहानै आइपुगें। लौ जाऊँ न त काका! उतै गएर कुरा गरौंला हुन्न?
–ल हिँड!
गफ्फिंदै दुवै चौतारातर्फ लागे।
गाउँका मुखिया बाले भन्दै थिए, ‘देवी रिसाएकाले यस्तो प्रकोप बढेको हो। यसबाट बच्न देवीको पूजा गर्नुपर्छ।’
‘मुखिया बा! म त पोखराबाट आजै बिहान आएको। त्यहाँ विन्ध्यावासिनी देवीको मन्दिरको दर्शन र पूजा पनि गरेको थिएँ। उनको नाममा केही रकम पनि दिएँ।’ जगतले भने।
काकाले भने, ‘म पनि केही दिन अगाडि गोरखाको मनकामना मन्दिरमा गएर कालो बोको चढाएर आएको हुँ।’
‘म महोत्तरीको त्रिशुली देवी मन्दिर जाने विचारमा छु। नयाँ मन्दिर भएकाले देवीको मूर्तिमा सुनको हार चढाउने इच्छा छ।’ शरणले बताए।
सबैका कुरा सुनेर मुखिया बाले भने, ‘हेर्नु न् ती मन्दिरका महत्त्व देवीहरूलाई चढाएर वास्तविक देवी खुसी शर्मा हुँदिन्। सुन,चाँदी, हिरा, मोती जडित देवीले हामी गाउँलेका कुरा सुन्दा पनि सुन्दिनन्। अब सस्ती देवीको पूजा गर्नतिर लाग्नुपर्छ। समयअनुसार परिवर्तन हुनुपर्छ।’
मुखिया बाका कुरा सुनेर सबैले एकैस्वरमा भने , ‘सस्ती देवी?’
– हो सस्ती देवी।
‘कहाँ हुनुहुन्छ त त्यस्ती सस्ती देवी?’ काकाले सोधे।
‘उ...उता हेर्नोस् न ! तिनीहरू नै हुन् सस्ती देवी। तिनको पूजा गर्न टाढा जानु पनि पर्दैन। आशीर्वाद पनि छिट्टै पाइन्छ। केही महिना अगाडि कोरोनाको शिकार हुन पुगेको साइलाकी पत्नी, रातो बाकसमा फर्किएको मनराजकी अभागी बुढी आमा अनि केही दिन अगाडि पहिरोमा पुरिएर बाबूआमा गुमाएका टुहुरा किशोरीहरू।’
प्रकाशित: ९ कार्तिक २०७८ ०७:०६ मंगलबार