कला

न्यायको आवाज

लघुकथा

श्रद्धा आचार्य

सर्वोच्च अदालतले लामो समयको इतिहासमा निकै धेरै वकिल, अधिवक्ता, न्यायाधीश इत्यादि बेहोरिसकेको थियो। त्यहीँका पिउन  कर्मचारी कृष्णलाल पनि त्यहीं अदालतमा पिउन भएको बर्षाै भैसकेको थियोे। उनी त्यहाँका अनेकौं कर्मचारीसँग सजिलै  घुलमिल हुने हुनाले सबैलाई राम्रोसँग चिन्थे। बढुवा भएर डा. भुवन पनि सर्वोच्च अदालतमा सरुवा भएको थिए। उनलाई त्यहाँ भव्यताका साथ स्वागत गरियो।

न्यायाधीश हरेकपल्ट भन्ने गर्थे, ‘हामी न्याय तराजुमा जोख्छौं। यसको वासलात, हिसाबकिताब बराबर हुन्छ। न छोरो न बाउ, जे सुकै होस् नातावाद, कृपावाद र धनको लोभमा हामी कसैलाई पनि अन्यायपूर्ण व्यवहार गर्ने छैनौं।’

सबले उनका शब्दशब्दमा न्यायको अनुभूति गर्दथे। कृष्णलाल सोच्थे – न्यायाधीश त यस्तो पो हुनुपर्छ। पहिलाका त सबै भ्रष्ट र घुस्याहा।

एकदिन अदालतमा एउटी महिला आफू श्रीमान्बाट हेला भएको र छोरीको बलात्कार आफ्नै बाउबाट भएको रिट बयान लिएर न्यायाधीशसमक्ष आउँछिन्।

‘अब नेपालको कानुन राम्रोसँग फेरबदल गर्नुपर्छ। बलात्कारीलाई फाँसी हुने व्यवस्था मिलाउनुपर्छ अनि महिला हिंसा  

गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। जसले गर्दा त्यसको सातौ पुस्ताको पनि मुटु कामोस्। अनि  देवी नारीको सम्मान गर्ने अभियान राष्ट्रस्तरबाटै आजै लाग्नुपर्छ।’

सभामा न्यायाधीशले यस्ता न्यायप्रेमी शब्दबाट कार्यक्रम समापन गरे। कार्यक्रमको सकेलगत्तै पीडितको श्रीमानलाई जेलकैद गरियो। कृष्णलालले पनि जताततै उनकै प्रशंसा गर्दै अखबारभरि समाचार छापे।

एकदिन न्यायाधीशले आफ्नो जन्मदिनमा सबै साथी कर्मचारीलाई निमन्त्रणा गर्दछन्। सबै कुरा गुपचुप राख्दै मादक पदार्थ र वन्यजन्तुुको सुकुटीसँगै उनको घरमा रमाइलो गर्दछन् र आआफ्नो घरतर्फ मोडिन्छन्। कृष्णलाल भने आफ्नो पर्स बिर्सेर फेरि बीच बाटोबाटै न्यायाधीशकहाँ फर्कन्छन्।

न्यायाधीश डा.भुवनकी श्रीमतीको आर्तनाद करुण क्रन्दन चिच्याहट रोदन सुनिन्छ।  

‘लौन नि मलाई मारे साहेबले। छोरो पाइनस् भनेर फेरि आज पनि यो झोल पिएर कुटे। कति अपमान सहनु? न्यायाधीश भै यसरी तड्पाईतड्पाई मार्नुभन्दा बरु एकैचोटि मारे हुन्छ।

– गुहारगुहार।

प्रकाशित: १४ आश्विन २०७८ ०४:२६ बिहीबार

अक्षर