कला

तिम्ले छुँदा पानी पनि दनदनी बल्दो रै’छ

गजल

केशव शर्मा  

 तिम्रो घरमा जस्ले जेजे गरे पनि चल्दो रै’छ,  

 छिमेकीको चुल्हो बल्दा तिम्रो घर जल्दो रै’छ।

कुर्सी हुँदा सजिलो छ समृद्धिको बाटो पनि,  

तिम्रो आदेश इसारामा बोटमै सुन फल्दो रै’छ।

 जान्दैन म मान्दैन म मात्रै भने पुग्छ तिम्ले,

नीतिनियम विधिविधान तिम्रा अघि गल्दो रै’छ।

अभाव पनि निरीह छ तिम्रो प्रतिष्ठाको सामु,

तिम्रै घरको बाटो उसले जानीजानी छल्दो रै’छ।

  मात्र मौका पाउनुपर्छ ठुलै चमत्कार गर्छौ,

 तिम्ले छुँदा पानी पनि दनदनी बल्दो रै’छ।

                         – व्रिसवेन, अस्ट्रेलिया।

प्रकाशित: २५ भाद्र २०७८ ०३:०० शुक्रबार

अक्षर