गंगा खड्का
१)
आफ्नै आङ कनाई किन छारो उडाउँछौ?
घमन्डले नाक कहिलेसम्म ठडाउँछौ?
अरूलाई उछिनेर कहाँ नै पुग्नु छ र?
छिर्की हानेर बारम्बार किन लडाउँछौ ?
२)
आफ्नो जिन्दगी आफैँले जिउनु छ,
दुःखमा एक्लैले आँसु पिउनु छ।
कोही कसैको नि नहुने रहेछ,
फाटेको मन खुटेर सिउनु छ।
३)
मनमा बसेको मायालाई प्रदर्शन गर्नु छैन मलाई,
बनावटी रूप देखाएर अघिअघि सर्नु छैन मलाई।
तिमी त मेरो जीवनको सबैभन्दा ठूलो साधना हौ प्रिय,
अनाहकमा तिमीसँग बहस मात्रै गर्नु छैन मलाई।
४)
दोधारे माया रहेछ तिम्रो मैले जान्न सकिनँ,
तिमीबाहेक अरूलाई आफ्नो मान्न, सकिनँ।
तिमीले मेरा भावनालाई कुल्चिरहँदा नि,
ढुंगाले हान्नेलाई ढुंगाले नै हान्न सकिन।
५ )
धेरै म्याउँम्याउँ गर्यो भने भाउ खोज्छ मान्छे,
धेरै विश्वास गर्यो भने दाउ खोज्छ मान्छे।
चिन्न अति गाह्रो हुने यो मान्छेको जातलाई,
औँलो दिँदा डुँडुल्काको ताउ खोज्छ मान्छे।
प्रकाशित: २० भाद्र २०७८ ०७:३१ आइतबार