कला

ढुंगेलको भोगाइ

द्वारिकानाथ ढुंगेलको पुस्तक ‘जिल्ला प्रशासन: मेरो भोगाइ’ नेपालको राजनीतिक व्यवस्था तथा प्रशासनिक प्रणालीको क्रमबद्ध अभिलेखमाथिको विश्लेषणमा आधारित छ। ढुंगेलले आफ्नो कार्यकालमा आफूले सम्पादन गरेका काम, पूरा गरेका कर्तव्य तथा जागिरे जीवन र व्यक्तिगत भोगाइसँगै भौतिक तथा सञ्चारको अति न्यून सुविधा भएका दुर्गम क्षेत्रमा कार्यसम्पादन गर्दाको अनुभवलाई मिठो तरिकाले प्रस्तुत गरेका छन्। 

पुस्तकलाई लेखकको जागिरे जीवनमा दुई वर्षभन्दा बढी समय व्यतीत गरेको दार्चुला जिल्लाको स्मरणका रूपमा लिन सकिन्छ। विकसित मुलुकमा आफूले गरेका कामका अनुभव लिपिबद्ध गर्ने चलन छ। आफ्नो ज्ञान, सीप, अनुभव र स्मरण भावी पुस्तालाई हस्तान्तरण गर्ने उपयुक्त माध्यम पुस्तक हो। मेरो दृष्टिकोणमा यो पुस्तकलाई पनि सोही श्रेणीमा राख्न सकिने बलिया आधार छन्।

जिम्मेवारीमा रहँदा दैनिक कार्य सम्पादनका क्रममा सञ्चार सुविधाको अभाव हुँदाआफ्नो कार्यालयको महेन्द्रनगरमा रहेको तालुकदार अड्डा वा गृह मन्त्रालयमा सम्पर्क गर्न सेना वा प्रहरीका सञ्चार साधनमा निर्भर हुनुपर्ने बाध्यात्मक अवस्थालाई बडो रोचक ढंगबाट लेखकले प्रस्तुत गरेका छन्। वास्तवमा जिल्ला प्रशासन कार्यालय समग्र जिल्लाकै अभिभावक हो। उसले नै अरू कहाँ आश्रय लिनुपर्ने अवस्थाले देशको अवस्थालाई प्रतिविम्बित गर्छ।  

साथै दार्चुला सुदूरपश्चिमको दुर्गम जिल्ला मात्रै होइन, भौगोलिक एवं जनसंख्याका आधारमा विश्वका दुई विशाल देश चीन र भारतसँगको अन्तर्राष्ट्रिय सीमासँग जोडिएको सामरिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण जिल्ला पनि हो। यस्तो संवेदनशील जिल्लाको सीमा सुरक्षा तथा अन्य क्षेत्रमा परिचालित सुरक्षाकर्मीका लागि भौतिक सुविधा तथा सञ्चार सहजता जस्ता आधारभूत आवश्यकता न्यूनतम मापदण्डभन्दा पनि कम रहेको दर्शाउँछ। यो स्थितिमा पनि राष्ट्र सेवकबाट भएको कर्तव्य निर्वाह पुस्तकमार्फत लेखकको वर्णनले सिंहदरबारभित्र बस्ने राज्य सञ्चालकलाई गम्भीर भएर सोच्न बाध्य बनाउँछ।  

सीमापारिका समकक्षीसँग बेला बेला हुने भेटघाट र बैठकमा आफ्नोतर्फ पूर्वाधार तथा अन्य सुविधाको अभावका कारण लेखकलाई भएको हीनताबोध आमनेपाली र राष्ट्र सेवकले भोग्दै आएको तीतो यथार्थताको प्रतिनिधि घटना हो। यो पुस्तकको अध्ययनपश्चात् यस पंक्तिकारलाई पनि एउटा पुरानो कुरा सम्झना भयो। २०३५ सालतिर हुम्लाको यारी हुँदै कैलाश मानसरोवरसम्म यात्रा गर्ने मौका मिलेको थियो। त्यतिबेला यारीभन्दा केहीअगाडि रहेको मुचको प्रहरी चौकीमा बास बस्दा त्यहाँको वस्तुस्थितिलाई नजिकबाट नियाल्ने मौका मिलेको थियो।  

सीमावर्ती यारी गाउँ जहाँ वर्षायाममा मात्रै भन्सार कार्यालय आउने रहेछ। त्यसबाहेक अरू सरकारी कार्यालयको उपस्थिति नेपाल–चीन सीमामा कतै थिएन। खम्पा विद्रोहका क्रममा तिब्बती नेता वाङ्दी आफ्नो दलबलसहित उत्तरी भेगको बाटो हुँदै मुस्ताङबाट भागेका थिए। एक दिन बिहानै मुचुको प्रहरी चौकी वाङ्दीको फौजले घेरा हालेर आफूहरूलाई निर्बाध रूपमा भारत जान दिनुपर्ने माग राखेका रहेछन्। 

