कला

काम गरेर मरिन्छ र ?

लघुकथा

आचार्य प्रभा

उर्मिला – “मेरी छोरीले त्यो घरमा गएर साँझबिहान खाना पकाउनु परेकाले हैरान भइसकी।”

सरिना –“मेरी दीक्षाले त झन् बिहान खाजादेखि लिएर साँझबिहानको खाना सबै गर्नुपर्छ रे। म त चिन्तित भइसकें छोरीलाई सम्झेर।”

कौशल्या –“तपाईहरूका त पकाउने काम मात्र गर्दा रछन्। मेरी रेखाले त उस्तै पर्दा धन्दा पनि आफै गर्नुपर्छ रे।”

बबिना –साथीहरूको आफ्ना छोरीहरूप्रतिको दुखेसो सुनेर त्यसै टोल्हाइरहेकी थिइन्।  

अलिक परबाट उस्की छोरी कम्मरमा नानी च्यापेर हत्तारिंदै –“आमा लु, नानी लिई दिनु त ! मलाई अफिस जान ढिला भयो। खाना पकाएर सबै टेबलमा राख्देकी छु। मैले थोरै खाएँ। नानीले खानै मानिन। अफिस ढिलो भइसक्यो। बस छुट्न बेर छैन म गएँ।” भन्दै ब्याग हल्लाउँदै कुदिन्।

त्यो दृश्यले तीनै जना चकित भए र उर्मिलाले बबिनालाई सोधिन्, हैन, तपाईकी छोरी माइत आएर पनि यसरी काम गर्छिन् ? अझ अफिस पनि भियाउँछिन् है?”

बबिनाले जवाफमा भनिन्,“खै मेरी छोरीलाई त नगर भन्दा पनि पो मान्दिन त! बल्लबल्ल माइत आउँछे। एकछिन टुसुक्क बस्दिन।”

– काम गरेर मान्छे मरिन्छ र बरु खान नपाएर पो मरिन्छ भन्छे। सानैदेखि दुखदुखैमा हुर्की। घरधन्दा सबै सिकाएँ, गर्थी पनि। त्यही भएर घर गरी खान सजिलो भयो त्यसलाई।

केही दिन माइत आई भने पनि सासूले  “छिट्टै पठाइदिनु निलिमालाई। यहाँ मेरो बिजोक भइसक्यो। उस्को भान्साको राखनधरण कहाँ, के हो ? म मेलै पाउँदिनँ।”भन्नुहुन्छ  र म पठाइदिइहाल्छु त्यसलाई घर।

बबिनाको कुरा सुनेर तीनजना आमा वाक्यहीन भए।  

प्रकाशित: १५ आश्विन २०७८ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App