त्यतिबेला प्रहरीसँग भएको हतियारले आधुनिक हतियारधारी खम्पाहरूसँग लड्न सक्ने क्षमता नहुँदा उनीहरूलाई निर्बाध त्यहाँबाट अगाडि बढ्न दिइएको रहेछ। संयोगवश, त्यहाँ आकाशवाणी चल्ने भएकाले जुम्लामा सम्पर्क गरी यसबारे जानकारी पुर्‍याइयो। त्यसपछि दार्चुलाको तीनकरमा सैनिक कारबाहीको तयारी गरिएको रहेछ। यसबाट सीमा सुरक्षासम्बन्धी तयारी तथा संरचनाको दयनीय अवस्था स्पष्ट हुन्छ।

सरकारको प्रतिनिधिका रूपमा प्रमुख जिल्ला अधिकारीले अहं भूमिका खेल्नुपर्ने र चुनावको समय कुन राजनीतिक समूहको पल्ला भारी गराउने भन्ने निर्देशनको समेत पालना गर्न प्रमुख जिल्ला अधिकारीले स्वयं राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। 

यो सन्दर्भ जनमत संग्रहमा होस् वा अन्य चुनावमा, प्रमुख जिल्ला अधिकारीको भूमिका महत्त्वपूर्ण हुन्छ। प्रायः प्रजिअले प्रशासनिक तथा राजनीतिक जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको पाइन्छ। प्राकृतिक विपद्का बेला स्थानीय निकायसँग समन्वय गरी आर्थिक अभाव, सञ्चार सुविधाको शून्यता तथा यातायातको असुविधाका बाबजुद उद्धार तथा राहत कार्यमा रात दिन खटिँदा पनि स्थानीयले दोष र खोट लगाउन नछाडेको अनुभवले पुस्तकलाई थप रोचक बनाएको छ।

तत्कालीन राजा वीरेन्द्रको उद्धार कार्यसम्बन्धी निरीक्षण भ्रमणका बेला लेखक २४ घन्टासम्म खटिनुपरेको घटना सम्झना लायक छ। जिल्ला प्रशासनमार्फत कर्तव्य निर्वाह गर्दा स्थानीय प्रहरी प्रमुखसँगको सम्बन्ध, विकास निर्माणका काममा स्थानीय स्वार्थी मानिसले खेल्ने भूमिका, मनोमानी नियन्त्रण गर्न खोज्दा आफ्नै सहकर्मीको भूमिका वर्णन उल्लेखनीय छ।

 स्थानीय एवं क्षेत्रीय स्रोतसाधन, कला र क्षमताको खाका तयार नगरी योजना बनाउँदा स्थानीय क्षमता र स्रोतको सदुपयोग नहुने तथा थोपरिएका योजनाले स्थानीयले उपयुक्त प्रतिफल पाउन नसकेका उदाहरण दार्चुलाको उत्तरी क्षेत्रका जनताको भोगाइ पुस्तकमा रहेको छ।

४० वर्षपछि फर्किएर सोही जिल्लामा जाँदा यातायात, सञ्चार तथा अन्य भौतिक सुविधा सदरमुकामसम्म पुगेकाले केही फरक अनुभव गर्न सकिन्छ। तर, सीमा सुरक्षाको अवस्था, उत्तरी क्षेत्रका जनताको जीवनस्तर, अझै पनि सीमापारिको बजार र आयमाथि नै आश्रित हुनुपर्ने अवस्थालाई हेर्दा महाकालीबाट जति पानी बगेर समुद्रसम्म पुगे पनि दार्चुलावासीका दुःख र पीडा अझै सकिएका छैनन् भन्ने  तत्त्वबोध पुस्तकले गराएको छ।  

पुस्तकमा उल्लिखित घटना विवेचना र स्थितिको विश्वसनीयता कायम गर्न सन्दर्भ प्रमाण र अभिलेखका प्रतिलिपि उचित रूपमा समावेश हुनु, सन्दर्भ पुस्तक, ऐतिहासिक प्रतिवेदन सूचीकरणले पनि पुस्तकको व्यावहारिक, बौद्धिक महत्त्व  बढाएको छ। यो पुस्तक सर्वसाधारण जनता, भविष्यका प्रशासक, प्रशासनशास्त्रका विद्यार्थीका निम्ति उपयोगी छ नै, राजनीतिककर्मी समेतलाई मार्गनिर्देशन गर्छ भन्नेमा मेरो विश्वास छ।

प्रकाशित: २६ भाद्र २०७८ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App